सिन्धुली एमालेमा एकाघरका ज्वाइँ-जेठानको रोचक भिडन्त, यस्तो आयो परिणाम – Nepal Press

सिन्धुली एमालेमा एकाघरका ज्वाइँ-जेठानको रोचक भिडन्त, यस्तो आयो परिणाम

सिन्धुली । राजनीतिमा अघि बढ्न आफ्नैसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ । सिन्धुली एमालेमा यसपटक त्यस्तै भयो । जिल्ला अध्यक्षका लागि ज्वाइँ- जेठानबीच चुनावी प्रतिस्पर्धा भयो । जेठानले जिते, ज्वाइँ हारे ।

एमाले सिन्धुलीको अध्यक्ष थिए प्रदीप कटुवाल । प्रदेशसभा सदस्य तथा वागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका उनी अध्यक्षमा पुनः दोहोरिन चाहे । तर, उनको चाहनामा बाधक बने आफ्नै जेठान कुमारबहादुर कार्की (रामकुमार) ।

प्रदीप र रामकुमारबीच पर्ने नाता होइन, एकै घरको सबन्ध हो । कुमारकी सहोदर बहिनी प्रदिपकी पत्नी हुन् । तर, राजनीतिमा ज्वाइँ-जेठानको नाताले प्रतिस्पर्धा रोकेन । जिल्लाका नेताहरू ज्वाइँ-जेठानमा विभाजित भए ।

चुनावी प्रतिस्पर्धामा जेठानसँग ज्वाइँ ८० मतले पछि परे । ४८८ मत पाएर जेठान जिल्ला अध्यक्ष निर्वाचित भए भने ज्वाइ ४०८ मतमा रोकिए । पार्टीभित्रको विगतको अन्तरसंघर्षमा ज्वाइँ-जेठान केपी ओली पक्षमै थिए । तर, ज्वाइँले अध्यक्ष छाड्न नमानेपछि जेठानले चुनावी प्रतिस्पर्धाबाट पाखा लगाइदिए ।

ज्वाइँले जिल्ला अध्यक्ष, प्रदेश सांसद र मन्त्री भइसक्दा पनि पद छाड्न नमानेपछि जेठानसँग विकल्प थिए । उनी २०५४ सालमा महादेव डाँडा गाविसको अध्यक्ष भएबाहेक अरु पदमा पुगेका छैनन् ।

सिन्धुली एमालेमा प्रदेशसभाका दुवै सदस्य यसपटक पराजित भएका छन् । अध्यक्षमा प्रदीप कटुवाल पराजित हुँदा उपाध्यक्षमा पनि अर्का प्रदेशसभा सदस्य विनोद खड्का पराजित भएका हुन् । उनी कर्णबहादुर घिसिङसँग ४५मतान्तरले पराजित भए ।

घिसिङले ४४९ मत प्राप्त गर्दा खड्काले ४०४ मत पाएका हुन् । घिसिङ जेठान कार्कीको प्यानलबाट उठेका थिए भने खड्का ज्वाइँ कटुवालको प्यानलमा थिए । त्यस्तै उपसचिवमा रश्मिला देवकोटा र मन्जु देवकोटा विजयी भएका छन् ।

पूर्वमाओवादी खेमाबाट आएका नवराज थिङ र खड्ग रजनलाई ज्वाइँ-जेठानले आ-आफ्नो टिममा उपसचिव राखे पनि दुवै महिलाले जितेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर