मारमा महिला सञ्चारकर्मी, सहकर्मीदेखि उपप्रधानमन्त्रीसम्मको हिंसा – Nepal Press

मारमा महिला सञ्चारकर्मी, सहकर्मीदेखि उपप्रधानमन्त्रीसम्मको हिंसा

के तपाईं नेपालमा महिलाहरुमाथि हुने हिंसाको तत्कालको तथ्याङ्कबारे जानकार हुनुहुन्छ ? जानकार हुनुहुन्न भने धैर्यतापूर्वक सुन्नुहोला ।

अहिले पर्ने हिंसासम्बन्धी उजुरीमध्ये ७७ प्रतिशत उजुरी महिला हिंसासम्बन्धी छन् । नेपाल प्रहरीको २०७६,०७७ को तथ्याङ्कले यही बताउँछ । जसलाई नेपाल कानून आयोग मा गएर हेर्न सकिन्छ । र ती सबै घरभित्र या कार्यलय भित्रै हुने हिंसा हुन् । जसलाई हामी सुरक्षित ठाउँ भनिरहेका छौं ।

नेपालमा घरभित्र आफन्तबाटै भोग्ने हिंसाको त यो अवस्था छ भने घरबाहिर या कार्यक्षेत्रमा महिलाको अवस्था कस्तो होला ? यसको गतिलो अनुसन्धान नभएका कारण तथ्याङ्क दिन सकिंदैन । महिलाहरु घर र कार्यलयमा कस्तो हिंसामा पर्छन् भन्नेबारे एकजना महिला पत्रकारले एक समयमा भोगेको हिंसाबाट आजको आलेख सुरु गर्छु ।

‘अरुको आवाज पो कसरी बोक्ने हो, जब आफूमाथि भएको हिंसात्मक आवाज नै दबाउन वाध्य छु ।’ ती पत्रकार महिलाले कार्यक्रममा सबैको अघि भन्नु भएको थियो । अरुका समस्या उजागर गर्न घटना अनुसन्धान गरेर लेख्ने प्रमुखमध्येको एक मिडियामा कार्यरत ती प्रखर पत्रकारको यो वाक्यले मलाई घटना कोट्याउन मन लाग्यो ।

नेपाल सरकारको उपप्रधानमन्त्री भइसकेको मान्छेबाट उनले हिंसाजन्य यस्तो व्यवहार खपेकी हुन् । घटना सुनाउँदै उनले भनेकी थिइन्– रेडियोको कार्यक्रम त्यस्तै त हो कति हतार हुन्छ कति । भोलिको कार्यक्रमको लागि अतिथि बोलाउन तत्कालको तत्काल निर्णय लिनुपर्ने हुन्छ ।

भोलिपल्ट बिहान प्रसारण गरिने अन्तर्वार्ताको लागि समसामयिक विषयमा बोल्नसक्ने र जिम्मेवारीमा भएको नेतालाई कार्यक्रममा बोलाउनु थियो । डेस्कको सल्लाहअनुसार उपप्रधानमन्त्री भइसकेको एकजना नेतालाई लिने भयौं । अन्तरवार्ता मैले नै लिने भएकोले भोलिपल्ट बिहानको लागि अघिल्लो दिन नै फोन गरेँ ।

उनको फोनमा महिलाको आवाज सुन्नासाथ बोल्ने तरिका फरक महसुस गरेथेँ मैले । तर त्यसलाई बेवास्ता गरेर कुरा सुनेँ । उनको जिज्ञासा थियो– को हौ तिमी ? कहाँ काम गछ्र्यौं ? मलाई वार्तामा एकजना वक्ता जसै चाहिएकोले त्यो आवाज छोपेर मैले काम गर्ने संस्थाको नाम, अन्तर्वार्ता समय पनि सुनाएँ । उनले खै के हुन्छ हेरौं भन्दै फोन राखे ।

उनको प्रतिवद्धतामा भर नलागेर अर्को एकजना अतिथि पनि तयार गरेर म अरु काममा लागेँ । सञ्चार माध्यममा काम गर्न एकदमै हतारमा होइन्छ । त्यहीबेला परीक्षा पनि आएकोले एकैछिन भए पनि एकान्त हौं, शान्त बसौं भैरहेको थियो । काम गर्ने रहर, बाध्यता सबै भएकोले त्यस्तो पनि सम्भव भएको थिएन ।

हो, यस्ता फरक–फरक खालका समस्या बाहिर आएका छन् फेरिएका मिडिया हाउसहरुमा । नेपालमा मात्र होइन, विश्वभरि नै फरक खालका हिंसा महिलाले भोगिरहेको तथ्याङ्कले देखाएको छ । युएन ओमनले एसिया पेसिफिकलाई केन्द्र बनाएर गरिरहेको अध्ययनमा भनेको छ ।

एकपटक दुई पटक भए त यस्ता घटना सम्झने फुर्सद पनि कहाँ हुन्छन् हामीलाई ? तर यो एक दुईपटक मात्र थिएन । यस्तो बेला राति झण्डै १० बज्न लाग्दा अफिसको कामले थाकेर लखतरान परेर कोठामा पुग्दै मात्र थिएँ, उनै नेताको फोन आयो । आफैंलाई चाहिएको हुनाले समयको ख्याल नै नगरी संयम भएर फोन उठाएँ र भोलिको कार्यक्रममा बोल्न तयार भए–नभएको बारे सोधेँ ।

उनले भोलि आफू आउने बताए । तर उनले फेरि किन फोन नगरेको, मैले नै गर्नु पर्छ भनेर बनावटी आत्मीयता प्रदर्शन गर्दै सोधे । मैले पनि यहीं समय परीक्षा भएकाले काम सकेर बल्ल कोठा छिर्दै छु भनेँ । अलि व्यस्त छु सर, त्यहीं भएर भ्याइनँ तर म ढुक्क पनि थिएँ भनेँ । तर उनको बोली सामान्य थिएन । लाडिएको आवाजमा ‘म सहयोग गर्न आउँ त’ भन्न थाले । मैले फेरि बेवास्ता गर्दै भोलिको वार्ताको लागि तयार हुनुहोला भन्दै फोन काटेँ ।

खाना बनाउँदै थिएँ, एकैछिनमा फेरि फोन आयो । शंका पनि गरिरहन त भएन । सोचेँ, फेरि भ्याउन्नँ, काम प¥यो भन्न लागे कि भनेर फोन उठाएँ । तर उनको चासो राजनैतिक या सामाजिक विषय नभएर अरु कुरामा थियो । उनी मेरो बोल्ने तरिका मन परेको भन्न थाले । मैले धन्यवाद भन्दै फोन काटेँ । फेरि फेरि उनको फोन आइरह्यो । तर अब भोलि नबोले पनि नबोलोस् भन्ने लागेर फोन साइलेन्स पारेर सुतेँ ।

भोलिपल्ट जसोतसो वार्ता त गरेँ । अब त सकियो भन्ने लागेथ्यो । तर उनले त झन् धेरै तारन्तार फोन गर्न थाले । परीक्षाको समय छ, उनले गरेको यस्तो घिनलाग्दो व्यावहारले एकदमै दिक्क लागेर ब्लक नै गरेँ । उनले अफिसमा मेरो अर्को नम्बर मागेछन् र आज पनि अनेक नम्बरबाट फोन म्यासेज गरेर हैरान लगाउँछन् । यो फोनको डिस्टर्बले मैले परीक्षा पनि राम्रोसँग दिन पाइनँ । काममा पनि ध्यान केन्द्रित गर्न सकेको छैन । त्यो बुढो मान्छेको त्यस्तो हर्कतले मलाई एकदमै हिनताबोध भएको छ ।

सबैमाझ यस्तो समस्या राखेकी उनलाई धेरैले आश्चर्य मान्दै किन उजुरी नगरेको भनेर प्रश्न गरे । उनले भनिन्’, ‘उजुरी गर्ने ठाउँ थाहा नपाएर, नजानेर होइन, त्यस्तो पदमा भएर पनि यस्तो हर्कत् गर्नेले न्यायलयमा पनि उसैको ठूलो कुरा होला, के न्याय पाउँला भनेर मैले उजुरी गरिनँ ।’ उनले फेरि थपिन् ‘उजुरी गरिनँ भनेर मन झन् पिरोलेको छ । काममा पनि उति जाँगर चलेको छैन ।’

सुन्दा यो एकजना मान्छेले गरेको कृत्य देखिन्छ । तर यो प्रतिनिधि घटना मात्र हो । यस्ता घटना महिला पत्रकारहरुले कहिले कार्यलय भित्र, कहिले बाहिरकाहरुबाट खपिरहेका हुन्छन् ।

नेपालमा महिला हिंसाको अवस्था कस्तो छ र महिलामा हुने हिंसा कसरी अन्त्य गर्न सकन्छि भनेर अनुसन्धान कसरी गर्ने भन्ने कार्यक्रममा एकजना सहभागीबाटै यस्तो अनुभव सुनाउँदा अरु सहभागी भने एकैपटक धेरै प्रश्नले भरिएका थिए । यस्तो सशक्त सार्वजनिक आवाज भएकी पत्रकारले भोगेको हिंसाले बताउँदै थियो कि– बाहिर निस्कन नसकेका यहाँ अनेक मुद्दा छन् ।

काठमाडौंकै अर्काे एक संचारमाध्यममा कार्यरत महिला पत्रकारले अघिल्लो दिन समाचार पोष्ट गर्न तयार पारेर घर गइन् । तर भोलिपल्ट उनको समाचारमा गलत् अर्थ लगाउने शीर्षक राखियो । त्यो शीर्षकले उनलाई धेरै गाली गरिएका प्रतिक्रिया प्राप्त भए । यो देखेर उनी मर्माहात भइन् । उनले यस्तो किन गरियो भनेर प्रश्न गर्दा सम्पादकले जागिर छोडेर जाने धम्की दिए ।

उजुरी दिने कुरा गरेपछि उल्टो उनको तलव रोकियो । अरुको आवाज उठाउँछौं भन्ने सञ्चार माध्यमभित्रै यस्तो भएपछि के गर्ने उनी अलमलमा परिन् । उनले तलव नदिए कानूनी उपचारमा जाने भन्दै पत्र लेखेपछि तीन महिनाको तलव त पाइन् तर जागीरबाट निकालिइन् । एकदमै राम्रो लेख्ने उनी आज फेरि पत्रकारितामा जानु र ! भन्ने सोचमा छिन् ।

हो, यस्ता फरक–फरक खालका समस्या बाहिर आएका छन् फेरिएका मिडिया हाउसहरुमा । नेपालमा मात्र होइन, विश्वभरि नै फरक खालका हिंसा महिलाले भोगिरहेको तथ्याङ्कले देखाएको छ । युएन ओमनले एसिया पेसिफिकलाई केन्द्र बनाएर गरिरहेको अध्ययनमा भनेको छ ।

हामीले जति धेरै समाजको परिर्वतन भोगिरहेका छौं, महिलामाथि हुने हिंसा पनि उति नै परिवर्तित रुपमा थपिँदै गइरहेका छन् । हिंसाविरुद्ध बोल्नेहरु नै हिंसा खेपिरहेका छन् । हिंसाका ती रुपलाई यहाँ गएर एसिया पेसिफिक क्षेत्रमा के भइरहेको छ भनेर हेर्न सकिन्छ ।

यहाँ मैले दुईटा घटना मात्र राखेकी हुँ । निवेदककै अनुरोधमा निवेदन परेका कुनै पनि मुद्दा बाहिर ननिकाली सल्टाउने गरेको संचारिकाले जनाएको छ । संचारिककी अध्यक्ष नितु पण्डित भन्नुहुन्छ– महिला आफू तनावबाट मुक्त पनि हुन चाहन्छन् र समस्या जति सानो वा ठूलो होस् बाहिर नगएरै समाधान होस् भन्ने चाहान्छन् । किनकि घटना जत्तिकै डर उनीहरुलाई समाजको अन्ध प्रतिक्रियाको छ । खासमा हरेक मिडियामा महिला पत्रकारको संख्या न्यून भएकाले घटना सुनाउने साथी नहुँदा पनि उनीहरु त्यसको तत्काल उपचारमा जान सक्दैनन् ।

कार्यक्रममा सहभागी पत्रकारहरुको एकैस्वर थियो, ‘अब प्रश्न यता गर्नुपर्ने कि आफैं हिंसा गर्ने मिडिया हाउससँग हिंसाका मुद्दा उठाउँने नैतिकता बाँकी रहन्छ ? एक दुईवटा लाइन लेखेर तिमीहरु समावेशी भएनौ, अपराध गर्यौ भन्ने मिडियावालाहरु कति समावेशी छन् ? खोजिनु पर्छ अब । यिनीहरु भित्र हुने हिंसाको पनि खोजी हुनु पर्छ । आफैंभित्र भ्रष्टता र हिंसात्मक घटना लुकाउने मिडियालाई अरुलाई सदाचार र अहिंसाको पाठः सिकाउने हक रहंदैन ।

हिंसा खेपेकी अर्की पत्रकारले काननू उपचारमा गइन् । उपचार खोजेकोले त्यो घटनाले दुःखी नभएको बताउँछिन् । उनी भन्छिन्,– ‘स्वस्थ्य नेतृत्व र स्वस्थ्य मिडिया हाउस अभियान थालेर टेवुल टेबुलमै गएर उनीहरुका विरुद्ध उजुरी परेको कुरा समूहमा गएर जानकारी दिने र फेरि दोहोरिए कानूनी उपचार थाल्ने चेतावनी दिनु पर्छ ।’ यदि अरुका आवाज बोल्ने हामी नै पीडित भएर बस्यौं भने अरुका समस्या कसरी बाहिर आउन सक्छ ? अहिले हिंसा गर्नेलाई भेट्दा शीर ठाडो हुने गरेको अनुभव उनी सुनाउँछिन् । उनी भन्छिन् – ‘मैले त उसैको घरमा गएर उसकै श्रीमतीको अगाडि झपारेर आएँ । यो कुरा समूहमा गरे अझ शक्तिशाली हुन्छ ।

अग्रज पत्रकार बविता बस्नेत भन्नुहुन्छ– मिडिया हाउसमा महिला पत्रकारहरुले कुनै न कुनै दिन यस्तो हिंसा खेपेकै छन् । तर हिजोकोजस्तो अब हिंसा खेपेर बस्दैनन्, हिंसा महसुस हुनासाथ उजुरी गरिहाल्ने बनाउने चुनौती छ । महिला हिंसामा उपप्रधानमन्त्री भैसकेको व्यक्ति नै सामेल भएको र त्यस्ताको नाम एक ठाउँबाट होइन धेरै ठाउँबाट हामी समक्ष आइपुगेको छ । एक दुई जनालाई नभएर धेरैलाई पटक पटक यस्तो हर्कत गर्नुको कारण हामीले नै उन्मुक्ति दिएर हो । यसलाई बाहिर नल्याएर उसको हिम्मत बढेको हो ।

मुलधारको मिडियामा काम गर्ने, राजधानीमै बसेर पनि कति महिला आफ्ना कुरा बाहिर राख्न हिचकिचाउँछन् । जागिर जाला या मैले भनेँ भने अर्को झमेला खप्नु पर्ला भनेर डराउँछन् । मोफसलमा यस्ता मुद्दा खपेका कति होलान् ? युएन ओमेनले गरेको विश्वव्यापी अध्ययन भन्छ, जति धेरै प्रविधि भित्रिए त्यति नै धेरै महिलाले खेप्ने हिंसा पनि थपिएका छन् । अझ अनलाइनमा काम गर्ने महिला पत्रकारका समस्या झनै धेरै छन् ।

अझ कोभिड १९ को महामारीका समयमा नै यस्ता घटना धेरै बाहिर आए । यो समय अधिकांश महिला पत्रकारले जागिर गुमाए । नेपालको मात्र तथ्य होइन, विश्वमा धेरै ठाउँमा गरिएको अध्ययनले पनि यहीं देखाएको छ ।

हिंसा खेपेकी अर्की पत्रकारले कानूनी उपचारमा गइन् । उपचार खोजेकोले त्यो घटनाले दुःखी नभएको बताउँछिन् । उनी भन्छिन्,– ‘स्वस्थ्य नेतृत्व र स्वस्थ्य मिडिया हाउस अभियान थालेर टेवुल टेबुलमै गएर उनीहरुका विरुद्ध उजुरी परेको कुरा समूहमा गएर जानकारी दिने र फेरि दोहोरिए कानूनी उपचार थाल्ने चेतावनी दिनु पर्छ ।’

इन्टरनेशनल फोरम अफ जर्नालिष्ट (आइयफजे)ले महामारी पछि इजिप्ट, जोर्डन, लेवनाना जस्ता ठाउँका १७० न्युजपेपर सम्बन्धी गरेको सर्वेक्षणमा, अधिकांश बन्द भएको र केही रहेका पत्रिकाहरु न्युनतम समाचार दिएर प्रकाशन भएको उल्लेख छ । अध्ययनका अनुसार काममा भएर पनि २०२० सकिनै लाग्दा अधिकांश पत्रकारहरु एन्जाइटि र डिप्रेसनको सिकार भएका छन् ।

अनुसन्धान भन्छ– अनलाइन र रेडियोमा पनि महामारीको असर अधिक छ । रेडियो सिमित एक दुई जनाले चलाइरहेका छन् भने यसरी चलेका सबै मिडियामा महिला नै छन् । उनीहरु कारण के दिन्छन् भने उनीहरुलाई तलव बिना काम गर्न सहज छैन । निकालिएका अधिकांश महिला पत्रकारहरुले त विना तलव काम गर्दा पनि कार्यक्षेत्रमा पाउनु पर्ने सुरक्षाका सामानसम्म पनि नपाएको र आफूलाई रोग लाग्दा बच्चासम्म पुग्ने हुनाले त्यस्तो काममा बसिरहन नसकेको जनाइएको छ ।

विश्व स्वाथ्य संगठनको तथ्याङ्कअनुसार महामारी सुरु हुनुअघि नै हरेक तीन महिला एक जना आत्मीय साथीबाटै शारीरिक, मानसिक हिंसामा परेका छन् । कोभिडको महामारी पनि घरेलु हिंसाको दर बढेको छ ।

त्यसैगरी महिलाले कार्यक्षेत्रमा थप हिंसा खेपेर आएका छन् । यसको मतलव सञ्चार माध्यममा काम गर्ने महिलामाथि हिंसा घटेको छैन, अझ फरक फरक कोणबाट हिंसा गर्ने तरिका थपिइरहेका छन् । यसरी हेर्दा हिंसा मात्रै होइन, हिंसाका रुप पनि बढेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *