प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा – Nepal Press

प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडौं । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । उनको १० हजार पाँच सय अंक रहेको छ ।

महासंघले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह छन् । उनको नौ हजार पाँच सय ९० अंक रहेको छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अंकसहित तेस्रो स्थानमा छन् । फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अंकका साथ चौथो तथा भारतका एस शंकर मुथुसामी सुब्रमन्यम छ हजार ३४० अकंसहित पाँचौँ स्थानमा छन्।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले रासससित कुरा गर्दै आफ्नो सपना पूरा भएको बताए । उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए । अबको ध्यान बरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए ।

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ । राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ । कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउनुहुन्छ । पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौंमै अध्ययनरत छन्।

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ । ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताउनुभयो । दाहालको सफलताले नेपालको समग्र खेल जगत्लाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ ।

दाहाल हालसम्म कुनै पनि विभागिय क्लबमा आबद्ध छैनन् । उनी सुदूरपश्चिम प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन् । २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल पहिलोपटक ३२औँ स्थानमा रहन सफल भएका थियो । त्यही वर्ष पुसमा जारी बरियतामा उनी १४औँ स्थानमा तथा पुस अन्तिम साताको बरियतामा दाहाल १०औँ स्थानमा उक्लिएको थियो ।

२०७६ चैतमा महासंघले जारी गरेको बरियतामा दाहाल सातौँ स्थान तथा गत वर्ष माघमा उनी तेस्रो स्थानमा उक्लिन सफल भएको थियो । त्यतिबेला दाहालभन्दा अब्बल डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर थिए । मुलर शीर्ष स्थानमा तथा कपुर दोस्रो स्थानमा थिए । दुवै जना हाल सिनियर प्रतियोगिता खेल्दै आएकाछन् ।

विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको बरियता सार्वजनिक गर्ने गरेको छ । यस्तै विश्व ब्याडमिन्टन महासंघले जारी गरेको जारी गरेको महिला जुनियरतर्फको बरियताअनुसार नेपालकी महिला खेलाडी रसिला महर्जन १९औँ स्थानमा पर्न सफल भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर