सीके राउतकाे ध्वंसात्मक आन्दाेलन नियन्त्रण गर्न सिरहामा दुई दिन निषेधाज्ञा जारी – Nepal Press

सीके राउतकाे ध्वंसात्मक आन्दाेलन नियन्त्रण गर्न सिरहामा दुई दिन निषेधाज्ञा जारी

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते (भोली र पर्सी) विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचना निकालेका हुन् ।

उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिड्डुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

जनमत पार्टीले केही दिन अघि देखि सिरहा जिल्लामा गरिरहेको आमहडताल र चक्काजामका कारण सर्व साधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर राखेर निषेधाज्ञा जारी गरेको प्रजिअ कवाडीले बताएका छन् । औरही गाउँपालिकाले गहुँको बीउ लुटेको आरोपमा किसानमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, किसानलाई समयमा सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, औरही गाउँपालिका अध्यक्ष सिदार्थ यादवे गरेको भ्रष्टाचारको छानविन हुनुपर्ने सहितका माग राखेर जनमत पार्टी आन्दोलित बनेको छ ।

आईतवार सिरहा जिल्ला आमहड्ताल गरेका जनमत पार्टीले सोमवार जिल्लाभर चक्काजाम गरे । ति पार्टीको आन्दोलनका कारण राजमार्गमा आईतवार र सोमबार प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई गन्तव्यमा पुर्याउन बाध्य भए । आन्दोलनकारीले आईतवार एउटा ट्रकमा आगजनी र दर्जनौं सवारीमा तोडफोड गरेका थिए । आइतवार राजमार्ग बन्द गराउने क्रममा जनमत पार्टीका १४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै जनमत पार्टीले भोली र पर्सी समेत जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको केहिघण्टा नबित्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *