एमाले चितवन जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने – Nepal Press

एमाले चितवन जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने

चितवन । यहि पुस २३ र २४ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला अधिवेशन आयोजना हुने भएको छ । दशौं जिल्ला अधिवेशन आयोजक कमिटीको चौथो पूर्ण बैठकले मिति तोकेको हो ।

अधिवेशनका लागि पुस १७ गते प्रतिनिधि छनोट गरिनेछ । एमाले केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जिल्लाका ९८ वटा वडा र २ शाखा कमिटी गरी १ सय इकाईबाट प्रतिनिधि छनोट हुनेछन् ।

अधिवेशन सफल पार्न विभिन्न उपसमिति गठन गरिएको छ । जस अनुसार अध्यक्ष रावलको संयोजकत्वमा राजनीतिक, सांगठनिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ । समितिका सदस्यमा सचिव प्रकाश खनाल शैलेश, उपसचिवद्वय प्रकाश ढुंगाना, सूर्यबदना हमाल र तिलक रिमाल रहेका छन् ।

प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा प्रकाश खनाल शैलेश, स्वागत सत्कार उपसमिति संयोजकमा सूर्यबदना हमाल, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा प्रकाश ढुंगाना, प्रचार प्रसार उपसमिति संयोजकमा खोमकान्त रेग्मी, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा भक्ति गौतम, खाद्य व्यवस्थापन उपसमिति संयोजकमा पदमपाणि सुवेदी, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा ध्रुव लम्साल, स्वास्थ्य उपसमिति संयोजकमा रामहरि ढकाल रहेका छन् ।

एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले पुस २३ गते पार्टी अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्ने जानकारी दिए ।

पुस २३ गते उद्घाटन र प्रतिवेदनहरु पारित गरिने र २४ गते नेतृत्व चयन हुनेछ । करिब १ हजार ५ सय प्रतिनिधिले जिल्ला नेतृत्व चयन गर्नेछन् । एमाले अध्यक्षको प्रत्यासीहरुमा रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भूर्तेल, तेजेन्द्र बहादुर खड्का, कमल पाठक देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर