गगन-विश्वले के गर्न सक्छन्, के सक्दैनन् ? – Nepal Press
टिप्पणी

गगन-विश्वले के गर्न सक्छन्, के सक्दैनन् ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन नभएपनि पुस्तान्तरणको सन्देश गएको अधिकांशको आँकलन छ । खासगरी पदाधिकारी र केन्द्रीय समितिमा युवा नेताहरूको वर्चस्वले कांग्रेस रुपान्तरणको प्रक्रिया प्रारम्भ भएको दाबी गर्नेहरूलाई बल पुगेको छ ।

पुस्तान्तरण र रुपान्तरणको चर्चाको केन्द्रभागमा कांग्रेसका नवनिर्वाचित २ जना महामन्त्री रहेका छन् । कांग्रेसबाहिर पनि चर्चा कमाएका गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् । उनीहरूको जितले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ । यद्यपि मिडिया, नागरिक समाज र सामाजिक सञ्जालमा ‘टक अफ दी टाउन’ बनेका महामन्त्रीद्वयको कार्यसम्पादनको वास्तविक परीक्षण भने अब सुरू हुनेछ ।

गगन-विश्वको परीक्षा

आजसम्म मूल नेतृत्वलाई प्रश्न गर्ने भूमिकामा रहेका २ युवा नेता कांग्रेसको शीर्ष नेतृत्वमा पुगेका छन् । कांग्रेसको आन्तरिक जीवनमा महामन्त्रीलाई प्रभावशाली र कार्यकारी पदका रूपमा लिइन्छ । निर्वाचित दुवै महामन्त्री चुनावी प्रतिस्पर्धामा सभापति शेरबहादुर देउवाविरुद्धको प्यानलमा थिए । निर्वाचित भएपछि दुवैले सभापतिसँग सहकार्य गरेर कांग्रेसलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको ‘सार्वजनिक छवि’ उस्तै खालको भएकाले पनि ‘व्यक्तित्वको टकराव’ नआउला भन्न सकिँदैन ।

राजनीतिक वृत्तमा कांग्रेसले मात्रै नभएर समाजले नै अपेक्षा गरेका नेतामध्येमा गगन-विश्व पर्दछन् । उनीहरूले राजनीतिमा निर्माण गरेको भाष्यप्रति आम नागरिकको चासो बढेको पाइन्छ । राजनीति नरुचाउने मात्रै होइन कांग्रेस नै नरुचाउनेले पनि गगन-विश्वको कामलाई धैर्यताका साथ मूल्यांकन गर्नेछन् । यसर्थ गगन-विश्व दुवैले कांग्रेस महामन्त्रीका रुपमा अबका ४ वर्ष व्यक्तिगत र पार्टी दुवैको राजनीतिक जीवनलाई उपलब्धीपूर्ण बनाउने गरी काम देखाउनुपर्नेछ ।

के गर्न सक्छन् गगन-विश्वले ?

पार्टीभित्र विधि पद्दतिबारे सवाल उठाउँदै आएका दुवै नेता महामन्त्रीको जिम्मेवारीमा छन् । महामन्त्रीका रूपमा अब सवाल उठाउने होइन कि ‘सवाल नउठ्नेगरी’ काम गर्नुपर्ने अवस्था महामन्त्रीद्वयलाई छ । त्यस्तो काम व्यक्तिगत रुची वा लहडबाट नभइ कांग्रेसको विधानद्वारा निर्देशित हुनुपर्नेछ ।

कांग्रेस विधानले दिएका १२ काम, कर्तव्य र अधिकार नै महामन्त्रीद्वयको जिम्मेवारीको वैधानिक आधार हो । कांग्रेस विधानले पार्टीको केन्द्रीय कार्यालय महामन्त्री मातहत रहने व्यवस्था गरेको छ । त्यस्तै महाधिवेशन, महासमिति, केन्द्रीय समिति र कार्यसम्पादन समितिलगायतको निर्णय कार्यान्वयन गर्ने अधिकार पनि विधानले महामन्त्रीलाई दिएको छ ।

त्यस्तै दैनिक कार्यसञ्चालमा सभापतिलाई सघाउने र आवश्यक जानकारी र सुझाव दिने जिम्मेवारी पनि महामन्त्रीकै हो । कांग्रेस विधानले महामन्त्रीलाई संगठनसँग सम्बन्धित बढी जिम्मेवारी प्रदान गरेको छ । पार्टीको केन्द्रीय समिति, महासमिति र महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव पेश गर्ने दायित्व पनि महामन्त्रीकै हो ।

कांग्रेसवृत्तमा गगन-विश्वको जितलाई रुपान्तरणको सुरूआतका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । यद्यपि कांग्रेसजस्तो पार्टीमा व्यक्तिको प्रयत्न रुपान्तरणका लागि काफी हुँदैन । कुनै व्यक्तिको हार वा जितले कांग्रेसको पतन वा उत्थानको निर्धारण गर्न सक्दैन । यसर्थ जितको उन्मादभन्दा जिम्मेवारीको आत्मबोधसहित अघि बढ्नु नै दुवै नेताका लागि हितकर हुनेछ ।

यो अर्थमा पार्टीको आन्तरिक समीक्षा र राजनीतिक धार निर्माणमा महामन्त्रीले योगदान गर्न सक्छन् । विधानले महामन्त्रीद्वयलाई पार्टीको केन्द्रीय निकायका निर्णयहरू प्रमाणित गर्ने अधिकार दिएको छ भने क्रियाशील सदस्यताबारे विशेष अधिकार दिएको छ ।

कांग्रेस विधानमा सभापतिले तोकेको महामन्त्रीको संयोजकत्वमा तीनजना केन्द्रीय सदस्य सम्मिलित ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ रहने व्यवस्था गरेको छ । सो समितिले देशभरीको सदस्यको अभिलेख राख्ने, सम्बन्धित निकायलाई अभिलेख राख्न लगाउने, सदस्यता वितरण र नवीकरणको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने विधानमा उल्लेख छ । मुख्यतः यसबाहेकका अधिकारहरू तोकिएबमोजिम हुने व्यवस्था कांग्रेस विधानले गरेको छ ।

विधानले दिएका अधिकारहरुको कार्यान्वयनले कांग्रेसको आन्तरिक व्यवस्थान, सदस्यता प्रणाली र संगठ सुदृढीकरणमा महामन्त्रीद्वयले योगदान गर्न सक्छन् । त्यसबाहेक कांग्रेसको पदाधिकारीका हैसियतले उनीहरूले राष्ट्रिय राजनीतिक र सार्वजनिक जीवनमा प्रस्तुत गर्ने व्यवहारले पनि पार्टीप्रति जनताको ‘छवि’ निर्माण हुन मद्दत पुग्दछ ।

सभापति नरिझाइ सुखै छैन

कांग्रेस विधानमा बहुपदको व्यवस्था भए पनि सभापति सबैभन्दा शक्तिशाली छन् । सामुहिक नेतृत्व भनिए पनि सभापतिको तजविजी अधिकारले त्यसलाई सहज हुन दिँदैन । पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको मुख्य अधिकार नै सभापतिमा निहित रहेको छ । कांग्रेस विधानको दफा २५ को ४ मा ‘केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने अधिकार’ सभापतिलाई दिइएको छ ।

जसअनुसार विधानले महामन्त्रीलाई दिएका मुख्य अधिकारहरू गगन र विश्वमध्ये कसलाई प्रत्यायोजन गर्ने भन्ने अधिकार सभापति देउवामै निहित छ ।

यसकारण ‘पर्फमेन्स’ देखाउन महामन्त्रीले सभापतिलाई रिझाउनुको विकल्प छैन ।

अघिल्लो कार्यसमितिमा सभापति देउवाले निर्वाचित महामन्त्री डा. शशांक कोइरालालाई भन्दा मनोनीत महामन्त्री पूर्णबहादुर खड्कालाई बढी जिम्मेवारी प्रत्यायोजन गरेका थिए । यसपटक दुवै महामन्त्री निर्वाचनबाट आएकाले जिम्मेवारी लिनकै लागि पनि सभापतिलाई रिझाउन जरुरी छ ।

महामन्त्रीमा मात्रै होइन उपसभापतिमा पनि त्यस्तै अवस्था छ । कांग्रेस विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारसमेत उल्लेख छैन । उपसभापतिको नेतृत्वमा रहने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख २ मध्ये कुन उपसभापतिलाई तोक्ने भन्ने अधिकार सभापतिमै छ ।

गगन-विश्व सहकार्य कि टकराव ?

१४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित दुवै युवा नेतालाई भविष्यमा कांग्रेस हाँक्ने नेताको रुपमा कांग्रेस वृत्तमा चित्रण गर्ने गरिन्छ । विद्यार्थी राजनीतिदेखि नै अघिपछि गर्दै आएका दुईमध्ये को पहिले पार्टी सभापति बन्लान् ? भन्नेमा धेरैको चासो छ ।

दुवै नेतालाई १५ औं महाधिवेशनमा सभापतिको आकांक्षीका रूपमा हेरिएको छ । दुवैले अलग-अलग गुटको अगुवाइसमेत गर्दै आइरहेका छन् । महामन्त्री भएपछि दुवै नेताले एक-अर्कासँग सहकार्य गरेर अगाडि बढ्ने बताएका त छन् तर त्यसमा ढुक्क हुनसक्ने अवस्था छैन ।

भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको ‘सार्वजनिक छवि’ उस्तै खालको भएकाले पनि ‘व्यक्तित्वको टकराव’ नआउला भन्न सकिँदैन ।

पार्टीभित्र विधि पद्दतिबारे सवाल उठाउँदै आएका दुवै नेता महामन्त्रीको जिम्मेवारीमा छन् । महामन्त्रीका रूपमा अब सवाल उठाउने होइन कि ‘सवाल नउठ्नेगरी’ काम गर्नुपर्ने अवस्था महामन्त्रीद्वयलाई छ । त्यस्तो काम व्यक्तिगत रुची वा लहडबाट नभइ कांग्रेसको विधानद्वारा निर्देशित हुनुपर्नेछ ।

अन्त्यमा, कांग्रेसवृत्तमा गगन-विश्वको जितलाई रुपान्तरणको सुरूआतका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । यद्यपि कांग्रेसजस्तो पार्टीमा व्यक्तिको प्रयत्न रुपान्तरणका लागि काफी हुँदैन । कुनै व्यक्तिको हार वा जितले कांग्रेसको पतन वा उत्थानको निर्धारण गर्न सक्दैन । यसर्थ जितको उन्मादभन्दा जिम्मेवारीको आत्मबोधसहित अघि बढ्नु नै दुवै नेताका लागि हितकर हुनेछ ।

‘पब्लिक एटेन्सन’ भन्दा माथि उठेर कांग्रेस र राष्ट्रिय राजनीतिमा योगदान गर्ने अवसरलाई महामन्त्रीद्वय गगन-विश्वले सदुपयोग गरेमात्रै गगनले भनेझैं ‘कांग्रेसमा पुनर्जागरण’ वा विश्वले भनेझैं ‘राजनीतिमा रुपान्तरण’ हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर