कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै


काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई नेपाली कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरुकै नीतिको जगमा लोकतान्त्रिक परिवर्तन सम्भव भएको उल्लेख गरेका छन् ।