प्रदेश २ कांग्रेस चुनावः निधि-कोइराला प्यानल जिताउन मतदातालाई देउवाको म्यासेज ! – Nepal Press

प्रदेश २ कांग्रेस चुनावः निधि-कोइराला प्यानल जिताउन मतदातालाई देउवाको म्यासेज !

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान जारी रहेका बेला सभापति शेरबहादुर देउवाको नामबाट रामसरोज यादवको प्यानल जिताउन प्रतिनिधिलाई आग्रहसहितको म्यासेज आइरहेको छ ।

म्यासेजमा भनिएको छ, ‘जय नेपाल ! प्रदेश अधिवेशनमा सभापति राम सरोज यादव प्यानललाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउनु हुन हार्दिक अनुरोध । -शेरबहादुर देउवा । तर रामसरोज भने विमलेन्द्र निधि– शेखर कोइराला समूहका सभापति उम्मेदवार छन् ।

सभापति देउवाको नाममा मतदातादाई कसले म्यासेज पठाएको खुलेको छैन । मतदाताको मोबाइलमा भने एलटी–अलर्टबाट म्यासेज आएको देखिएको छ । यो म्यासेजले देउवा समूहका उम्मेदवारहरु हैरान बनेका छन् ।

देउवाको नाममा मतदातालाई गरिएको म्यासेजलाई सभापतिका उम्मेदवार कृष्णा राय यादवले ‘भ्रम फैलाउने प्रयास’ भएको भनेका छन् । देउवा समूहका सभापतिका उम्मेदवार उनले भ्रममा नपर्न आफ्ना पक्षका मतदातालाई अपिल गरेका हुन् ।

प्रदेश २ मा केन्द्रीय महाधिवेशन सकिएपछि मात्रै प्रदेश अधिवेशन भएको हो । यहाँ आज मतदान भइरहेको छ । यहाँ पदाधिकारी तथा सदस्यसहित ७४ पदका लागि १८० जना उम्मेदवार बनेका छन् । प्रदेशभरका १९८० प्रतिनिधिले मतदान गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर