जेपी सिलवालको दाबी– म सिन्धु एमालेको पदाधिकारी नहुनुपर्ने कुनै कारण छैन
काठमाडौं । सिन्धुपाल्चोक एमालेका युवा नेता जेपी सिलवालले पार्टी जिल्ला पदाधिकारीको दाबी दोहोर्याएका छन् । सहमतिका नाममा अधिवेशनको बन्दसत्र नै प्रभावित भइरहेका बेला नेता सिलवालले सकेसम्म सचिव, नभए उपाध्यक्ष वा उपसचिवमा आफूले उम्मेदवारी दिने बताएका हुन् ।
२३ गते उद्घाटन भएको सिन्धुपाल्चोक एमालेको जिल्ला अधिवेशनको बन्दसत्र अन्तरगत बिहीबार मनोनयन दर्ता हुँदैछ । आफ्नो नाममा सहमतिका नभए उनले चुनावी प्रतिस्पर्धा गर्न आफू तयार रहेको बताएका छन् ।
सिलवाल दुई कार्यकाल सिन्धुपाल्चोक अनेरास्ववियुको जिल्ला नेतृत्व सम्हालिसकेका नेता हुन् । उनी २०५६ सालदेखि एमालेको ओली समूहनिकट छन् ।
सिन्धुपाल्चोकमा अध्यक्षका लागि कमल नेपाल, बालकृष्ण देउवा, केदार क्षेत्री र होमनारायण श्रेष्ठले दाबी गरिरहेका छन् । त्यस्तै सचिवमा सिलवालसँगै कृष्णगोपाल तामाङको नाम चर्चामा छ ।