राष्ट्रियसभा निर्वाचन : कुन प्रदेशबाट कति जना निर्वाचित हुन्छन् ? – Nepal Press

राष्ट्रियसभा निर्वाचन : कुन प्रदेशबाट कति जना निर्वाचित हुन्छन् ?

कैलाली । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सातै प्रदेशमा तयारी तीव्र गतिमा अघि बढिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

सबै प्रदेशमा मतदाता नामावली प्रकाशित समेत भइसकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले जानकारी दिए ।

उनका अनुसार शनिवार प्रकाशित गरिएको मतदाता नामावलीमा कसैको दाबी विरोध परेन ।

उनले भने – हामी तीव्र रूपले तयरीमा छौँ । निर्वाचन अधिकृत तोकिसकिएको छ । मतदान केन्द्र र मतदान स्थल समेत तोकिसकिएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने सामग्री समेत सातै प्रदेशमा आयोगले पठाइसकेको उनले बताए ।
कुन प्रदेशमा कति निर्वाचित हुने ?

१२ गते सातै प्रदेशमा विभिन्न कोटामा १९ जना निर्वाचित हुने छन् ।

महिलामा ७ जना, दलित ३ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट २ जना र अन्यमा ७ जना गरी १९ जना निर्वाचित हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रदेश १ बाट महिलामा १ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट १ जना र अन्यमा १ जना गरी ३ जना निर्वाचित हुने छन् ।

प्रदेश २ मा र बागमतीमा समान महिलामा १/१ जना र अन्यमा १ /१ जना गरी २ /२जना निर्वाचित हुने छन् ।

गण्डकी र लुम्बिनीमा समान महिलामा १/१ जना, दलित १/१ जना, र अन्यमा १/१ जना गरी ३/३ जना निर्वाचित हुने छन् ।

कर्णाली प्रदेशमा महिलामा १ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट १ जना र अन्यमा १ जना गरी ३ जना तथा सुदूरपश्चिम प्रदेशबाट महिलामा १ जना, दलितमा १ जना र अन्यमा १ जना गरी ३ जना निर्वाचित हुने छन् ।

मुलुकका ५३२ प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखहरुले १९ पदको लागि १२ गते मतदान गर्ने छन् ।

सात प्रदेशका ८ मतदान स्थलमा १४ मतदान केन्द्र तयार गरिएको छ ।

कहाँ, कति छन् मतदाता ?

राष्ट्रिय सभाको निर्वाचनमा सबै भन्दा धेरै प्रदेश २ मा मतदाता रहेका छन् । प्रदेश २ मा प्रदेश सभाका १०४ र स्थानीय तहका २६८ जना गरी ३७२ जनाले मतदान गर्ने छन् । त्यसपछि प्रदेश १ मा बढी मतदाता रहेका छन् । प्रदेश १ मा प्रदेश सभाका ९२ र स्थानीय तहका २७२ जना गरी ३६४ जनाले मतदान गर्ने छन् ।

बागमती प्रदेशमा प्रदेश सभाका १०९ र स्थानीय तहका २३८ जना गरी ३४६ जनाले मतदान गर्ने छन् । लुम्बिनी प्रदेशमा प्रदेश सभाका ८१ र स्थानीय तहका २१५ जना गरी २९६ जनाले मतदान गर्ने छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाका ५२ र स्थानीय तहका १७५ जना गरी २२७ जनाले मतदान गर्ने छन् । सबै भन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । यहाँ प्रदेश सभाका ३५ र स्थानीय तहका १५६ जना गरी १९१ जनाले मतदान गर्ने छन् ।

कहाँ-कहाँ छन् मतदान केन्द्र ?

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेश सभा सदस्यको लागि वाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

प्रदेश २ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरा तोकिएको छ ।

यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान स्थल गरिएको छ ।


प्रतिक्रिया

One thought on “राष्ट्रियसभा निर्वाचन : कुन प्रदेशबाट कति जना निर्वाचित हुन्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर