हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन – Nepal Press

हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक हेलिकप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन ।

पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो । ‘चौरीसँगै हिउँ पहिरोले बगायो । तर, ओढर भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौं । हेलिकप्टरबाट निकालिदिनुु भन्दै शनिवार बिहान फोनबाट आग्रह गरेको मिक्वाखोला गाउँपालिका–५ का वडा अध्यक्ष डण्डु शेर्पाले बताए । समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन् ।

शनिवार बिहान पनि हेलिकोप्टरमार्फत उनीहरूको उद्धार प्रयास भएको थियो । तर, कुन ठाउँमा बसेको छन् मेसो नपाएपछि हेलिकप्टर त्यसै सुकेटार विमानस्थल फर्केको थियो । आइतबार बिहान पनि उद्धारका लागि दुई पटक सुकेटरबाट पापुङको लोनाकमा हेलिकप्टर गएको थियो ।

आज पनि उनीहरू बसेको ठाउँ पत्ता नलागेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । फोनसम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए । धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने पाण्डेको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर