एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित
लमजुङ । नेकपा एमाले लमजुङको ८औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
शनिबारदेखि सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनी बाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन ।
सातौं अधिवेशनको ९ वर्षपछि भएको आठौं अधिवेशनले अधिकारी निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारीका लागि भने निर्वाचन हुने देखिएको छ । उपाध्यक्ष पदका लागि दुई जना, सचिव पदमा दुई जना र उपसचिवमा सात जनाको उम्मेदवारी परेको छ ।
पाँच जना पदाधिकारीमा एक जनामात्रै महिलाको उम्मेदवारी परेको छ । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई जना गरी पाँच जना रहेकोमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीमा दर्ता गरिएका १२ जना मध्ये अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् भने एक जनामात्रै महिला उम्मेदवार छन् ।
उपाध्यक्ष पदका लागि अखिल नेपाल महिला संघ (अनेमसंघ) की जिल्ला अध्यक्ष यशोदा रिमालले उम्मेदवारी दर्ता गराएकी हुन् । उपाध्यक्ष बाहेक अरू कुनै पनि पदमा महिलाले उम्मेदवारी दिएका छैनन् । उपसचिवमा सात जनाले उम्मेदवारी दिएकोमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन ।
उपाध्यक्षमा बेसीशहर नगरपालिका—७ का वडाध्यक्ष एवं युवा संघका केन्द्रीय सचिव गोविन्द बस्नेतले पनि उम्मेदवारी दिएका छन् । सचिवमा सुभाष पौडेल र राजेन्द्र बोहराले उम्मेदवारी दिएका छन् ।
उपसचिवमा कृष्ण केसी, रामचन्द्र भट्ट, जितबहादुर गुरुङ, हिरालाल विक, जनकराज मिश्र, विवश बुढाथोकी र जीवराज घलेको उम्मेदवारी दर्ता भएको नेकपा एमाले लमजुङ ८औं अधिवेशन निर्वाचन कमिटीले जनाएको छ ।
Congratulations 👏🎉👏