ऐतिहासिक दुगुनागढीको संरक्षणमा नेपाली सेनाको अगुवाई (तस्बिरहरु) – Nepal Press

ऐतिहासिक दुगुनागढीको संरक्षणमा नेपाली सेनाको अगुवाई (तस्बिरहरु)

पर्यटक आकर्षित गर्नका लागि एकीकरण पदयात्रा सम्पन्न

ऐतिहासिक क्षेत्र संरक्षणमा पहल लिइरहेको नेपाली सेनाले नेपाल-तिब्बत युद्धको ऐतिहासिक दुगुनागढी क्षेत्रको संरक्षणका लागि यो वर्ष दुगुनागढी एकीकरण पदयात्रा आयोजना गरेको छ । नेपाली सेनाको गत वर्षदेखि ऐतिहासिक क्षेत्रको संरक्षणको सुरुवात गरेको थियो ।

गत वर्षदेखि सिन्धुपाल्चोकमा तैनाथ नेपाली सेनाको गोरखबक्स गणले दुगुनागढी, साँगाचोकगढी, लिस्तीमाइ लगायतका ऐतिहासिक र पुरातात्विक क्षेत्र संरक्षणको सुरुआत गरेको थियो ।

यसैको निरन्तरतास्वरुप यो वर्ष नेपाली सेनाले नेपाल एककीरण तथा नेपाल-तिब्वत युद्धको समयमा नेपाली फौजले प्रयोग गरेको मार्गको लार्चादेखि ऐतिहासिक दुगुनागढीसम्म नौ किलोमिटर पदयात्र आयोजना गरेको हो ।

ऐतिहासिक क्षेत्रको संरक्षण र त्यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्नका लागि नेपाली सेनाले वार्षिक रुपमा नै कार्यक्रमको आयोजना सुरु भएको नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल र तिब्बतबीत पहिलो पटक सन १७८८, दोस्रो पटक १७९२ र तेस्रो पटक सन १९८५ मा भएको युद्धको बेला भोटेकोशी गाउँपालिकाको लिस्तीमाइको दर्शन गरेर नेपालका फौजहरु लडाईंमा गएका थिए । लिस्तीमाइको दर्शन गरेर दुगनागढीबाटै तिब्बतसँग लडाईं लडेकोले दुगानगढीलाई ऐतिहासिक किल्लाको रुपमा लिने गरिएको छ ।

नेपाली सेनाले देशका सामारिक महत्व राख्ने ऐतिहासिक स्थलहरुको संरक्षण गर्न देशभरका सैनिक कार्यालयहरुलाई निर्देशन दिएको थियो । पुर्खाहरुले नेपाल एकीकरणको बेला प्रयोग गरेका पदमार्ग, किल्ला र गढीहरु लोप हुँदै गएको र भावी पुस्तालाई त्यसको महत्वको जानकारी गराउने उद्देश्यले पनि यस्ता क्षेत्रको संरक्षण सुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाली सेना पुर्वी हेडक्वाटरका प्रमुख उपरथी सन्तोषकुमार ढकालले पदयात्राको शुभारम्भ गरेका थिए । भुकम्पपछि क्षतीग्रस्त भएको दुगुनागढीको नेपाली सेनाले सुरुमा नै पुननिर्माण गरेको थियो । पछि भोटेकोशी गाउँपालिका, वागमती प्रदेश सरकार र पुरातत्व विभागले समेत यसको जिर्णाेद्धार सम्पन्न गरेको थियो ।

नेपाली सेनाले आफुहरुको क्षेत्रका रहेको ऐतिहासिक क्षेत्रको संरक्षणमा अगुवाई गरेको भन्दै पदयात्री नेपाली सेना र अन्यलाई स्थानीयले भव्य स्वागत गरेका थिए । बाटो बाटोमा खादा मालासहित सहभागी महिलाहरुले आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन सेनाका अधिकारीहरुलाई आग्रह गरेका थिए ।

दुगुुनाका आमा समूह, युवा क्लब तथा शेर्पा सांस्कृतिक समुहले दुगुनागढीमा बिभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरेका थिए । भूकम्पमा ध्वस्त भएको यहाँको सानो र ठूलो दुवै गढीको पुननिर्माण नेपाली सेनालाई दिए सँगै अहिले यहाँको ठूलो गढी निर्माण भइसकेको छ । क्रमागत आयोजनाको रुपमा सानो गढी तथा यस क्षेत्रका अन्य पर्यटकीय संरचनाहरु पनि क्रमशः निर्माण गर्ने कार्यक्रम रहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले वताए ।

गढीको पुननिर्माण सम्पन्न भएपछि यसको प्रचार प्रसारका लागि नेपाली सेनाले गत वर्ष सेना दिवसको अवसरमा माउन्टेन ट्रेल रेसको आयोजना गरेको थियो । यो वर्ष भन्दा पनि म्याराथन दौडको आयोजना गर्ने तयारी रहेकोे नेपाली सेना गोरख बक्स गणका प्रमुख सेनानी गणपति निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले दुगुनागढी तथा ऐतिहासिक सम्पदाहरुको संरक्षणको लागि नेपाली सेनाले पुर्‍याएको योगदानको प्रसंशा गरेका थिए ।

नेपाल तिब्बत युद्धको गौरव यस गढीलाई संरक्षण गर्ने मात्रै होइन यस क्षेत्रको समग्र बिकासमा समेत समुदायसँग हातेमालो गरेर नेपाली सेनाले काम गर्ने २६ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी बिष्णु राउतको भनाइ छ ।

नजिकैको तातोपानी, केहि माथीको भैरवकुण्ड तथा आसपास बिभिन्न सम्पदाहरुलाई समेत मध्यनजर गरेर यस गढीलाइ विकास गर्न सके यहाँको समुदायलाई आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने देखिएकाले यस काममा सिर्जनात्मक ढंगले अघि बढ्न यहाँ कार्यरत नेपाली सेनाका युनिटहरुलाई पूर्वी हेडक्वाटरका प्रमुख उपरथी सन्तोष कुमार ढकालले निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर