गगन-विश्वको जित, कांग्रेस सुधारको आधार – Nepal Press
विचार

गगन-विश्वको जित, कांग्रेस सुधारको आधार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चुनिने नेतृत्वप्रति धेरैको चासो थियो । नेतृत्वबारे अनेकन अड्कलबाजी र विश्लेषण भइरहेको थियो । कांग्रेस भित्र परिवर्तन चाहनेहरुका लागि सभापतिमा शेरबहादुर देउवाको जीत अस्वभाविक लाग्न सक्छ । कतिलाई स्वभाविक पनि लाग्ला । तर पार्टी भित्र पृथक ढंगले परिवर्तनको नारा बुलन्द गर्ने दोस्रो पुस्ताका नेताहरु महाधिवेशनमा चर्चित थिए ।

विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेलहरु अलग खेमाबाट चुनावी प्रतिस्पर्धामा देखिए पनि, उहाँहरुप्रति सम्पूर्ण महाधिवेशन प्रतिधिधिहरुको स्नेह थियो । मत संख्याको आधारमा प्रदीप पौडेल पराजय हुनुभयो । तर विश्व र गगनको जित उहाँको पुस्ताको जित हो । यो कुरालाई प्रदीप पौडेलले पनि स्वीकारेका छन् । यसअर्थमा पौडेल ‘कांग्रेसमा दोस्रो पुस्ताका बाजिगर’ भन्दा अतिशयोक्ति नहोला ।

विश्व–गगनको जितका आधारबारे विभिन्न कोणबाट चर्चा परिचर्चा जारी छ । उहाँहरुको विजयको उत्सवमय चर्चा फगत युवा पिँढीमा मात्र छैन् । जनकपुरको जामुन चिया पसलमा निष्पक्ष भावले ‘अब बल्ल काँगे्रसभित्र परिवर्तन आयो’ भन्नेहरुको उत्साह हेर्न लायक हुन्छ ।

नेतृत्व परिवर्तन हुन नसके पनि गगन–विश्वको जितले एउटा पुस्ता र नवीन सोचको जित भएको महसुस गर्नेहरुको कमी छैन । यसै सन्दर्भमा सेवा निवृत्त शिक्षा अधिकारी ७६ वर्षीय जलेश्वर नगरपालिका– ४ का कृष्णचन्द्र झासमेत विश्व–गगनको जितबाट खुसी छन् । उनलाई पनि अब नयाँ पुस्ताले केही गर्छ कि भन्ने आश छ ।

कांग्रेसको १४औँ महाधिवेशनले केही राम्रा संदेशहरु दिएका छन् । तीमध्येको एक हो– गगन र विश्वको जित । १३ औँ महाधिवेशनपछि नै पार्टीको गतिविधिबारे संस्थापनइतरका नेताहरुबाट टिप्पणी हुन थालेको थियो– पछिल्लो आमनिर्वाचनमा नेपाली कांग्रेसको प्रदर्शन सर्वाधिक कमजोर भएको थियो । तर त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने दायित्ववोध नेतृत्वले गरे ।

पार्टी सभापति शेरबहादुर देउवाको प्रश्नवाचक चिह्नसहितको केपी ओलीसँगको सामीप्यताले कांग्रेसीजनमा निराशा ल्याएको विदितै छ । पार्टीभित्र बस्नुपर्ने बैठकहरु समयमा बस्न नपाएका थुप्रै घटनाहरु छन् । साथै निर्धारित समयमा पार्टीलाई पूर्ण आकार दिनमा समेत देउवा चुक्नुभयो ।

झण्डै दुई वर्ष पहिला आएको कोरोनाको आडमा १४औँ महाधिवेशन समयमा हुन नसक्नुको कारक पार्टी नेतृत्व नै थियो । यस्ता थुप्रा दृष्टान्तहरु छन्, जसकारण नेपाली कांगे्रसको प्रगतिशीलतामा ह्रास आएको थियो ।

नेपालका प्रमुख कम्युनिस्ट पार्टीको एकीकरणपश्चात निर्माण भएको तत्कालीन नेकपा नामक सिद्धान्तहीन दलका सत्ताधीशहरु जिम्मेवारीबाट भाग्न मात्रै खोजे । उनीहरुले कोरोना जस्तो विश्व महामारीका बेला देशमा राजनीतिक महामारी ल्याए ।

आमनागरिकले त्यतिबेला प्रतिपक्षी नेपाली कांग्रेसमाथि पनि प्रश्न उठाए । संसदीय व्यवस्थामा प्रतिपक्षको लहरमा बसेर देशमा अँध्यारो अवस्था ल्यान खोज्ने नेकपाविरुद्ध सदनमा डा. मीनेन्द्र रिजाल, डा. अमरेशकुमार सिंहका साथ अब्बलस्तरको प्रस्तुति गगन थापाको हुने गरेको थियो ।

सदन बाहिर आफ्ना पार्टीका कमीकमजोरीको ढाकछोप गर्न तर्कपूर्ण प्रस्तुति दिने विश्वप्रकाश शर्मा नै थिए । कांगे्रस भित्र र बाहिर, चाहेर वा नचाहेर यी दुवै नेताले नेपाली जनताको मन जित्न सफल भएका थिए ।

युवाको वैज्ञानिक परिभाषाको परिधि भित्र नपरे पनि १८ देखि ४० वर्षसम्मकाले गगन–विश्वलाई आफ्नो प्रतिनिधि ठानेका छन् । ७१ वर्ष पुरानो पार्टी नेपाली कांगे्रसको आफ्नै पृथक इतिहास छ । यस अवधिमा देशमा भएको हरेक परिवर्तनमा नेपाली कांग्रेसको योगदानलाई सबैले कदर गरेकै हुन् । कुनै पनि राजनीतिक दल कालको हिसाबले बुढो हुनसक्छ । र विचार र सिद्धान्तको हिसाबले विश्व राजनीतिमा आफ्नो स्थान सुरक्षित गर्न सक्नुपर्छ ।

यद्यपि, पछिल्लो एक दशकयता नेपाली काँगे्रसको आलोचना गर्नेहरुको समेत कमी नरहेको अवस्थालाई स्वीकार्नैपर्छ । यसको कारण पार्टीभित्र वैचारिक हिसाबले प्रष्टता नहुनु र पार्टीको सिद्धान्तलाई अक्षरसः व्यवहारमा पालना नगर्नु नै हो । यसमा सधैं कांग्रेस नेतृत्व चुक्यो ।

कांग्रेस भित्र पढेलेखेका नेताहरुको कमी छैन । तर कुशल नेतृत्व गर्ने क्षमता भने देखिएन । १४औँ महाधिवेशनबाट गगन र विश्व जस्ता उर्जावान र आमनेपालीले भरोसा गरेका नेता महामन्त्रीमा चुनिनु कांग्रेस परिवर्तनको आधार तय हुनु हो ।

१४औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्रीको उम्मेदवारी घोषणा गर्दैगर्दा गगन थापाले पार्टीको रुपान्तरण र पुनर्जागरणका लागि ‘सम्मुनत नेपालः सम्मानित नेपाली’को अवधारणा दस्तावेज पल्टाउँदा समाजिक लोकतन्त्रको सैद्धान्तिक आधार प्रस्तुत गर्नुभएको थियो । मानव विकासको सोच राखेर जनताको लागि काम गर्ने मान्यता स्थापित हुन लागेका बेला सामाजिक लोकतन्त्रको बहस पार्टीभित्र प्रवेश हुनु आफैंमा सकारात्मक पक्ष हो ।

त्यस्तै गृहजिल्ला झापाबाट विश्वप्रकाशले पनि आफ्नो लिखित अवधारणा प्रस्तुत गर्नुभएको थियो । समग्रमा शर्माले, ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’को कुरा गनर्नुभएको थियो । यस्ता रोडम्यापकै कारण उहाँहरुको जित सम्भव भएको हो ।

अब उहाँहरुले नेपाली कांग्रेसको विधानले दिएको कार्यकारी अधिकार प्रयोग गर्नुपर्ने हुन्छ । पार्टीभित्र अहिले पनि युवाहरुको ‘हजुरबुवा समूह’मा पर्ने नेताहरुको हालिमुहाली छ । अब खोज्नुपर्ने ‘पोलिटकल डोमिनेन्स’ अर्थात् राजनीतिक प्रभुत्व हो ।

राजनैतिक दृष्टिले हेर्दा अहिले काँगे्रसमा दुई महत्वपूर्ण परिवर्तनका लागि सडकमा लडेका दुई धारबीच संघर्ष छ । पहिलो धार, जनआन्दोलन–१ मा प्रजातन्त्र ल्याउन अहम भूमिका खेल्नेहरु । जसभित्र पुराना पुस्ता भनाउँदाहरुको आफ्नै किसिमको रजगज छ । यो यस्तो ‘क्लब’ हो, जसभित्रका कैयन सदस्यले आफ्नो योगदान र योग्यता बापतको साधारण ब्याज पाइसक्नुभएको हुनुपर्छ । केही यस्तापनि छन्, जो विभिन्न कारणबस पार्टी भित्र वा आमराजनीतिक जीवनमा ब्याज प्राप्तकर्ताको सूचीमा पर्न सक्नु भएको छैन ।

दोस्रो धार– यसमा त्यस्ता नेताहरु छन्, जो २०६२–०६३ मा सयौँ वर्ष पुराना राजसंस्थालाई गणतन्त्रले विस्थापित गर्न भएको आन्दोलनमा आफ्नो क्षमताको प्रदर्शन गरेका थिए । तिनको क्षमता र पुराना पुस्ताको ऐतिहासिक अडानका कारण उक्त आन्दोलन फलित साबित भयो । संविधानसभाको पहिलो चुनावदेखि संविधान निर्माण भएको बेलासम्म पुरानासँगै नयाँ पुस्ताले पार्टीभित्र र आमराजनीतिमा विभिन्न खालको जिम्मेवारी ग्रहण गर्ने मौका पाए ।

तर १४औँ महाधिवेशनको मिति घोषणा हुनुभन्दा धेरै पहिलादेखि नै कांग्रेसभित्र परिवर्तनको माग बढ्दै गयो । संस्थापन होस या इतर, दुवै पक्षमा सक्रिय रहेका दोस्रो पुस्ताका नेताहरुले नेतृत्व तहमा परिवर्तनको हुंकार लगाए । महामन्त्रीमा परिणामतः गगन–विश्वको जित भयो ।

अब उहाँहरुले पक्कै पनि ध्यान दिनुभएको होला कि, समयको द्रुत गतिसँगै देशको राजनीतिक ‘क्यानभास’मा थुप्रै नयाँ आयामहरुको चित्र कोरिने छ । देश उहीं छ, तर राजनीतिक दलभित्र हुनुपर्ने फरक आकर्षणका मानकहरु बदलिएका छन् । देशमा सामाजिक, आर्थिक र रजनीतिक परिदृश्यमा व्यापक परिवर्तन आएको छ ।

कुनैबेला देशमा नेपाली कांग्रेस र खण्डित अवस्थाका कम्युनिष्टहरु थिए । अहिले पनि कम्युनिष्ट पाार्टीको संख्या बढेको बढ्यै छ, तर देशमा ठूलो दल कम्युनिष्ट नै छ । योसँग जुधेर कांग्रेसलाई समायानुकुल बनाउन विश्व–गगन सफल हुनुपर्छ ।

(लेखक शान्ति विकास अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *