माओवादी नेता पुनले भेटे चिनियाँ उपमन्त्री झाओलाई
काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका छन् ।
उपचारका क्रममा चीनको सेनजेनमा रहेका उनले काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन चलिरहेका बेला उपमन्त्री झाओबीच भेटवार्ता गरेका हुन् ।
स्वास्थ्यका कारण देखाउँदै महाधिवेशनमा सहभागी नभएका पुनले झाओ नेतृत्व टोलसँग भेटवार्ता गरेका हुन् ।
झाओको टोलीसँग पुनको भेटवार्ता हुँदा पुनकी पत्नी पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा कुराकानी गरेको बताएका छन् ।
पुनका अनुसार नेपालको समसामयीक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेका छन् ।
सो भेटवार्ताका क्रममा पुनले अहिलेको पाँच दलीय गठबन्धन आगामी चुनावसम्म जाने र त्यसपछि पनि सहकार्य गर्न तयार रहेको बताएका छन् ।
वंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण करिब ३ महिनादेखि पुन उपचाररत छन् ।
जण्डिस दोहोरिएपछि नेता पुन १३ असोज १३ मा बैंककतर्फ लागेका थिए ।
उनको १० मंसिरदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।