कांग्रेस प्रदेश-२ को नेतृत्व चयनका लागि मतदान सुरु


जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । विहान ८ बजेदेखि सुरु हुने भनिए पनि आवश्यक प्रक्रिया पूरा गरी १० बजेदेखि मतदान सुरु भएको हो ।
सभापतिका उम्मेदवारद्वय कृष्णाप्रसाद यादव र रामसरोज यादवले मतदान गरेपछि अन्य प्रतिनिधिले मतदान गर्न थालेका छन् ।
मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले बुधबार मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो ।
प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।