अध्यक्षले लगाएको झुठा मुद्दामा गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षले पाए उच्च अदालतबाट सफाइ – Nepal Press

अध्यक्षले लगाएको झुठा मुद्दामा गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहोराले गाउँपालिका अध्यक्ष गोविन्द खड्काले लगाएको झुठा मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

अध्यक्ष खड्काकै जाहेरीमा मुद्दा खेपिरहेका तत्कालीन नेकपाका गाउँपालिका कमिटी सचिव तथा हाल नेकपा माओवादी केन्द्रका लिखु तामाकोशी गाउँपालिका कमिटी अध्यक्ष ध्रुव कार्कीले पनि सफाइ पाएका छन् । कार्की खड्कासँगै अध्यक्षका लागि लडेका थिए । तर उनी पराजित भएका थिए ।

उच्च अदालतका न्यायाधीश श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै सोमवार दाहाल र बोहोरालाई सफाइ दिएको हो ।

जिल्ला अदालत काठमाडौंले गत वैशाखमा उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोराले अध्यक्ष खड्कासँग चन्दा माग्ने तथा चन्दा नदिए हत्या गर्नेसम्मको धम्की दिने अभियुक्तहरुको योजनाकार रहेको भन्दै एक एक वर्ष कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।

सो फैसलाविरुद्ध उनीहरु उच्च अदालत गएका थिए । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष खड्का, उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोराबीच गाउँपालिका सन्चालनका विषयमा विवाद थियो ।

खड्काले गैरकानूनी रुपमा काम गर्न थालेपछि पालिकाका सबै जनप्रतिनिधि उनको विपक्षमा थिए । त्यहिबेला खड्कासँग बोहोराकै वडाका मिलन भनिने लोप्साङ तामाङ र अमृत तामाङले २ करोड रुपैया चन्दा मागेका थिए ।

खड्काले उनीहरुलाई काठमाडौंकै एक ठाउँमा पैसा दिन बोलाएर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले उनीहरुलाई गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएको थियो ।

खड्काले सोही घटनामा उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई फसाउनेगरि सो घटनाको योजनाकार उनीहरु रहेको भनेर जाहेरी दिएका थिए । खड्कालाई एमालेले निष्कासन गरिसकेको छ ।

खड्का यसबीचमा जबर्जस्ति करणी र अरुको जग्गा किर्ते गरेको अभियोगमा जेल बसेर छुटेका छन् । अदालतले अमृत र लोप्साङलाई समेत सफाइ दिदै अध्यक्ष खड्काको नियत नै अरुलाई फसाउने देखिएको ठहर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर