‘जोडी नै मृत्युको मुखमा पुगेको देख्नेले पनि परिवारवादको आरोप लगाए’
काठमाडौं । पूर्व मन्त्री एवम नेकपा (माओवादी केन्द्र)की नेता रेखा शर्माले आफूहरुको विगतको योगदान थाहा पाएकाहरुले नै जोडी पार्टीमा पुगेको कुरा उठाउँदा दुःख लागेको बताएकी छन्।
हालै सकिएको माओवादी केन्द्रमा महाधिवेशनबाट दर्जनौं दम्पती जोडी केन्द्रीय सदस्य भएपछि कतिपयले यसलाई परिवारवादको संज्ञा दिएका छन् । यसबारे समाजिक संजाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शर्माले विगतको स्मरण समेत गरेकी छन्।
सांसद समेत रहेकी शर्मा र उनका पति कृष्णध्वज खड्का केन्द्रीय समितिमा परेका छन् । उनीहरु दुवै जना २०५७ देखि नै केन्द्रीय समिति सदस्य थिए ।
‘महान जनयुद्धको प्रक्रिया सुरु भयो,’ शर्माले लेखेकी छिन्, ‘ज्यानको बाजी लगाएर मैदानमा उत्रियो । सानो बच्चालाई मातृत्व विहिन बनाएर एकजना विद्यार्थी संगठनको अध्यक्ष र अर्को महिला संगठनको अध्यक्ष भएर राम्रै भूमिका निर्वाह पनि गरियो । परिणाम स्वरूप पार्टीको २०५७ साल मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा दुवैजना एकै पटक केन्द्रीय सदस्य निर्वाचित भयौं ।’
भावुकता प्रकट गर्दैै उनले थपेकी छिन्, ‘जनयुद्धको आधीबेहरीसँग सामना गर्दै अगाडि बढ्दै जाँदा दुवै जना एकै पटक दुस्मनको कब्जामा पर्यौं । एक वर्षसम्मको निरन्तर यातनामा हात, खुट्टा र करङ भाँचिए, मृत्युको मुखैमा पुगेर संयोगले बाँचेर आइयो । कहिल्यै दुई जना एउटै परिवार भन्ने कुरा उठेन बरु सबैले गर्व गर्ने नै परिस्थिति बन्यो ।’
शर्माले आन्दोलनबाट बनेका जोडीहरुले बदलिएको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे समीक्षा गर्न जरुरी भएको बताएकी छन् । ‘बदलिएको परिवेशमा के गर्ने आन्दोलनबाट बनेका जोडीहरुले अब आगामी दिन हरुमा कसरी अगाडि बढ्ने गम्भीर समीक्षा गर्न जरुरी छ,’ उनको भनाइ छ, ‘यो विषय सम्बन्धित व्यक्तिहरूको मात्रै निजी विषय पक्कै होइन बरु समग्र राजनीतिक आन्दोलन र महिला आन्दोलनको विषय बनाएर समीक्षा गरौं। गर्नु पर्ने के हुन्छ ? के गर्दा आन्दोलनको हित हुन्छ छलफल सकारात्मक ढंगबाट गरौं ।’
‘माओवादी पार्टीमा जोडी केन्द्रीय सदस्याहरुको चर्चा र अनुभूति’ शीर्षकमा यस्तो लेखेकी छिन् शर्मालेः
निरंकुश पञ्चायती व्यवस्थामा स्कूल पढ्दा पढ्दै अखिलमा संगठित भएर जानी नजानी जीवनमा राजनीतिको सुरुवात भयो । सक्रिय हुँदै जाने क्रममा परिवारका सदस्यको इच्छा विपरीत पार्टीको आवश्यकता अनुरुप सक्दैन की भन्दा भन्दै पनि विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने परिस्थिति बन्यो ।
विवाह गर्ने उमेर भयो अन्य क्षेत्र को व्यक्ति सँग विवाह गर्दा यसरी विकास गरेको महिला कार्यकर्ताको संरक्षण र निरन्तरता हुन सक्दैन भनी पार्टीकै प्रस्तावमा पार्टी आन्दोलनमा सक्रिय र जिम्मेवार कमरेड सँग विवाह भयो । पार्टीले भने पुग्ने तत्कालीन परिवेशमा जात भु्गोल कुनै कुराको परवाह गरिएन ।
महान जनयुद्धको प्रक्रिया सुरु भयो । ज्यानको बाजी लगाएर मैदानमा उत्रियो । सानो बच्चालाई मातृत्व विहिन बनाएर एकजना विद्यार्थी संगठनको अध्यक्ष र अर्को महिला संगठनको अध्यक्ष भएर राम्रै भूमिका निर्वाह पनि गरियो । परिणाम स्वरूप पार्टीको २०५७ साल मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा दुवैजना एकै पटक केन्द्रीय सदस्य निर्वाचित भयौं ।
जनयुद्धको आधीबेहरीसँग सामना गर्दै अगाडि बढ्दै जाँदा दुवै जना एकै पटक दुस्मनको कब्जामा पर्यौं । एक वर्षसम्मको निरन्तर यातनामा हात, खुट्टा र करङ भाँचिए, मृत्युको मुखैमा पुगेर संयोगले बाँचेर आइयो । कहिल्यै दुई जना एउटै परिवार भन्ने कुरा उठेन बरु सबैले गर्व गर्ने नै परिस्थिति बन्यो ।
अधिकांश साथी हरुको जीवन कथा फरक होला तर परिवेश यस्तै यस्तै हो। तर आज परिस्थिति बदलिएको छ योगदान भूमिका सबै थाहा हुनेहरुबाट पनि जोडी केन्द्रीय सदस्यको विरोध भाई रहेको छ ।
बदलिएको परिवेशमा के गर्ने आन्दोलनबाट बनेका जोडीहरुले अब आगामी दिन हरुमा कसरी अगाडि बढ्ने गम्भीर समीक्षा गर्न जरुरी छ । यो विषय सम्बन्धित व्यक्तिहरूको मात्रै निजी विषय पक्कै होइन बरु समग्र राजनीतिक आन्दोलन र महिला आन्दोलनको विषय बनाएर समीक्षा गरौं । गर्नु पर्ने के हुन्छ ? के गर्दा आन्दोलनको हित हुन्छ छलफल सकारात्मक ढंगबाट गरौं ।
जिम्मेवारीबाट हट्दा यदि राम्रो हुन्छ भने बिना हिचकिचाहट त्यो पनि सोचौं तर अनावश्यक व्यक्तिगत विषय नबनाऔं, जसले गर्दा आउने पुस्तालाई पनि कसरी अगाडि बढ्ने भनेर मार्ग निर्देशन गर्न सकौं ।
तिम्राजस्ता मृत्युकाे मुखमा पुगेका कयाै छन् । अरूलाई चाहिँ अवसर छैन तिमीहरूलाई दुबै हातमा लड्डु ?