ओली हुन नसकेका ओलीहरु (भाग २)
नेपालको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली अलग्गै स्वभाव र प्रवृत्तिका छन् । उनलाई नजिकबाट चिनेका सबैले चलाख नेताको रुपमा व्याख्या गर्छन् । माओवादी अध्यक्ष प्रचण्डले एक टेलिभिजन अन्तरवार्तामा ओली आफूभन्दा चलाख भएको स्वीकार गरेका थिए ।
पूर्वभारतीय राजदूत रञ्जित रेको हालै सार्वजनिक पुस्तकमा पनि केपी ओलीलाई चलाख नेताको रुपमा लेखिएको सार्वजनिक भएको छ । अकबर र वीरबलका सयौं कथा पढेका व्यक्तिहरुले राजनीति गर्ने व्यक्ति निकै चलाख हुनुपर्छ भन्ने बुझ्न गाह्रो पर्दैन । राजनीतिमा अरु भन्दा चलाख, बुद्धिजिवी र अब्बल नभइकन पार लागिंदैन । राजनीतिमा निकै चलाख र कूटनीतिक देखिने ओलीले सिद्धान्त र विचारलाई प्राथमिक महत्व दिएको पाइँदैन ।
राजनीति सीधा हिसाबले कहीं पनि अगाडि जाँदैन । जुनसुकै पार्टी नेताको राजनीतिक दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रमहरु हुँदाहुँदै पनि त्यसलाई पार्टीभित्र वा बाहिर लागू गर्ने समयमा बेग्लै हतियारहरुको खाँचो पर्ने गर्दछ । राजनीतिक खेलका विभिन्न हतियारहरुको बारेमा इटालीका राजनीतिशास्त्री मेकियावेली (१४६९–१५२७)को सिद्धान्त लागू हुने गर्दछ ।
मेकियावेली यस्ता राजनीतिशास्त्री हुन्, जसले राजनीतिमा सबै प्रकारका बदमासीहरुलाई पनि वैध ठहर्याएका छन् । धोखाधडी, कूटिलता, साम, दाम, दण्ड, भेद सबै प्रकारका हतकण्डा अपनाएर आफूलाई श्रेष्ठ बनाउनु वा सफल बनाउनु नै मेकियावेलीको राजनीतिक प्रयोगको सिद्धान्त हो । नेपालको राजनीतिमा केपी ओली मात्रै होइन, माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवा आदि नेताले मेकियावेलीको सिद्धान्त बारम्बार प्रयोग गर्दै आएका छन् । त्यसको बारेमा निकै लामो फेहरिस्त प्रस्तुत गर्न सकिन्छ ।
ओलीको व्यवहार, तरिका र शैली अपनाएर तथा कैयौं सन्दर्भमा ओलीभन्दा दुई कदम अगाडि बढेर निरंकुश हुँदा पनि ओलीको विरोध भइरहेको छ ।
मैले २०७७ माघ १ गते ‘ओली हुन नसकेका ओलीहरु’ शीर्षकमा नेपाल प्रेसमा लेख लेखेको थिएँ । धेरैले शीर्षकको भरमा केपी ओलीको समर्थन र अन्य नेताहरुको विरोध गरेको रुपमा बुझेको पाएको थिएँ । ओली कति ठीक छन् वा बेठीक छन् भन्ने कुरा बेग्लै बहसको विषय हो । नेपाली राजनीतिमा केपी ओलीको विरोध गरे पनि लगभग सबैजसो नेताहरुको चाहना केपी ओली बन्नु हो भन्ने कुरा छर्लङ्ग छ ।
ओलीको व्यवहार, तरिका र शैली अपनाएर तथा कैयौं सन्दर्भमा ओलीभन्दा दुई कदम अगाडि बढेर निरंकुश हुँदा पनि ओलीको विरोध भइरहेको छ । एमाले अध्यक्ष ओली र सबै सत्ताधारी दलका प्रमुख नेताले कसरी विरोधाभाष, कुण्ठित, अराजनीतिक, अनैतिक र भ्रष्ट तरिका अपनाउने गरेका छन् भन्ने कुरा यस लेखमा उल्लेख गर्न खोजिएको छ ।
पन्ध्र र पैंतिस वर्षे शासनको दम्भ
माधव नेपालले २०७८ पुस १८ गते एउटा कार्यक्रममा आफ्नो मातहतमा रहेर १५ वर्ष काम गरेका केपी ओलीले आफैलाई नटेरेको हुनाले अरु कसैलाई पनि नटेर्ने अभिव्यक्ति दिए । उनले भन्न खोजेको के थियो भने १५ वर्ष आफ्नो मातहतमा काम गरेको हुनाले केपी ओली माधव नेपालका कारिन्दा हुन् र उनले भनेका कुराहरु ओलीले टेर्नुपर्छ ।
माधव नेपालको प्रस्तुतिले त्यस्तै देखाइरहेको थियो । माधव नेपालको उक्त भनाइबाट के कुरा प्रष्ट हुन्छ भने पार्टी र पद्धतिलाई पर राखेर व्यक्तिले व्यक्तिलाई टेर्नुपर्दछ । एमाले अध्यक्ष ओलीले पनि आफू अध्यक्ष भएको हुनाले आफूले भनेको माधव नेपालले मान्नुपर्ने बताउँदै आएका थिए । एमालेको फुट केपी ओली र माधव नेपालको व्यक्तिगत टकरावको परिणाम हो भन्ने कुरा माधव नेपालको भनाइबाट प्रष्ट हुन्छ ।
केपी ओली र माधव नेपालको टकराव कुनै सैद्धान्तिक राजनीतिक थिएन । कसले कसलाई ठेगान लगाउने भन्ने जुँगाको लडाइँ संसद विघटनसम्म पुग्यो र पार्टी विभाजन भयो । एमाले विभाजनले देशको राजनीतिमा कति ठूलो असर गरेको छ भन्ने कुराको सम्पूर्ण हिसाबकिताब आइसकेको छैन । पार्टी विभाजनको सम्पूर्ण हिसाबकिताब आइसक्दा ओली र नेपाल दुवैलाई धेरै घाटा लागिसकेको हुनेछ ।
एमाले फुटेपछि माधव नेपालले आफ्नो समितिमा कुनै छलफलसमेत नगरी पदाधिकारी टुंगो लगाए । अघल्लिो चुनावमा राष्ट्रियसभा उम्मेदवार छान्दा पनि उनले त्यसै गरे । कैयौं महत्वपूर्ण निर्णय लिने जिम्मा एकल रुपमा नेपाल आफैं लिने गरेका छन् ।
केपी ओलीले एक्लै निर्णय गरे, हामीलाई टेरेनन् भनेर सार्वजनिक वक्तव्य पनि दिने, आफ्नो पार्टीका सम्पूर्ण निर्णयहरु एक्लै गर्ने उनको तरिकाले आफ्नै अभिव्यक्तिको खण्डन मात्रै गर्दैन, उनले ढाक्न प्रयोग गरेको फाटेको जालो पनि धुजाधुजा भएको प्रमाणित गर्दछ ।
माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा ३५ वर्ष शासन गरेका छन् । गत असोज १४ गते अखिल (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलनमा उद्घाटन मन्तव्य दिंदै आफूले माओवादीमा कुनै उत्तराधिकारी घोषणा नगर्ने भनेर पछिल्लो पङ्क्तिमा बसेका नेताहरुलाई जिल्ल पारिदिए ।
मानौं माओवादी प्रचण्डको प्राइभेट लिमिडेट हो र त्यसमा उनको ५१ प्रतिशत भन्दा धेरै शेयर लगानी छ । उनले ठूलो गर्जनका साथ त्यही कुराको पुष्टि गर्दै थिए । उनको गर्जन यस्तो थियो कि माओवादीमा उनीबाहेक अरु कोही लायक छैनन् र पार्टीमा रहेका अरु सबै नेताहरु एक, दुई, पाँच वा दश प्रतिशतका शेयर होल्डर मात्रै हुन् । एमालेको चितवन महाधिवेशनमा पनि ओलीले आफ्नो ५१ प्रतिशत शेयर भएको शैली प्रस्तुत गरेका थिए ।
पार्टीमा आफैंले उत्तराधिकारी घोषणा गर्नुपर्छ भन्ने होइन । कुनै जनवर्गीय संगठनको सम्मेलनमा गएर पार्टीको उत्तराधिकारी घोषणा पनि गरिंदैन । तर आफू मात्रै सबै थोक हुँ भन्ने प्रचण्डको शैली निरंकुश, स्वेच्छाचारी र व्यक्तिवादी हो भन्ने कुरामा सबै भन्दा धेरै माओवादी नेताकार्यकर्ता नै भुक्तभोगी छन् ।
कांग्रेस, एमाले र माओवादीका महाधिवेशनमा आफ्ना सिद्धान्त, नीति, विचार र कार्यक्रमहरुमा गहिरो ढंगले छलफल चलाइएन । ती प्राथमिकताका विषय नै बनेनन् र बनाइएन । सत्ताधारी राजनीतिक पार्टीहरुमा विचारविहीनताको अवस्था डरलाग्दो रुपमा देखिंदै गएको छ ।
विधानले व्यवस्था गरेका पदाधिकारीहरु घोषणा नगरी महाधिवेशन समापनको घोषणा गरियो । प्रचण्डले पहिलो बैठकबाट पदाधिकारीविहीन अध्यक्ष चुनिएर आफू प्राधिकार भएको सन्देश दिइसकेका छन् । पार्टीलाई विधि र पद्धतिबाट चलाउनेभन्दा पनि अधिनायकवादी शैलीबाट चलाउने उनको कामलाई कोही कसैले औंला ठड्याउन सक्दैन । राष्ट्रिय सम्मेलन भनेर आयोजना गरिएको अघिल्लो रात मात्रै महाधिवेशन हुने घोषणा गरियो । सम्मेलनको लागि हिंडेका प्रतिनिधिहरु एकाएक महाधिवेशनका प्रतिनिधिमा बदलिए । यस प्रकारका गतिविधिले के देखिन्छ भने त्यो माओवादीको सामूहिक र संस्थागत होइन, प्रचण्डको एकल महाधिवेशन हो ।
एमाले महाधिवेशनभर केपी ओलीलाई बारम्बार औंला ठ्ड्याएका माओवादी नेताकार्यकर्ता आफ्नो पार्टीको खराब हालत भोगेपछि अहिले चुप लागेका छन् । अरुमाथि प्रश्न उठाउन सजिलो छ, तर आफ्नै पार्टीको हालत कस्तो छ भनेर माओवादीभित्र सम्भवतः कहिल्यै पनि संस्थागत छलफल हुँदैन ।
सिद्धान्तको तिलाञ्जलीः भ्रष्ट शान र घमण्डको प्रदर्शन
२०७८ साल मंसिर महिनामा एमाले र कांग्रेसले महाधिवेशन सम्पन्न गरे । पुस महिनामा माओवादी केन्द्रले महाधिवेशन सम्पन्न गर्यो । कुनै पनि पार्टीका महाधिवेशनहरु गर्ने निश्चित विधिहरु हुन्छन् । पार्टीका विधिहरुलाई उल्लंघन गर्दै पार्टीका नेताहरुले आफ्नो शक्ति मजबुत हुने गरी मनोमानी ढंगले महाधिवेशन सम्पन्न गरेका छन् ।
अनौठो कुरा त के छ भने एमाले, कांग्रेस र माओवादी पार्टीले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु आफ्ना तल्ला समितिहरुमा छलफलको लागि पठाएनन् । माओवादी अध्यक्ष प्रचण्डले त छापामार शैलीमा दस्तावेज प्रस्तुत गरे । कांग्रेसले दुई घण्टामा तीन वटा दस्तावेज पारित गर्यो । एमालेले विधान अधिवेशनमार्फत् चाँजोपाँजो मिलायो । गम्भीर र व्यवस्थित प्रकारले कुनै पनि दस्तावेजमा छलफल गरिएनन् ।
एमालेको महाधिवेशनमा केपी ओलीको गुणगान गाइयो । उद्घाटन समारोहमा देखाइएको करिब ८ मिनेटको भिडियो डकुमेन्ट्री केपी शर्मा ओलीको गुणगानले भरिपूर्ण थियो । ओलीकै डमी बनाएर महाधिवेशनस्थलहरुमा राखियो । माओवादी नेताहरुले त्यसको धेरै विरोध गरे । तर माओवादीको महाधिवेशनमा प्रचण्डको डमी बनाएर राखियो । आखिर ओली हुने रहर प्रचण्डलाई पनि रहेछ । कतिसम्म भने माओवादी महाधिवेशनको लोगोमा प्रचण्डको तस्बिरलाई अंकित गरियो । यसरी व्यक्तिपूजाको लागि बनाइएका सामग्रीले महाधिवेशस्थल सजिसजाउ बनाइयो ।
कांग्रेस, एमाले र माओवादीका महाधिवेशनमा आफ्ना सिद्धान्त, नीति, विचार र कार्यक्रमहरुमा गहिरो ढंगले छलफल चलाइएन । ती प्राथमिकताका विषय नै बनेनन् र बनाइएन । सत्ताधारी राजनीतिक पार्टीहरुमा विचारविहीनताको अवस्था डरलाग्दो रुपमा देखिंदै गएको छ ।
पार्टी र तिनका नेता–कार्यकर्ता यसरी विचारविहीन बन्दै जानु देशको प्रजातान्त्रिक तथा वाम आन्दोलनको लागि निकै खतरनाक अवस्था हो । कम्युनिष्ट पार्टीका नेताकार्यकर्ता विचारलाई त्यागेर पैसामा बिक्री भइरहेका छन् ।
एमालेले दशौं महाधिवेशनलाई अत्यन्तै खर्चिलो बनायो । तीनवटै पार्टीका महाधिवेशनमा नेताहरुका अकुत सम्पत्ति र भ्रष्ट आचरणबारे छलफल भएन । महाधिवेशनबाट विचार र सिद्धान्तको राजनीति गर्ने कैयौं नेताहरु पाखा लगाइए ।
दुर्भाग्य नै भन्नुपर्छ कि अरबपतिहरु, उद्योगपतिहरु, ठेकेदारहरु, व्यापारीहरु पार्टीका केन्द्रीय समितिमा निर्वाचित गरिए । संविधानसभामा पैसाको किनबेचबाट सांसद पद हात पारेका व्यक्तिहरु अब पार्टीका केन्द्रीय समितिमा पुगेका छन् । कांग्रेस, एमाले र माओवादीका केन्द्रीय समितिहरु उद्योगपति, व्यापारी र ठेकेदारहरुले कब्जा गरेका छन् । यो निकै दुःखलाग्दो पक्ष हो ।
पार्टीका केन्द्रीय समितिमा उद्योगपति, व्यापारी र ठेकेदारहरुलाई ल्याउने काम केपी ओलीले मात्रै गरेका छैनन् कि शेरबहादुर देउवा र प्रचण्डले पनि समान प्रकारले गरेका छन् । राम्रा कामहरु कहिल्यै नसिक्ने, तर नराम्रा कामहरुबाट आफ्नो वर्चस्व स्थापित गर्ने ध्याउन्नमा सबै पार्टीका प्रमुख नेताहरु लागि परेका देखिन्छन् ।
तिनीहरुका गलत कामकारवाहीलाई खबरदारी गर्ने व्यक्तिहरु र संस्थागत तरिका पार्टीभित्र भुत्ते बन्दै गएको देखिन्छ । प्रजातान्त्रिक र कम्युनिष्ट पार्टीहरुमा यो तहको स्खलन कसरी भयो भन्ने बारेमा गम्भीर बहस र छलफल गरिनु आवश्यक छ ।
बारम्बार देखिने हेलिकोप्टरका तमासा
केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउनको लागि २०७६ फागुनमा हेलिकोप्टरमा १५ किलोको केक लगेर जन्मस्थान तेह्रथुम गएका थिए । ओलीको जन्मदिन राजामहाराजाहरुको जस्तै ठूलो तामझामका साथ मनाइएको थियो । ओलीले जन्मदिनमा त्यसरी केक ओसार्नुभन्दा केही समय पहिले मात्रै तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले जन्मदिन, पास्नी, ब्रतबन्धजस्ता कार्यक्रमहरुलाई सामान्य ढंगले मनाउनुपर्ने निर्णय गरेर परिपत्र जारी गरिएको थियो ।
आफैंले परिपत्र जारी गर्ने, आफैंले राजामहाराजाले जस्तै जन्मदिन मनाउने ओलीको शैली विचित्रकै थियो । ओलीको जन्म दिन मनाउने तरिकाको व्यापक आलोचना भयो । कम्युनिष्ट संस्कारसँग नमिल्ने तडकभडकपूर्ण तरिका अपनाउँदा विरोध हुनु स्वभाविक थियो । केपी ओली प्रधानमन्त्री हुने थिएनन् भने उनको जन्म दिन त्यति धेरै तडकभडकपूर्ण हुने थिएन ।
कांग्रेस महामन्त्री गगन थापाले २०७८ पुस १९ गते अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष तथा नेकपा एसकी सहइन्चार्ज लक्ष्मी गौतमलाई कांग्रेस प्रवेश गराउनको लागि हेलिकोप्टर चार्टर्ड गरेर अर्घाखाँची पुगेका थिए । भर्खरै महामन्त्री निर्वाचित भएको आडम्बर र तमासा देखाउन उनी त्यहाँ पुगेका थिए भन्ने कुरा तिनले लगेको हेलकोप्टरबाटै प्रष्ट छ ।
यदि गगन थापा महामन्त्रीमा चुनिएका हुने थिएनन् भने उनी हेलिकोप्टर लगेर जाने थिएनन् । ओलीको शैलीमा अर्घाखाँची पुगेर ओलीको विरोध निकै गैरराजनीतिक र निम्छरो कार्य हो । गगन थापा अर्घाखाँचीमा कांग्रेसको चौधौं महाधिवेशनले पारित गरेको विचार लगेर गएनन्, लाखौं भाडा तिरेर हेलिकोप्टर लगेर गए । किनभने कांग्रेसको महाधिवेशनले जनतामा लैजानुपर्ने कुनै विचार पारित गरेको थिएन ।
गगन थापाहरुको प्रवृत्तिले के देखाइरहेको छ भने वीपी कोइरालाको समाजवाद हेलिकोप्टरमा पतन भइरहेको छ । कांग्रेस नेताहरु सरल ढंगले राजनीति गरिरहेका छैनन् कि गरिब जनतालाई हेलिकोप्टर देखाएर, दम्भ र घमण्ड प्रदर्शन गरिरहेका छन् ।
व्यवहार र शैलीका हिसाबले यिनीहरु पञ्चायतका नयाँ संस्करण हुन् । राजनीतिक दलका नेता यति धेरै भ्रष्ट भइसके कि तिनीहरुलाई जनताको कठिन जीवनशैलीसँग कुनै मतलब छैन । झुपडीमा बस्ने, रोग र भोकमरीले सताएका जनतालाई हेलिकोप्टरको तमासा देखाइरहेका छन् ।
दुर्गम गाउँका जनता अस्पताल जान नपाएर, सुत्केरी गराउनको लागि एम्बुलेन्स नपाएर मरिरहेको समयमा नेताहरु एउटा सामान्य कार्यक्रममा हेलिकोप्टर चढेर जनता गिज्याइरहेका छन् । गरिब देशका नेताहरुको सामान्य कार्यक्रममा हेलिकोप्टर सवार भ्रष्ट शैली हो ।
राजनीतिमा यस्ता फजुल र भ्रष्ट तडकभडक धेरै हुने गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा हेलिकोप्टर लगेर शान देखाउने मन्त्री र नेताहरु पनि धेरै भेटिन्छन् । पञ्चायतमा मन्त्रीहरु घोडा चढेर गाउँ–गाउँ पुग्ने र शान देखाउने जुन प्रचलन थियो, अहिले राजनीतिक दलका नेता, मन्त्रीहरुले त्यहीं गरिरहेका छन् ।
व्यवहार र शैलीका हिसाबले यिनीहरु पञ्चायतका नयाँ संस्करण हुन् । राजनीतिक दलका नेता यति धेरै भ्रष्ट भइसके कि तिनीहरुलाई जनताको कठिन जीवनशैलीसँग कुनै मतलब छैन । झुपडीमा बस्ने, रोग र भोकमरीले सताएका जनतालाई हेलिकोप्टरको तमासा देखाइरहेका छन् ।
ओलीकै शैलीमा राइँदाइँ र प्राधिकार हुने रहर
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र माओवादी प्रचण्डले केपी शर्मा ओलीलाई हटाउन खोज्नुको एउटै कारण थियो, पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुन हुँदैन । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको हुनाले ओली धेरै स्वेच्छाचारी भए, निरंकुश भए, अधिनायकवादी भए भन्ने निष्कर्ष रहेको थियो । अब उनीहरुको निष्कर्ष आफैंतिर सोझिएको छ ।
केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री नछोडेकै कारण नेपाल कम्युनिष्ट पार्टी फुट्यो र तीन वटा पार्टी बने । फुटेका पार्टीका अध्यक्ष क्रमशः पुष्पकमल दाहाल र माधवकुमार नेपाल भए । तर यी दुवै नेता पार्टी अध्यक्ष र संसदीय दलका नेता आफै चुनिए । ठूला पार्टीको संसदीय दलको नेता भनेको वेटिङ प्राइममिनिस्टर पनि हो । उनीहरुले अर्काे व्यक्तिलाई किन संसदीय दलको नेता बनाएनन् ? त्यसको जवाफ उनीहरुले दिएका छैनन् । सम्भवतः उनीहरुले त्यसको जवाफ दिने पनि छैनन् ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बालुवाटारमा हुने गरेका निर्णयहरुमा एकलौटी गरिएको र त्यसमा आफू सामेल नभएको भन्दै सार्वजनिक रुपमा ट्वीट गर्ने गरेका छन् । ओलीले एकलौटी निर्णय गरे भन्ने प्रचण्डले आफ्नो पार्टीमा एकलौटी निर्णय गरेका छन् भन्ने कुरा यसबाट पनि छर्लङ्ग हुन्छ । माधव नेपालले एकलौटी निर्णय गरे भन्ने पनि बारम्बार सार्वजनिक भइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई बीसौं वरीयतामा पुर्याइदिएका छन् । कांग्रेसभित्र त्यसको व्यापक आलोचना भइरहेको छ । शेरबहादुर देउवा पार्टीभित्र निरंकुश बन्दै गएको आरोप लाग्ने गरेको छ । पाँचौंपटक प्रधानमन्त्री भइसक्दा पनि अझै उनको रहर मरेको छैन ।
यो देशमा ओलीले मात्रै एकलौटी गरेका छैनन् । सबै पार्टीभित्र त्यही प्रवृत्ति देखिएको छ । सत्ताधारी दलका प्रमुख नेताहरुलाई ‘बा’ बन्ने भूत सवार भएको छ । उनीहरु केपी ओली जस्तै ‘बा’ बन्न नसकेकोमा चिन्तित छन् । तिनीहरुका गतिविधिहरु पनि ‘बा’ बन्ने लाइनमा सोझिइरहेका छन् ।
देशको राजनीतिमा र सत्ताधारी पार्टीभित्र देखिएको निरंकुश, स्वेच्छाचारी र ‘बा’ प्रवृत्तिका विरुद्धमा वैचारिक बहस गर्ने तथा व्यवहारिक हिसावले नलड्ने हो भने प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन, राजनीतिक संस्कार र संस्कृति कमजोर बन्दै जानेछ । हरेक पार्टीभित्र ‘बा’हरुले शासन गर्नेछन् र कार्यकर्ताहरु, आमजनता तिनीहरुका अगाडि निरीह भएर बस्नुपर्नेछ ।
गज्जब लाग्याे
देशको राजनीतिमा र सत्ताधारी पार्टीभित्र देखिएको निरंकुश, स्वेच्छाचारी र ‘बा’ प्रवृत्तिका विरुद्धमा वैचारिक बहस गर्ने तथा व्यवहारिक हिसावले नलड्ने हो भने प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन, राजनीतिक संस्कार र संस्कृति कमजोर बन्दै जानेछ । अहिले देखिएको यो विकृति विरुद्ध नागरिकले खवरदारी जारी राख्नु पर्छ । नेताको आचरण स्वच्छ भयो भने मूलुकमा असल संस्कृति विकास हुन्छ नत्र त जुन जोगी आए पनि कानै चिरेका हुने हो । एक दिन भोट दिएर ३६४ दिन नेतालाई गाली गर्नुको अर्थ हुदैन । असल आचरण भएका नेताहरुको मनोबल उठाउनु र खराब प्रवृतिलाई दण्डित गर्नु अहिलेको आवश्यकता हो ।