चीनलगायतका देशमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीको समस्या समाधान गर्नका लागि फाइल मन्त्रिपरिषद्मा
काठमाडौं । कोभिड–१९ को महामारीका कारण नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट मन्त्री देवेन्द्र पौडेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेश गरेका हुन् ।
चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पौडेलले जानकारी दिए । यसअघि चीनलगायत देशमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कुटनैतिक पहल गरिएको भए पनि ठोस नतिजा आउन सकेको छैन् ।
‘कोभिडका कारण नेपाल फर्किएका एमबीबीएस अध्ययन गरेका विद्यार्थीको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं । प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौं । समितिमा छलफलभएपछि चाँडै टुंगो लाग्छ ।’ मन्त्री पौडेले भने । सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तराष्ट्रिय मान्यतामासमेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो ।
कोभिड–१९ महामारीका बेला नेपाल आएका एमबीबीएस विद्यार्थी अध्ययन पूरा गर्नका लागि सोही देशबाट अनुमति पाएका छैनन् । यस्तै, विभिन्न मेडिकल कलेजले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिए । विद्यार्थीबाट रकम बढी लिएका मेडिकल कलेजको अनुगमन तथा आवश्यक प्रमाण जम्मा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई निर्देशन दिएको मन्त्री पौडेलले बताए ।