मसाल विवादको साइड इफेक्ट- पत्रकारका अध्यक्ष उदय जिएमले त्यागे ३२ वर्षको आबद्धता – Nepal Press

मसाल विवादको साइड इफेक्ट- पत्रकारका अध्यक्ष उदय जिएमले त्यागे ३२ वर्षको आबद्धता

काठमाडौं । नेकपा (मसाल) भित्र उत्पन्न विवाद शत्रुतापूर्ण बन्दै गएपछि सो पार्टी आबद्ध प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष उदय जिएमले राजीनामा दिएका छन् ।

नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहेका जिएमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षदेखिको नेकपा मसालसँगको आबद्धता पनि त्यागेको घोषणा गरेका छन् ।

उनले आफूले सबै जिम्मेवारीबाट बिदा लिएर स्वतन्त्र भएको घोषणा गरेका हुन् । नेकपा मसाल पछिल्लो समय विग्रह र पुनःविभाजनको चरणमा छ ।

महामन्त्री मोहनविक्रम सिंह पक्षले फरक मत राख्नेमाथि कारबाहीको सिलसिला चलाएको छ । जिएमले आफ्नो लामो पृष्ठभूमि खुलाउँदै अब मसाल आबद्ध संगठनमा नरहेको बताएका छन् ।

जिएमको प्रेस विज्ञप्ति जस्ताको तस्तै

प्रेस विज्ञप्ति 

मैले २०४६ सालदेखि अविचलितरुपमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चानिकट रहेर उसको विचार, राजनीति, सिद्धान्तलाई सर्वोपरि ठान्दै आएको सबैमा अवगत नै छ । वैचारिक आस्थाका हिसावले नेकपा (मसाल)मा दृढ रहँदै पछिल्ला करीव २५ वर्ष नेपाली मूलधारको पत्रकारितामा सक्रिय रहेको पनि सबैलाई अवगत नै छ । यस अवधिमा शुरुका केही वर्ष पूर्णकालीन कार्यकर्ताका रुपमा अखिल भारत नेपाली एकता समाजका विभिन्नस्तरका समितिहरुमा क्रियाशील रहनुका साथै एकता समाजको केन्द्रीय कार्यालय सञ्चालन र मुखपत्र “नेपाली एकता”को प्रकाशनको जिम्मेवारी निर्वाह गरें । अखिल नेपाल जनजाति सम्मेलन (भारत शाखा)को जिम्मेवारीमा रहँदै मुखपत्र “जनजाति लहर”को प्रकाशनमा संलग्न रहें भने त्यसकै केन्द्रीय समितिको प्रकाशन विभाग र मुखपत्र “जनजाति आवाज”को प्रकाशनमा पनि संलग्न रहें । २०५४ सालयता मूलधारको नेपाली पत्रकारितामा क्रियाशील रहेतापनि प्रगतिशील पत्रकार संघको संस्थापक केन्द्रीय सदस्य, दुईपटक महासचिव हुँदै हाल संघको अध्यक्षको रुपमा क्रियाशील छु । यही निरन्तरता र क्रियाशीलताका कारण अघिल्लो कार्यकालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव हुँदै हाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेको अवगतै छ । नेपाली कम्युनिष्ट आन्दोलन टुटफुट, विभाजन, एकता अनि ध्रुवीकरणको प्रक्रियाबाट अगाडि बढ्दै आएको इतिहास छ । विचार र सिद्धान्तमा मतैक्यता नभएपछि दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति छ । विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको पनि इतिहास छ । यही रोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चा र त्यसका भातृ तथा शुभेच्छुक संगठनहरु र तिनका नेता÷कार्यकर्ताहरु भइरहेका छन् । केही आरोपहरु र कथित आरोपहरु, केही विमतिहरु र कथित विमतिहरुको पुलिन्दा बाँधेर अर्को पक्षलाई खुइल्याउने र समाप्त पार्ने अभियान चलिरहेका छन् । यस्तो अवस्थामा डिलमा बसेर रमिता हेर्न नसकिने भएकाले आजैको मितिदेखि प्रगतिशील पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा नरहेको र स्वतन्त्र भएको जानकारी गराउँछु । यसक्रममा हाइस्कूल पढ्दा नै मनमस्तिष्कमा राजनीतिक चेतको बिजारोपण गरिदिने आदरणीय गुरु कृष्णबहादुर महरा, भारतमा रहँदा संगठित गर्नेदेखि मेरा हरेक कदमहरुमा साथ, सहयोग र समर्थन गर्नुहुने आदरणीय महेश जीसी, मित्रलाल शर्मा, गिरधारीलाल न्यौपाने, डिलाराम आचार्य लगायतका नेतागणहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु । मलाई संगठनको उच्च जिम्मेवारी प्रदान गर्नुहुने श्रद्धेय नेताहरु नेकपा (मसाल)का महामन्त्री क. मोहनविक्रम सिंह, वरिष्ठ नेता आदरणीय चित्रबहादुर केसी, दुर्गा पौडेल, कृष्ण अधिकारी, सुरेश थापालगायतका नेतृत्वगणप्रति उच्च सम्मान व्यक्त गर्दछु । संघका निवर्तमान अध्यक्ष नारायण शर्मा तथा रामसिंह श्रीस र परि थापालगायतका नेताहरुलाई पनि यो अवसरमा सम्झन चाहन्छु । प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र देशैभरका सम्पूर्ण सदस्य साथीहरुले मप्रति देखाउनुभएको सदाशयता, सद्भाव र सहयोगको उच्च प्रशंसा र सम्मान व्यक्त गर्दछु । र, नेपाल पत्रकार महासंघको उपाध्यक्षको भूमिकामा उत्तिकै हार्दिकता, उत्तिकै सद्भावका साथ यहाँहरुका हरेक सुखदुःख, खुशी, पीडा र हर्षमा यहाँहरुकै माझमा रहने विश्वास दिलाउन चाहन्छु । अन्तमा, मेरो यो कदमपछि हरेक कोणबाट आउने आलोचना, गाली, ताली, सुझाव, सल्लाह र उत्प्रेरणाहरुलाई सहर्ष शिरोपर गर्नेछु ।

धन्यवाद !

उदय जीएम

७ पुस २०७८


प्रतिक्रिया

One thought on “मसाल विवादको साइड इफेक्ट- पत्रकारका अध्यक्ष उदय जिएमले त्यागे ३२ वर्षको आबद्धता

  1. अति दुख लाग्यो,
    राजनीतिक जिवनको सुरुवात मा सहकर्मी रहेको र एउटै समिति बाट अगाडि बढेको सहयात्री ले महत्त्वपूर्ण जिम्मेवारी बाट अलग भएको घोषणा गर्दा धेरै नमिठो लागिरहेको छ,
    फेरि पनि दुखद को घडीमा पार्टीका कार्यकर्ता समर्थक शुभचिन्तक हरुलाई प्रेणा को स्रोत को भुमिका निर्बाह गर्नुहुनेछ भन्ने बिश्वास गरेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *