डा. लोहनीलाई वीर अस्पताल प्रवेश गर्न नदिने कर्मचारी संघको चेतावनी
काठमाडौं । स्वास्थ्य मन्त्राालयले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रशासकीय प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीलाई हाजिर हुन नदिने भन्दै वीरका कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका छन् ।
वीर अस्पताल कर्मचारी संघले ५ महिनामात्र जागिर अवधि रहेका लोहनी वीर अस्पताल सुधारका विरोधी रहेको र अहिले अर्बौको स्वास्थ्य सामग्री खरिदको उद्देश्यले मात्र मन्त्री रिझाएर आउन लागेको भन्दै अस्पतालमा प्रवेश नदिने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलवारमात्र लोहनीलाई वीरको १२ औं तहको प्रशासकीय प्रमुखका सरुवा गरेका थिए । यसअघि जागेश्वर गौतमलाई त्यहाँबाट हराएर डा. भुपेन्द्र बस्नेतलाई निमित्त दिइएको थियो ।
बस्नेत आएपछि अस्पतालमा सुधार भइरहेका बेला अस्पताल बाहिरबाट आउने प्रमुखलाई स्वीकार नगर्ने कर्मचारी संघको भनाइ छ । १२ औं तहमा बढुवा हुने बित्तिकै मन्त्रालयले वीरमा पठाउन खोज्दा नमानेका लोहनी अहिले अर्बौंको बजेट निकासा हुने बेलामा सरुवा लिएर आउनुमा नियत ठिक नभएको उनीहरुको आरोप छ ।
कर्मचारी संघका एक नेताले भने, ‘हामी अहिले आन्तरिक छलफलमा छौं । अस्पताल बाहिरका व्यक्तिलाई स्वीकार नगर्ने भनेर प्रवेश निषेध,आन्दोलन र कालोमोसो दल्नेसम्मका तयारीमा छौं । हामीले प्रधानमन्त्री कार्यालयसम्म उजुरी गर्दैछौं । ५ महिनामात्र बाँकी रहेको व्यक्तिलाई अस्पताल सुधारका लागि भन्दा पनि कमाउने उद्देश्यले पठाइएको हो ।’
पछिल्लो समय वीरमा २४ सै घन्टा पिसिआर हुदै आएको छ भने टिकट काट्ने डिजिटल प्रणालि ब्यवस्थाले सेवाग्राहीलाई सहज भइरहेको छ । अहिले वीरको कोभिड अस्पतालमा एक सय भन्दा बढी विरामी उपचाररत रहेकोमा नयाँ लहरपछि संख्या बढिरहेको छ ।
वीर अस्पतालले कोभिडको नयाँ लहरलाई लक्षित गरेर आवश्यक तयारी गरेको बस्नेतले बताएका छन् । ५ सय बेडको कोभिड अस्पताल सन्चालन तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छन् । अस्पतालले कोभिड सोधपुछका लागि ११३३ सन्चालन गरेको भने आधुनिक बेडसहितको ५०० शैया भएको सर्जिकल भवन सन्चालनको तयारीमा छ ।
बस्नेत निर्देशक बनेर आएपछि दुवाकोटको परियोजना समेत अघि बढाएका छन् भने सिटि स्याक्यान ,एमआरआइ, प्याथोलिजि,इमर्जेंसी सेवा चुस्त बताइएको अस्पतालले जनाएको छ । कर्मचारीले लामो समयदेखि नपाएको कोभिड भत्ता समेत पाएका छन् ।
अस्पताल सुधारको काम अघि बढिरहेका बेला आर्थिक चलखेलबाट सरुवा भएको उनीहरुको आरोप छ ।