बाघ सर्वेक्षण : ५ क्यामेरा हराए, चितवन–पर्सामा दोस्रो चरणको तयारी
चितवन । बाघ सर्वेक्षणका क्रममा चितवनमा ५ वटा ट्रयापिङ क्यामेरा हराएका छन् । बाघको गतिविधि छायांकन गरेर गर्न लागिएको सर्वेक्षणका क्रममा ५ क्यामेरा हराएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले बताए ।
उनका अनुसार कावासोती र चोरमारा बीचको जंगल क्षेत्रमा १ जोडी र भोजाडतर्फको हरिपुर क्षेत्रमा एक वटा क्यामेरा हराएका हुन् ।
क्यामेरा अन्य प्रयोजनमा उपयोग नहुने भएकाले फिर्ता गरिदिन समेत उनले आग्रह गरेका छन् । एउटा क्यामेराको २ सय देखि ५ सय डलर रुपैयाँसम्म मूल्य पर्छ । दोस्रो पटक निगरानी गर्न जाने क्रममा क्यामेरा हराएको पत्ता लागेको थियो । अन्य २ वटा क्यामेरा खसेको अवस्थामा फेला परेपनि कुनै क्षती भएको छैन ।
सन् २०१८ को बाघ सर्वेक्षणका क्रममा ३० वटा क्यामेरा हराएका थिए । ३० वटामा जंगली जनावरले क्षती पु¥याएको थियो । नेपालमा पहिलो पटक १९७० मा बाघको सर्वेक्षण थालिएको थियो । १९८० मा बाघ हिडेका ठाउँमा भेटिने पञ्जाका आधार सर्वेक्षण गरिएको थियो । सन् १९९० पछि क्यामेरा ट्रयापिङका आधारमा सर्वेक्षण थालिएको हो । यसपाली चितवनमा मंसीर १९ गतेदेखि राष्ट्रिय बाघ सर्वेक्षण सुरु गरिएको हो ।
चितवनमा सर्वेक्षणको ब्लक वानको काम सकिँदै
चितवनबाट सुरु भएको बाघ सर्वेक्षणको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चितवन–पर्सा कम्प्लेक्स अन्र्तगतको ब्लक वानको काम अन्तिम चरणमा पुगेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा तीन चरणमा माघ २२ गतेसम्म बाघ सर्वेक्षण हुदैछ । यी दुई निकुञ्जबाहेक बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा पनि बाघको सर्वेक्षण गरिदैछ ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको त्रिवेणी, सौराहा र वरण्डाभार क्षेत्रमा २ सय ८७ जोडी ट्रयापिङ क्यामेरा जडान गरिएको छ । १३ समूहका क्याम्प खडा खरेर क्यामेराको निगरानी तथा फोटा संकलनको काम भैरहेको छ । बाघ ओहरदोहार गर्ने क्षेत्रका दुईतर्फ राखिएका क्यामेराले बाघ वा अन्य जनावर नजिकै आउँदा स्वचालित फोटो खिच्नेछ ।
‘हामीले करिब ३ दिनको अन्तरमा खिचिएका फोटाहरु संकलन गर्दै राखेका छौँ’, आचार्यले भने, ‘सबै फोटाहरु संकलन गरि बाघको सफ्टवेयर मार्फत फरक फरक बाघको संख्या विश्लेषण गर्नेछौँ ।’
उनका अनुसार संकलित सबै तस्बिरहरुबाट बाघको पाटा (धर्सा) अनुसार छुट्टाएर संख्या निर्धारण हुनेछ । हरेक बाघको पाटा फरक फरक हुने भएकाले बाघको शरिर र कुनै अंग फोटोमा देखिए सोही अनुसार संख्या यकिन गरिनेछ । करिब १ महिनामा बाघको संख्या विश्लेषण कार्य पुरा हुनेछ ।
चितवन–पर्सा कम्प्लेक्सको दोस्रो चरण अन्तरगत ब्लक टु अन्र्तगत सौराहा, दक्षिणतर्फको ठोरी र पर्सा निकुञ्जको केही भागमा पुस ११ देखि ३ सय १० जोडी क्यामेरा राखेर सर्वेक्षण गरिनेछ । यस्तै तेस्रो चरणमा पर्सा निकुञ्ज र आसपासको जंगल क्षेत्रमा माघ २ गतेदेखि २ सय ८६ जोडी क्यामेरा राखेर सर्वेक्षण थालिनेछ ।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार पहिलो चरणको सर्वेक्षणको काम पुस १० गते सकिने बताए ।
‘१० गतेपछि सबै क्यामेरा ब्लक टुमा जडान गरिनेछन्’, उनले भने, ‘बाघको ओहरदोहर बढी हुने क्षेत्रमै क्यामेरा राखिनेछ ।’
नेपालमा सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१ बाघहरु रहेको अनुमान थियो ।
यस्तै सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा २ सय ३५ बाघहरु रहेको सर्वेक्षणले जनाएको थियो । चितवनमा सन् २००० मा ६०, २००९ मा ८१, २०१३ मा १ सय २० र २०१८ मा ९३ वटा बाघहरु रहेको पाइएको थियो ।
‘यसपालीको सर्वेक्षणमा चितवनका १ सय बढी बाघहरु पहिचान हुने अनुमान छ’, उनले भने, ‘अन्तरर्राष्ट्रिय नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धतामा योगदान पुग्ने अपेक्षा छ ।’
अन्तर्राष्ट्रिय बाघ दिवस सन् २०२२ को जुलाई २९ मा नतिजा घोषणा गर्ने तयारी छ । सहायक संरक्षण अधिकृत राजु घिमिरेले बाघको संख्या बढ्नुले पर्यावरण सन्तुलनमा रहेको निष्कर्ष निकाल्न सघाउने बताए ।
अन्तरर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । जसअनुसार यसपालीको सर्वेक्षणमा नेपालमा बाघको संख्या २ सय ५० पुग्नुपर्ने छ ।