अनुदानको मलमा काजोबजारी गर्न खोज्ने दुईजना पक्राउ
रूपन्देही । किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्ने कपिलवस्तुका दुई जनालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ।
प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका-३ खरेन्द्रपुरका विवश क्षेत्री र सोही ठाउँका केशर महतरा छन् ।
उनीहरुले मंगलबार राति सहकारीका लागि आएको अनुदानको ३५ बोरा युरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि ल्याउँदै गर्दा प्यूठान-८ बाग्दुलाबाट मलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लु १ च ६१७१ नम्बरको पिकअप जिपमा मल लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको बिक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् ।