राष्ट्रियसभाको टिकट बाँड्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो २ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
बैठकमा राष्ट्रियसभाको निर्वाचनमा हुने गठबन्धन, पार्टीका तर्फबाट उम्मेदवार छनोट, संसदीय समिति लगायतका विषयमा छलफल हुने बताइएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस १९ गते मंगलबार मनोनयन दर्ताको कार्यसूची छ ।
केन्द्रीय समिति बैठक बोलाउनुअघि सभापति देउवाले शनिबार र आइतबार गरी २ चरणमा १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
कांग्रेस विधानमा राष्ट्रियसभा सदस्यको उम्मेदवार संसदीय समितिबाट छनोट गर्नुपर्ने भएपनि समय अभावका कारण केन्द्रीय समिति बैठकबाट म्याण्डेट लिएर शीर्ष तहबाटै निर्णय गर्ने तयारी सभापति देउवाले गरेका छन् ।
यो पनि पढ्नुहोस् : राष्ट्रियसभा निर्वाचन : टिकट बाँड्न कांग्रेसले बनाउला संसदीय समिति ?