कर्णालीका स्काउट मास्टरले भेटे राष्ट्रपति, स्काउटबारे अदालतको पछिल्लो आदेशको सम्मान गर्ने भनाइ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल स्काउटका बीटीसी र पीटीसी तालिमप्राप्त कर्णाली प्रदेशका स्काउट मास्टरले विहीबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । ती स्काउटकर्मीले नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा उक्त तालिम लिएका थिए ।
राष्ट्रपति भण्डारीले विद्यार्थीलाई बधाई दिँदै देश विकासको यात्रामा सकारात्मक योगदान दिने र युवालाई उत्साहित बनाउने काममा सफलता मिलोस् भनी शुभकामना दिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।
राष्ट्रपति भण्डारीले नेपाल स्काउटको नेतृत्वसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पछिल्लो समयमा गरेको फैसलाको आफूले सम्मान गर्ने बताएकी छन् । अदालतले भण्डारी नेतृत्वको तदर्थ समितिलाई पुनर्वहाली गरेको थियो ।
सो अवसरमा स्काउट तदर्थ समितिका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका गतिविधि र भावी कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारले आफूलाई पदबाट हटाए पनि अदालतको आदेशबाट पुनःबहाली भइ पुनः सक्रियतापूर्वक काम थालेको अवगत गराएका थिए ।
यही पुस ९ गतेदेखि १४ गतेसम्म भएको उक्त तालिममा कर्णाली प्रदेशका ७९ स्थानीय तहबाट १८० पुरुष र ६१ महिला गरी २४१ जनाको सहभागिता थियो ।