ग्रीसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चार जना नेपालीको सनाखत – Nepal Press

ग्रीसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चार जना नेपालीको सनाखत

लण्डन । गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । टर्कीबाट गैरकानूनी रुपमा  ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परि मृत्यु भएका चारै जना नेपालीको पहिचान खुलेकाे छ ।

मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओमबहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको पहिचान हुन बाँकी थियो ।

ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र शवलाई नेपाल पठाउने प्रक्रिया शुरु गरिसकेको बताए ।

दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रीसको एथेन्स शहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य चार जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

गैरकानूनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीहरूको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपालीसहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडाउँदा चालकले सन्तुलन कायम गर्न नसकेर दुर्घटना भएको बताइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर