कांग्रेस प्रदेश २ मा संस्थापनइतर प्यानल बढारियोः सभापतिमा कृष्ण राय यादव विजयी – Nepal Press

कांग्रेस प्रदेश २ मा संस्थापनइतर प्यानल बढारियोः सभापतिमा कृष्ण राय यादव विजयी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ मा सभापति शेरबहादुर देउवा पक्षको प्यानलै विजयी भएको छ । सभापतिमा रौतहटका कृष्ण राय यादव विजयी भएका छन् । उनले प्रदेशकै भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका रामसरोज यादवलाई पराजित गरेका हुन् । विमलेन्द्र निधि समूहका रामसरोजले शेखर कोइराला समूहसँग सामूहिक प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

शुक्रबार राति घोषणा गरिएको मतपरिणाम अनुसार निर्वाचित दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक महिला महामन्त्रीमा समेत देउवा समूहकै उम्मेदवार विजयी भएका छन् ।

उपसभापतिमा देउवा समूहका वीरेन्द्र सिंह र चन्द्रशेखर कुमार यादव निर्वाचित भएका छन् । सिंहले १ हजार १९ र चन्द्रशेखरले ८९५ मत ल्याएका हुन् । सिंह प्रदेश २ का महिला, बालबालिका, यूवा तथा खेलकु मन्त्री पनि हुन् ।

महामन्त्रीमा उपेन्द्रकुमार यादव र बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । देउवा समूहकै उपेन्द्रले ९५९ र श्रेष्ठले ७८८ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उपेन्द्र सिरहा नगरपालिकाका पूर्वमेयर हुन् ।

निर्वाचन समितिले सुरुमा महामन्त्रीमा उपेन्द्र र नरेश यादव विजयी भएको घोषणा गरेको थियो । तर पछि मतपरिणाम अपडेट गर्न त्रुटि भएको भन्दै नरेशको ठाउँमा बृहस्पति निर्वाचित भएको घोषणा गरियो । जसका कारण विवाद उत्पन्न भएको थियो ।

सुरुमा विजयी घोषणा भएका नरेश रामचन्द्र पौडेल अर्थात् शेखर कोइराला समूहका छन् । उनले धाँधली गरेर बृहस्पतिलाई निर्वाचन समितिले जिताएको आरोप लगाए । उनले विजयी घोषणा गरेअनुसार महामन्त्रीको प्रमाणपत्र माग्दै निर्वाचन समितिलाई निवेदन समेत बुझाएका थिए ।

यस्तै सहमहामन्त्रीमा पनि देउवा समूहकै पर्शुराम चौधरी र जयनारायण यादव निर्वाचित भएका छन् । चौधरीले ८२२ र यादवले ८७९ मत ल्याएर विजयी भएका हुन् । चौधरी सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्षसमेत छन् ।

महिला सहमहामन्त्रीमा देउवा समूहकै बिन्दु यादव निर्वाचित भएकी छन् । उनी ८८९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर