एमाले दाङका निवर्तमान अध्यक्षद्वारा राजनीतिबाट विश्रामको घोषणा
दाङ । नेकपा (एमाले) दाङका निवर्तमान अध्यक्ष टीकाराम खड्काले राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् ।
एमाले दाङको १३ औं जिल्ला अधिवेशन सकिए लगत्तै खड्काले राजनीतिबाट विश्राम लिने घोषणा सामाजिक संजालमार्फत गरेका हुन् ।
‘आज म ज्यादै खुसी छु, संगठनको काम गर्दा सबै मित्रको निकै ठुलो सहयोग पाएँ,’ उनले लेखेका छन्, ‘म सबैलाई धन्यवाद र कृतज्ञता प्रकट गर्दछु । नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशनलाई भव्य र सभ्य सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरूलाई आयोजकका नाताले धन्यवाद दिन चाहन्छु । र आजैका दिनदेखि राजनीतिक यात्रा विश्राम लिने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छु ।’
२० वर्षको उमेरमा विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलनमा लागेका खड्का किसान आन्दोलनमा समेत सहभागी भएका थिए ।
उनी ८ महिना जेल समेत बस्नु परेको थियो । एमालेको तत्कालीन माधव नेपाल पक्षका मानिने खड्का पार्टी विभाजनका बेला भने एमालेमै रहेका थिए ।