‘एउटा अवसर खेर गयो, त्यो भिडियो हेर्दा रुन मन लाग्छ’
काठमाडौँ– नेपाली यु १९ महिला फुटबल टिमकी कप्तान हुन् अञ्जना रानामगर । हालै बंगलादेशमा आयाजित यु–१९ महिला साफ च्याम्पियनसीप खेलेर फर्केकी छिन्- उनी ।
नेपाल उपाधिको लक्ष्य बोकेर बंगलादेश पुगेको थियो । तर, फाइनलमै पुग्न सकेन । नेपालका लागि उही चिर प्रतिद्वन्द्वी भारत नै वाधक बनिदियो । भारतसँगको हार सम्झेर अहिले पनि चुक्चुकाइरहेकी छिन् ।
नेपाली राष्ट्रिय महिला टिमको समेत बैकल्पिक गोलकिपर अञ्जनाका लागि यो म्याच व्यक्तिगरुपमा महत्वपूर्ण थियो । यसकारण कि उनी उमेर समूहको खेलमा अन्तिमपटक खेलिरहेकी थिइन् । अन्तिम प्रतियोगितामा टिमलाई उपाधि दिलाउने सपना उनको अधुरो बनेको छ ।
अञ्जनाले बंगलादेशको अनुभव र आफ्नो फुटबल यात्रा यसरी सुनाइन्ः
उमेरस्तरमा अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता अनि कप्तानको जिम्मेवारी । बंगलादेशमा यु–१९ महिला साफ च्याम्पियनसीप खेल्न जाँदा मेरो दिमागमा मात्र जसरी पनि उपाधि जित्नुपर्छ भन्ने थियो ।
दुई वर्षअघि फाइनल पुगे पनि उपाधि भिडन्तमा बंगलादेशसँगको हार बिर्सिएको थिइनँ । यसपटक नेपाललाई उपाधि दिलाउने अवसर बुझेकी थिएँ । सबै राम्रै भइरहेको थियो । कुनै पनि प्रतिद्वन्द्वी बलियो र जित्नै नसक्ने भन्ने खालका पनि थिएनन् ।
अन्तिम खेलमा भारतसँग बराबरी खेले पनि फाइनल पुग्ने थियौं । त्यसैले गोल गरेनौं भने पनि नखाए पुग्ने अवस्था थियो। हामीले सुरुबाटै धेरै डिफेन्सिभ खेल्न थाल्यौं। पहिलो हाफसम्म बराबरी नै खेलिरहेका थियौं । कोचले चाहिँ तिमीहरु धेरै डिफेन्सीभ भयौं, अलिक अगाडि बढेर पनि खेल भन्दै हुनुहुन्थ्यो । मध्यान्तरमा कोचले अब अट्याकिङ खेल्नुपर्छ भन्नुभयो। तर मैदानमा गएपछि खै के भयो, फेरि सबैजनाले डिफेन्सिभ नै खेल्न थालेछौं। त्यहीबीचमा गोल खायौं। तर हामीले गोल फर्काउन सकेनौं । उपाधि जित्न भनेर गएको हामी फाइनल पनि नपुग्दा दुख त पक्कै लागि हाल्छ ।
मेरो सौभाग्य नै मान्नुपर्छ की मैले नेपालका लागि यु-१४ र यू-१८ राष्ट्रिय टोलीबाट पनि खेल्ने अवसर पाएँ। तर विगतको प्रदर्शन हेर्दा यसपटक नेपाललाई उपाधि दिलाउने गतिलो अवसर खेर गयो भन्ने लागि रहेको छ। लामो समयदेखि नेपालका लागि खेलिरहेकाले यो अनुभव अब सिनियर राष्ट्रिय टोलीमा अझ काम लाग्छ भन्ने लाग्छ। व्यक्तिगतरुपमा मैले गरेको मिहेनत र प्रदर्शनले सबैलाई खुसी र प्रभावित बनाउन सकेकी छु।
भारतसँग त्यो एक गोल खाइसकेपछि मैले मैदानमा जसरी लगातार दवाव सामना गरेको थिएँ, त्यसको भिडियो क्लिप हेर्दा अहिले पनि रुन मन लाग्छ ।
बंगलादेशबाट फर्किएयता धेरै राम्रो प्रतिक्रियाहरु पाइरहेकी छु । धेरै समर्थकहरु कमाएकी छु । सबैले गेम नजिते पनि तिमीले मन जित्यौ भन्नुहुन्छ । त्यो सबै सुन्दा चाहीँ मनदेखि नै खुसी लाग्छ । सिनियर पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र क्रिकेटर सन्दीप लामिछानेले म्यासेज गरेरै बधाई दिनु भएको थियो। अरु थुप्रै म्यासेजहरु आएका थिए। धेरैको मैले रिप्लाई पनि गर्न पाएको छैन। मलाई अरु कुराले भन्दा पनि आफ्नै खेलले अरुको मन जितेर भाइरल भएँ जस्तो लाग्छ । बंगलादेश र भारतसँगको मेरो प्रदर्शन आफैलाई पनि गर्व लाग्छ।
फुटबलर भएपछि सबैको सोचाई स्ट्राइकर बन्ने, धेरै गोल गर्ने भन्ने हुन्छ। फुटबल खेल्न थाल्दा मेरो इच्छा पनि त्यहि थियो । तर मेरो सोचाइभन्दा फरक, कोचले मलाई गोलकिपर बन्नुपर्छ भन्नुभयो। सायद मेरो क्षमता उहाँले बुझ्नु भएको थियो। उहाँ घरमै पुगेर कुरा गर्नु भएको थियो। त्यसपछि मैले पोजिसन ‘चेन्ज’ गरे । अहिले त गोलकिपर हुनुमै गर्व लाग्छ। यसैमा बढी खुसी प्राप्त हुन्छ। मेरो जीवनमा फुटबल खेल्ने र कुन पोजिसनबाट खेल्ने भन्ने दुवै कुरा मेरो आफ्नो निर्णय थिएन। मम्मी र गुरुले गरिदिनु भएको निर्णय वास्तवमै सही रहेछ।
अनेक अभावबीच यहाँसम्म आइपुग्नु पक्कैपनि सामान्य होइन। मैले फुटबल आफ्नै मर्जीले चाहिँ खेल्न सुरु गरेको हैन। मम्मीले गाँउको साथिहरु, दिदीहरु खेलेको देखेर मलाई ट्रेनिङमा पठाउनु भएको हो । परिवारमा त्यसअघि कसैले फुटबल खेलेको नभए पनि गाउँको वातावरणले आमालाई प्रभावित गरेछ सायद। शेरबहादुर दर्लामी सरले सुरुवाती दिनमा ममा फुटबलको भोक जगाउनु भयो। उहाँ बितेपछि चाहिँ नुर राज काफ्ले र चित्र दर्लामी गुरुले मलाई ‘तिखार्न’ थाल्नु भएको हो।
मैले बीचमा, घरको आर्थिक समस्याले गर्दा खेल्दा लगाउने बुट, जर्सी किन्ने पैसा नहुँदा केहि समय खेल्न पनि छोडेकी थिएँ । खेल्दा खुट्टामा घाउ हुन्थ्यो । घरमा कसैले अभाव छ भनेर त देखाउनु हुन्न थियो तर मैले आफैले महसुस गरेर खेल्न छोडीदिएँ। मम्मीलाई पनि अब खेल्दिनँ भनेकी थिएँ ।
तर मम्मीको मलाई फुटबलर बनाउने सपना थियो होला, पैसा सापटी लिएर भए पनि मलाई बुट र जर्सी किनेर ल्याईदिनु भयो। आमाका लागि केही गरेर देखाउनुपर्छ भन्ने लाग्यो। हजुरबुबाले समेत खेल्न हौस्याउनु हुन्थ्यो। अनि म फेरि मैदान फर्किएँ। प्रतिफल पनि देखिहाल्यो– सन् २०१६ को सुरुतिर सर्लाहीमा भएको यू–१४ को छनोटबाट अगाडि बढ्दै मैले राष्ट्रिय टोलीमा स्थान बनाएँ । त्यसको ६/७ महिनापछि म रौतहटको टिममा सामेल हुँदै प्रधानसेनापति कप खेल्न काठमाडौं आएँ ।
त्यतिबेला कोचले मलाई पहिलो रोजाईको गोलकिपरमा राखिदिनु भयो । सेमिफाइनलमा हामी आर्मीसँग प्रतिस्पर्धा गर्दै थियाैं । त्यो खेलमा मैले तीनवटा पेलाल्टी विफल पारेकी थिएँ। त्यो खेलको उत्कृष्ट प्रदर्शनले मलाई राष्ट्रिय टोलीमा आउन धेरै सजिलो भयो । मेहनत पनि त धेरै गरेकी थिएँ । यू–१४ राष्ट्रिय टोलीबाट खेलेको खेलेको एक वर्ष नबित्दै म सिनियर राष्ट्रिय टोलीमा पर्न सफल भए । १४ कटेर १५ वर्ष लाग्नै लाग्दा सिनियर टोलीमा पर्नुको खुसी बेग्लै थियो।
आफुसँगै खेलेका धेरै खेलाडी पछाडी छुटे, एक दुई जना मात्र अहिलेसम्म खेलिरहेका छाैं । खेलेरै परिवारलाई पनि थोरै आर्थिक सहयोग गरिरहेकी छु। बुबा घर बनाउने काम गर्नु हुने भएकाले परिवारको नियमित आयस्रोत पनि छैन ।
सिनियर राष्ट्रिय टिममा अझै पनि दोस्रो रोजाइमा छु । पहिलो रोजाइमा पर्न कडा मेहेनत गरिरहेकी छु । कप्तान नै हुनलाई म भन्दा अनुभवी दिदीहरु हुनुहुन्छ, मेहनत गर्दै जाँदा सिनियर टोलीलाई नेतृत्व गर्ने दिन पनि आउन सक्ला । त्यसैले म आफ्नो सत प्रतिशत दिइरहेकी छु । अहिले चाहिँ म पहिलो रोजाईमा पर्नलाई लागि परेकी छु ।
मेरो जिल्ला रौतहटबाट महिला फुटबलमा बलियो प्रभाव छ। अहिलेको कप्तान रेनुका नगरकोटी हाम्रै जिल्लाको हुनुहुन्छ। अनु लामा, अनिता केसीलगायत चर्चित खेलाडीहरु पनि रौतहटबाटै आउनुभएकाे हाे । यसले मलाई अझ प्रेरित गर्छ र आत्मविश्वास बढाउँछ।
मलाई दुख लाग्ने कुरा चाहीँ, नेपालमा खेलिरहन पाउने वातावरण नै छैन। प्राय यत्तिकै बस्नु पर्छ। विभागीय टिममा आबद्ध भएकाले नियमित प्रशिक्षण त भइरहन्छ तर प्रतियोगिताहरु नियमित नहुँदा त्यसलाई ‘अप्लाई’ गर्ने ठाउँ हुँदैन। कुनै प्रतियोगिता हुने भयो भने जित्नु पर्छ भन्ने हुन्छ, त्यसैअनुसार तयारि पनि गरिन्छ।
महिला फुटबललाई नेपालमा पुरुषलाई जति प्राथामिकता दिइएको छैन । पुरुष हरुको अहिले ‘ए’ डिभिजन लिग भइरहेको छ। उनीहरु ४/५ महिना त्यतै व्यस्त हुन्छन् । हाम्रो लागि पनि त्यस्तै लिगहरु भइदिए हुन्थ्यो जस्तो लाग्छ । घरेलु प्रतियोगिता बाट नै राष्ट्रिय टोलीमा आउने हो । वर्षमा ४/५ वटा प्रतियोगिताहरु भयो भने खेलाडीलाई पनि सहयोग पुग्थ्यो । नयाँ र प्रतिभावान महिला खेलाडीहरु आउन सक्थे। हामी यो कुरा बारम्बार भनिरहेका छाै ।
उमेर धेरै त भएको छैन तर खेल्न थालेपछि पढाईमा खासै राम्रो गर्न सकिनँ। १२ कक्षापछि पढाइ अगाडि बढ्न सकेको छैन। यू-१४मा परेदेखि त खासै पढ्नै मन नै लागेन। अब रोकिएको पढाइलाई निरन्तरता दिन खोज्दैछु ।
(कुराकानीमा आधारित)