सुवास कर्माचार्यको राष्ट्रिय चर्चा र सिन्धु एमालेभित्रको वास्तविक कथा
‘चारपटक संसदीय टिकट र पटक-पटक अवसर दिएर पार्टीले अन्याय गरेकै हो’
गत कात्तिक १३ गते नेकपा एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले दशैं, तिहार, छठ, नेपाल संवत आदि पर्वहरूलाई लक्षित गर्दै शुभकामना आदानप्रदान कार्यक्रम राख्यो । प्रमुख अतिथि थिए, पार्टी अध्यक्ष केपी ओली ।
उक्त कार्यक्रममा एमाले सिन्धुपाल्चोकका अधिकांश नेताहरूले आ-आफ्नो विचार पस्के । तीमध्ये एक थिए सुवास कर्मचार्य । उनले पनि पार्टी अध्यक्ष भन्दा पनि २/४ कदम अघि बढेर उग्र क्रान्तिकारी भएर भाषण गरे ।
हिजो के भएको थियो त्यो सबै बिर्सनुपर्छ । नेकपाकाल अनि एमाले विभाजन हुने बेलाको घटनालाई बिर्सनुपर्छ भन्ने उनको आशय थियो, किनकी त्यसबेला उनी एमालेको मूलधारको विपक्षमा थिए ।
उनले पद भनेको गौण कुरा हो, आन्दोलनमा लाग्नु या पार्टीको मूल प्रवाहमा रहनु महत्वपूर्ण विषय हो भनेका थिए । र, उनले एउटा महत्वपूर्ण कुरासमेत गरे । हामीहरू अब सामाजिक सञ्जालबाट पार्टी अन्तरविरोधको कुरा गर्ने छैनौं र गर्नु हुन्न । एकअर्कालाई खुइल्याउने अनि विगतका कुराहरू लेख्ने छैनौं । जे गर्ने परे पनि बैठकबाटै गर्नेछौं ।
तर, एक महिना नबित्दै उनी आफैंले सामाजिक सञ्जालबाट विद्रोहको कुरा गरे । उनले मंसिर १६/१७ तिर एउटा स्टाटस हाले ‘अन्याय र अपमानविरुद्ध विद्रोह मानिसको नैसर्गिक अधिकार हो’।
केही घण्टाको अन्तरालमा आफैं स्टाटस डिलिट गरेका उनले फेरि पुस ११ गते अपरान्ह फेसबुकमा अर्को स्टाटस लेखे । ‘नेकपा एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु । उनले त्यो स्टाटस पनि मेटिसके ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै- हिजो प्रचण्ड माधवहरूले डढेलो लगाएर हिँडेपछि पलाएका पालुवा नै भोलिको एमालेका वास्तविक शक्ति हुन् । पटक-पटक अवसर दिगएर सुवास कर्माचार्यमाथि पार्टीले जुन अन्याय गरेको थियो, अब त्यसबाट उनी मुक्त भएका छन् र सिन्धुको राजनीतिक आकाशमा नयाँ तारा उदाउनेछन् ।
कर्माचार्यको पछिल्लो फेसबुक स्टाटसले राष्ट्रिय मिडियामै ठूलो कभरेज पाएपछि अहिले उनी चर्चामा छन् । कतिपय मिडियाले एमालेलाई कमजोर पार्न महत्वपूर्ण कडीका रूपमा सुवास कर्माचार्यलाई मरमसला गरेर बेचिरहेका छन् ।
कतिपय मिडियाका समाचार र त्यहाँ सुवास कर्माचार्यलाई दिइएको स्थान हेर्दा लाग्छ- उनको एमाले परित्याग माधव नेपालहरूको एमालेबाट पलायन भएको भन्दा ठूलो घटना हो । अनि सुवास कर्माचार्यजस्ता विलक्षण प्रतिभालाई एमालेले घोर अन्याय गरेकाले देशभरी प्रभाव पार्न सकिन्छ जसरी मिडियामा स्पेस दिइरहेका छन् ।
वास्तविकता के हो त ? जिल्लाका एउटा नेताले पार्टी छाड्दा भएको राष्ट्रिय चर्चाले एकोहोरो स्थान पाएपछि केही बोल्नैपर्ने भयो । कर्माचार्यको बारेमा एकपटक सामान्य चर्चा गरौं ।
के सुवास कर्माचार्य साँच्चिकै पीडित हुन् ?
पनौती काभ्रे पुर्ख्यौली थातथलो भएका कर्मचार्य २०३७/३८ सालदेखि नै सिन्धुपाल्चोकमा विद्यार्थी राजनीतिमा सक्रिय थिए। अनेरास्ववियु सिन्धुपाल्चोकको झन्डामुनि गोलबद्ध हुँदै वामपन्थी आन्दोलनमा होमिएका थिए ।
२०४९ सालमा डम्बरबहादुर अर्याल सचिव उनी उपसचिव भए। त्यो बेलामा एमालेमा बहुपदीय व्यवस्था थिएन । सचिव नै पार्टी प्रमुख हुन्थे भने उपसचिव दोस्रो व्यक्ति । अरु पदाधिकारी हुँदैन थिए ।
उनी सदरमुकामको वासिन्दा । डम्बर अर्याल मेलम्चीको बासिन्दा । उपसचिव भए पनि सचिवको काम धेरै जसो उनले नै गरे । पार्टी बैठक, भेला, र प्रशिक्षण, औपचारिक कार्यक्रममा अध्यक्षता ग्रहण गर्ने काम डम्बर अर्यालबाट हुन्थ्यो । अरु सांगठानिक तथा राजनीतिक काम उनैले गर्थे ।
जसले चारपटक संसदीय टिकट (दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा) मा पायो त्यो व्यक्ति अन्यायमा परेको मान्ने हो भने एमालेले सधैँ सुवासलाई मात्र अवसर दिएर अन्याय गरेकै हो ।
२०५७ देखि २०६६ पुस सम्म करिव १० वर्ष उनी जिल्ला सचिव भए अर्थात उनी सिन्धुपाल्चोक एमालेको प्रमुख नेता बने । उनको हालिमुहाली त मज्जाले नै चल्यो । उनकै कार्यकार्लमा कयौं कार्यकर्ताहरू माओवादीको अपहरणमा परे । गाउँमा बस्न नसकेर विस्थापित भए । केहीको त हत्या समेत गर्यो उनले खासै कार्यकर्ताको संरक्षणसमेत गर्न सकेनन् । बरु आफ्नो संरक्षणमा उनले पदलाई प्रयोग गरे ।
अहिले आफू जिल्लाकै सहकर्मी नेता कमरेडहरूबाट अन्याय र पेलानमा परेको भनेर राष्ट्रिय चर्चा कमाइरहेका कर्माचार्यले आफू पार्टीको हालीमुहालीमा रहको बेला सहकर्मीमाथि कतिसम्म अत्याचार र दमन गर्थे भन्ने केही उदाहरण हेरौं ।
१. सुवास कर्मचार्यको दमनचक्र यति चलेको थियो कि २०६० को सुरूआतमा पार्टीमा जिम्मेवारी नपाएर सरेश नेपालले झन्डै झन्डै पार्टी छाड्नु परेको थियो ।
२. सुवासकै समकालीन नेता बालकृष्ण देउजाले त केही समय एनजीओमा समेत काम गर्न जानुपरेको थियो । तीनै देउजाले एक वर्षअघि प्रचण्ड माधव समूहले नेकपा विभाजन गरेपछि सुवास कर्माचार्यहरू पार्टीविरुद्ध लागेको संकटको बेला सिन्धुपाल्चोकको अध्यक्ष बनेर पार्टी जोगाए ।
३. २०६६ सालमा हस्त पण्डितले पुस्ता हस्तान्तरणको एजेन्डा लिएर जिल्ला अधिवेशनमा गैररहदा, हस्त पण्डित सर्वसम्मत अध्यक्ष हुने लगभग पक्का भयो । जब आफ्नो दाल नगल्ने देखे त्यसपछि उनले हस्तलाई सर्वसम्मत हुन दिएनन् । किनकी उनी अरुको अस्तित्व स्वीकार नगर्ने असहिष्णु नेता हुन् ।
४. ३ वर्ष जिल्ला अध्यक्ष भएका हस्त पण्डितलाई उनले विभिन्न बहानामा सहज ढंगले काम गर्न दिएनन् । किनकी उनको हालिमुहाली चल्न पाएन ।
५. पछि आफैले जे भने पनि मान्ने एसम्यान खोज्ने क्रममा उनले झम्क नेपाललाई अध्यक्ष बनाए । झम्क नेपाल अहिलेसम्म अध्यक्ष छन् तर अध्यक्ष हुँ भन्ने भान नेपालले अहिलेसम्म दिन सकेका छैनन् र सुवासको छायामा नै रमाइरहेका छन् ।
६. स्थानीय तहको निर्वाचन नभएको भए, होमनारायण श्रेष्ठहरूले टाउको उठाउन पाउथेनन् । जुगल गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष होमनारायण जस्ता नेतालाई उनले आफ्नो प्रभाव रहेको जिल्ला कमिटीमा १२५ भित्र पनि अटाउन दिएनन् ।
७. सुवास कर्माचार्यलाई अहिले मिडियाले हिरो बनाउने क्रममा एमालेले अन्याय गरेको र अवसर नदिएको भनिरहेका छन् । अन्याय र अवसर नदिएको भन्ने परिभाषा अब सायद बदल्ने होला ।
जसले चारपटक संसदीय टिकट (दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा) मा पायो त्यो व्यक्ति अन्यायमा परेको मान्ने हो भने एमालेले सधैँ सुवासलाई मात्र अवसर दिएर अन्याय गरेकै हो ।
२०५१ देखि २०७० सम्म करीव २० वर्ष सुवासले मात्र टिकट पाए जसमा एकपटक २०५६ मा जिते भने बाँकी तीन चुनावमा सानदार पराजय भोगे । सधैँ आफैँले टिकट पाउँदा आफू सरहका कमरेडहरूमाथि अन्याय भएको उनले कहिल्यै महसुस गरेनन् । बरु म टिकटका लागि जन्मेको हुँ, अरु चाहिँ मलाई नेता बनाउनका लागिमात्र हुन् भन्ने सोचे ।
८. सुवास कर्माचार्यले आफूलाई चुनौती हुन सक्ने कार्यकर्तालाई कोपिलामै कसरी निमोठ्छन् भन्ने दुईवटा उदाहरणमात्र काफी छन् । २०५९ सालमाा अनेरास्ववियुको जिल्ला सम्मेलन लामोसाँघुमा हुँदै थियो । जिल्ला अध्यक्ष हुने पक्कापक्की थियो प्रमोद न्यौपानको । उनी सम्मेलन आयोजक कमिटीका संयोजक थिए । तर, सुवासले उनलाई अध्यक्ष नै बन्न दिएनन् । तत्कालीन समयमा सिन्धु विद्यार्थी आन्दोलनको परिदृष्यमा समेत नरहेका विष्णुमणि आचार्यलाई अध्यक्ष बनाए । प्रमोद न्यौपानेले राजनीति नै छोडे । अहिले पत्रकारितामा मज्जाले जमेका छन् ।
अर्को उदाहरण हुन् दीपक सुवेदी । अखिलको १५ औं राष्ट्रिय सम्मेलनमा जिल्लाबाट प्रतिनिधि अनि रापसका उम्मेदवार थिए दीपक सुवेदी । उनले राजेन्द्र राईलाई होइन भक्त गुरुङलाई अध्यक्ष बनाउनुपर्छ भनेर लागे । त्यसको बदलामा दीपकलाई रापस हराउन सुवास कर्माचार्यले उर्दी जारी गरे । र, उनलाई आजको दिनसम्म पछिसम्म पार्टीको जिम्मेवारीबाट वञ्चित गरियो ।
हो, सुवास कर्मचार्यजत्तिको राजनीति योगदान गरेको मान्छे पार्टीको केन्द्रीय सदस्य बन्नुपथ्र्यो । संख्या कम आकांक्षी धेरै हुँदा उनी बन्न सकेनन् । उच्च तहका नेताहरूले ब्यवस्थापन गर्ने वचन समेत दिएका थिए । त्यो चिज विस्तारै कार्यान्वयन हुने थियो । तर, उनले उक्त पद हाताहाती नै खोजेको हुँदा तत्काल नपाएका हुन् । ४०औं वर्ष राजनीति गरेको मान्छेले यस्तो कुरा त बुझ्नुपर्ने हो ।
तर, अर्को कुरा के पनि सत्य हो भने सुवासभन्दा धेरै सिनियर नेताहरू आजसम्म केन्द्रीय कमिटीमा नपुगेरै पनि एमालेको राजनीतिमा उनीभन्दा बफादार भएर लागेकै छन् । जिल्लाकै कुरा गर्ने हो भने उनीभन्दा जुनियरलाई पार्टीले माथि लगेको पनि छैन ।
अमृत बोहरा, अरुण नेपाल, शेरबहादुर तामाङ पहिले देखि नै केन्द्रमा थिए । सरेश नेपाल केन्द्रीय लेखा आयोगको सदस्य थिए । उनले कसको रिस गरेका हुन् ? के यी व्यक्ति सुवासभन्दा कम हुन् ? उनीहरूलाई नबनाएर सुवासलाई बनाउनुपर्ने थियो ? यस्ता तर्कको कुनै अर्थ छैन ।
उनले झै पद नपाएको भन्दै सिन्धपाल्चोक एमालेका होनहार नेता, अग्रज व्यक्तिहरू जगन्नाथ आचार्य, मेघनाथ पौडेल, धर्मकृष्ण श्रेष्ठ, माधव पाण्डे आदिले पार्टी छाडेका भए सुवास कर्माचार्यले न त सांसदको चुनाव जित्थे न त पार्टीको नेतृत्व पाउँथे ।
संसदीय चुनावको टिकट होस् वा पार्टीको पद सधैँ मैलेमात्र पाउनुपर्छ भन्ने उनको सोच नै अहिलेको आत्मघाती विद्रोहको कारक हो । यस्तो प्रवृतिको विसर्जन एकदिन अनिवार्य नै हुन्छ । सुवास कर्माचार्यले उपयुक्त समयमा विसर्जनवादको बाटो अँगाले । कम्तीमा केन्द्रीय सदस्य पद नपाएकै कारण उनले पार्टी छाडेको भनेर सिन्धुपाल्चोकका कार्यकर्ता र जनतामा यो कुरा स्थापित भयो । एउटा पदका लागि पार्टी छाड्ने व्यक्तिलाई अहिलेसम्म नेता मानेर हिँडिएछ भनेर उनको पछि लागेकाहरूलाई पश्चाताप गर्ने मौका पनि दिएका छन् कर्माचार्यले ।
र, अन्त्यमा
यो समय बितेर जानेछ । निजले एमाले पार्टी छोडे भनेर कोहि उत्पातै खुसी र कोही चाहिँ लौ बर्बादै हुने भयो भनेर दुःखी हुनु जरुरी छैन । पद, प्रतिष्ठा र पावरबिना बाँच्नै नसक्ने एउटा पात्रको आत्मघाती विद्रोहले नकारात्मक भने पनि योगदान नै हुनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै- हिजो प्रचण्ड माधवहरूले डढेलो लगाएर हिँडेपछि पलाएका पालुवा नै भोलिको एमालेका वास्तविक शक्ति हुन् । पटक-पटक अवसर दिगएर सुवास कर्माचार्यमाथि पार्टीले जुन अन्याय गरेको थियो, अब त्यसबाट उनी मुक्त भएका छन् र सिन्धुको राजनीतिक आकाशमा नयाँ तारा उदाउनेछन् ।
आउनेलाई स्वागत, जानेलाई बिदाई । राजनीतिमा यस्तै हो ।
(देउजा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य हुन् ।)
कुरा प्रष्ट भयो । जुन कमिटिको चुनाव हुन्छ, त्यसमा उसैको हालिमुहाली हुनु पर्ने मनोवृत्ति अब हट्नुपर्छ । आफु बाँचुञ्जेल मालिक अरु सब दास हुनुपर्छ भन्ने स्वभावका मानिसहरू अब कि सच्चिनुपर्छ कि किनारा लाग्नुपर्छ ।