कांग्रेसकी कान्छी केन्द्रीय सदस्यलाई प्रश्न– समावेशी कोटाबाट कतिन्जेल नेता भइरहने ?
नेपालकै पुरानो राजनीतिक दलमध्येको एक नेपाली कांग्रेसको केन्द्रीय समितिमा यसपटक पाकोदेखि युवापुस्तासम्मको दरिलो उपस्थिति छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित एक सय ३४ सदस्यीय केन्द्रीय समितिको सबैभन्दा कान्छी केन्द्रीय सदस्य हुन्, रुपा विक ।
दलित महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित रुपा पाको पार्टीको कान्छी केन्द्रीय सदस्य बन्न पाउँदा गौरव गर्छिन् । केन्द्रीय सदस्यका रुपमा आफूलाई स्थापित गर्ने अवसरसँगै दलित समुदायको हकअधिकारबारे उठाएका एजेण्डालाई कार्यान्वयन गराउनुपर्ने चुनौती पनि रुपासामु छ । यसै सन्दर्भमा उनीसँग नेपाल प्रेसका लागि केशव भुलले गरेको कुराकानी, नेपाल टकमा ।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा तपाईं नै कान्छी केन्द्रीय सदस्य हो त ?
अहिलेसम्म मैले पाएको जानकारीअनुसार केन्द्रीय समितिमा म नै कम उमेरको छु । पहिलो केन्द्रीय समितिको बैठकमा धेरैजनाले तपाईँ नै कान्छी हुनुहुँदो रहेछ भन्नुभयो । ३५ वर्षकै उमेरमा कांग्रेसजस्तो पाको पार्टीको केन्द्रीय सदस्य बन्न पाउँदा खुसी लागेको छ ।
पाको पार्टीमा त धेरै पाका नेताहरु पनि छन् । तपाईँ चाहिँ यति चाँडै कसरी केन्द्रमा आइपुग्नुभयो ?
मेरो पारिवारिक पृष्ठभूमि नै कांग्रेस हो । म जन्मजात नै कांग्रेसी हुँ भनौं न । मेरो हजुरबुवा पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । बुवा पनि राजनीति बुझेको व्यक्ति हुनुहुन्छ । उहाँ पूर्व गाविस अध्यक्षसमेत हुनुहुन्थ्यो । पारिवारिक पृष्ठभूमि कांग्रेस छँदै थियो, त्यसमाथि बीपी कोइरालाका पुस्तक र उहाँबारेका विचारसमेत पढ्ने अवसर पाएँ । बीपीको विचारले मलाई सक्रिय राजनीतिमा लाग्न प्रेरणा दियो । त्यसैले नेपाल विद्यार्थी संघ, नेपाल दलित संघलगायतका संस्थाबाट म सक्रिय राजनीतिमा होमिए ।
कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा पनि म प्रतिनिधिको रुपमा सहभागी भएँ । अघिल्लो पटक केन्द्रीय सदस्यमा पराजित भए पनि यसपटक निर्वाचित भएको छु । निरन्तरको सक्रियता र नेता कार्यकर्ताको मूल्यांकनबाट नै म केन्द्रीय सदस्य बन्न सफल भएको हुँ ।
तपाईँको राजनीतिक सफलतामा परिवारको कस्तो सहयोग रह्यो त ?
परिवारको सहयोगबिना त राजनीति गर्न सम्भव नै हुँदैन । मेरो परिवारबाट मलाई पर्याप्त सहयोग छ । मेरो बुवाले नै मलाई राजनीतिक गतिविधिमा सक्रिय गारउनुभएको हो । हजुरबुवा र बुवाकै पहिचानले राजनीतिमा प्रवेश गर्न मलाई सजिलो भयो । मेरो राजनीतिको मुख्य धरातल नेपाल दलित संघ हो । त्यहाँ परिवार र समुदायको ठूलो सहयोग मैले पाएको छु ।
अर्कोतिर विद्यालय शिक्षा पूरा गरेर क्याम्पस पढ्न थालेपछि मैले राजनीतिमा बढी समय दिएँ । स्कुलको पढाइमा म सधै प्रथम नै हुन्थें । जिल्लाबाटै स्नातकसम्म अध्ययन गरे पनि मास्टर्स पढ्न मात्रै म काठमाडौं आएकी हँु । पढ्दै राजनीति गर्ने कुरामा परिवारको सहयोग नभएको भए धेरै नै गाह्रो हुन्थ्यो ।
सांगठनिक जिम्मेवारी अहिलेसम्म के–के प्राप्त गर्नुभएको छ ?
सांगठनिक हिसाबले म गाउँबाटै अघि बढेको हो । गाउँदेखि नै विद्यार्थी संघ, शिक्षक संघ, दलित संघ सबैमा सामान्य जिम्मेवारीमा रहेर पनि काम गरें । गाउँ र जिल्लाकेन्द्रीत राजनीतिमै म बढी सक्रिय रहें । १२ औं महाधिवेशनमा प्रतिनिधि भएपछि मेरो राष्ट्रिय राजनीतिको यात्रा सुरु भयो ।
१३ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बने पनि जित्न सकिनँ । यसपटक सभापति शेरबहादुर देउवाको प्यानलबाट दलित महिलातर्फ निर्वाचित भएँ । मेरो विचारमा नेपालमा सबैभन्दा समावेशी पार्टी नै कांग्रेस हो । अन्य पार्टीको तुलनामा कांग्रेसले समावेशी प्रतिनिधित्वको अवसर सुनिश्चित गरेको छ । मेरो अनुभवमा कांग्रेसको राजनीतिमा सबै वर्ग, जात र क्षेत्रको व्यक्तिलाई अवसर छ । यद्यपि प्यानल वा विचार समूहको सहयोग चै कांग्रेसमा बढी नै चाहिने रहेछ ।
कांग्रेसको केन्द्रीय राजनीतिमा दलित समुदायको महिला नेतृको भूमिका कस्तो रहन्छ त ?
कांग्रेसले १४ औं महाधिवेशनबाट पार्टीलाई समावेशी बनाउन सुरु गरेको छ । अहिलेको अवस्थामा अझै सुधार गरेर लैजानुपर्ने हुन्छ । पार्टीभित्र चुनाव जित्नुमात्रै ठूलो कुरा होइन । पार्टीले अगाडि सारेका एजेण्डा र कार्यक्रमलाई सफल बनाउनु पनि हाम्रो जिम्मेवारी हो ।
कांग्रेस केन्द्रीय सदस्य भएकोले सबै राष्ट्रिय विषयमा मेरो सक्रिय भूमिका रहनेछ । त्यसमाथि दलित समुदायको महिला प्रतिनिधि भएकाले त्यस समुदायको उत्थान र अधिकारका लागि अझ बढी खटिनेछु । कांग्रेसमा अहिले परिपक्व नेतृत्व आएको छ । केन्द्रीय समितिमा उल्लेख्य युवा उपस्थिति पनि रहेको छ ।
त्यसैले अहिलेको कार्य समितिले धेरै राम्रो काम गरेर देखाउनु पर्नेछ । विशेषतः दलितहरुको हक अधिकारका लागि पार्टीभित्र र बाहिरको मञ्चमा मैले आफ्नो भूमिका निर्वाह गर्नेछु । कांग्रेसप्रति आकर्षण बढ्ने नीति र कार्यक्रम लिएर संगठनमा सक्रिय रहनेछु ।
कांग्रेसमा समावेशिताको नाममा सधैं एकै व्यक्तिले अवसर पाए भन्ने आरोप छ नि ?
समावेशी र आरक्षणका विषयमा मेरो फरक मत छ । यसको सदुपयोग भएको छैन । कांग्रेसमा मात्रै होइन सबै पार्टीमा उस्तै समस्या छ । आरक्षणको उपयोग बढीमा दुई कार्यकालका लागि हुनुपर्छ । दुईपटकभन्दा बढी एउटै पदमा आरक्षण खोज्नुहुँदैन । त्यो पनि बढीमा भन्दैछु ।
सकेसम्म त आरक्षणबाट नयाँ व्यक्तिले अवसर पाउनुपर्छ । कतिपय अवस्थामा पार्टीभित्र बाध्यतापूर्ण अवस्थाको पनि सिर्जना गरिन्छ । यहींकारण यसअघि आरक्षणमा सधै एउटै व्यक्तिले अवसर पाएको आरोप पनि लाग्दै आयो । अब यसबारे सोच्नुपर्छ । पार्टीले नै नीति बनाएर समावेशी आरक्षण कोटामा एकै व्यक्तिले बारम्बार अवसर पाउने अवस्था अन्त्य गराउनुपर्छ । त्यसका लागि म पनि आवाज उठाउनेछु ।
कांग्रेसमा अहिले समावेशी सहभागिता पर्याप्त छ त ?
अरु पार्टीको तुलनामा त कांग्रेस नै समावेशी छ । तर यो पर्याप्त हो म भन्दिनँ । राजनीतिक दलभित्र जति विविधता हुन्छ त्यति नै समाजको प्रतिबिम्ब देखिन्छ । कांग्रेसमा अहिले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ । समयक्रममा यसलाई ५० कम्तिमा प्रतिशत पुर्याउनैपर्छ ।
दलित समुदायको कुरा गर्दा ६७ वर्षअघि धनमानसिंह परियार कांग्रेसको महामन्त्री हुनुहुन्थ्यो । झण्डै ७ दशकपछि जीवन परियार दलित समुदायबाट कांग्रेसको पदाधिकारी बन्न सफल हुनुभएको छ । यसलाई सकरात्मक उपलब्धीका लिनुपर्छ । संविधानले नै समावेशी सहभागिता सुनिश्चित गरेका वर्ग, क्षेत्र र जातिलाई जनसंख्याकै आधारमा प्रतिनिधित्व सुनिश्चत गराउन कांग्रेसले आफूलाई अझ बढी समावेशी बनायो भने अझ राम्रो हुन्छ ।
जुन समुदायबाट प्रतिनिधित्व गर्नुभएको छ, यो समुदायले तपाईंबाट अब के अपेक्षा गर्ने ?
म एउटा सामान्य परिवारको व्यक्ति हो । यहाँ आउदाँसम्म धेरै संघर्ष गरेको छु । त्यसैले म दलित समुदायको तल्लो तहका महिलाको मुद्दालाई राजनीतिसँग जोडेर काम गर्नेछु । दलित महिलाहरु सबैभन्दा बढी पीडित रहेका छन् । उनीहरुलाई समान अधिकार र न्याय दिलाउन कांग्रेसबाट गर्न सकिने योगदान गराउन मैले काम गर्नेछु ।
प्रतिनिधित्व सुनिश्चित गरिए पनि राजनीतिक दलभित्र अझै विभेद कायम छ भनिन्छ नि ?
राजनीतिक दलभित्र अहिले पनि संकुचन त कायमै छ । राजनीतिक दलमा मात्रै होइन समाजका हरेक क्षेत्रमा वर्गीय वा जातीय विभेद पूर्ण रुपमा हटिसकेको छैन । कांग्रेसमा तुलनात्मक रुपमा कम विभेद छ ।
लोकतान्त्रिक पार्टी भएकाले कांग्रेसभित्र सबैले सम्मानित महसुस गर्ने वातावरण पनि छ । दलितको सवालमा कांग्रेस विशेष रुपमा सजग पनि छ । कांग्रेस दलितमैत्री भएकै कारणले नेपालका अधिकांश दलित जनताले कांग्रेसलाई समर्थन गर्ने अवस्था बन्दैछ ।
राजनीतिमा स्थापित हुन दलितका एजेण्डा बोक्ने तर पदमा पुगेपछि बिर्सने परिपाटी छ । तपाईबाट पनि त्यस्तै हुने त होइन ?
म जुन धरातलबाट आएकी छु, त्यो नै मेरो तागत हो । राजनीतिमा जसले आफ्नो धरातल बिर्सन्छ उसले जनताको साथ पनि गुमाउँछ । दलित समुदायको एजेण्डा नेपाली राजनीतिका लागि गहन विषय हो । राजनीतिक परिवर्तनमा योगदान गरेका दलितहरु सधै मूल प्रवाहबाट बञ्चित रहेका छन् ।
कुनै न कुनै प्रकारको विभेद वा हिंसाको सिकार बन्नुपरेको छ । संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि पनि हामीले सघंर्ष गर्नुपरेको छ । कांग्रेसमात्रै नभएर सबै दलका नेताहरुले यो विषयमा गम्भीर हुन जरुरी छ । मेरो प्रतिवद्धता यही हुन्छ कि, राजनीतिमा दलित समुदायको एजेण्डालाई मैले भर्याङ मात्रै बनाउने छैन । म आफैं एक दलित महिला भएकोले जुनसुकै भूमिकामा रहँदा पनि दलितहरुको एजेण्डा स्थापित गर्न भूमिका निर्बाह गर्छु ।