प्रदेश २ सभामा नाम र राजधानीसम्बन्धी प्रतिवेदन पेस हुने
जनकपुरधाम । प्रदेश २ सभाको बैठक केहीबेरमा बस्दैछ । बैठकमा राजधानी र नामाकरणसम्बन्धी अध्ययन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा बनेको विशेष समितिले प्रतिवेदन बुझाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालय सचिव रंजितकुमार यादवले जानकारी दिए ।
विशेष समितिमा पनि प्रदेश नामाकरण र राजधानीबारे सहमति जुटेको थिएन । सहमतिको संभावना टर्दै जाँदा प्रदेशसभामा मतदानको संभावना बढेको छ ।
सत्तारुढ जसपा, नेकपा माओवादी केन्द्र र प्रतिपक्षी लोसपा प्रदेशको नाम मधेश राख्नुपर्ने अडानमा छन् । प्रदेशसभामा कुल १०४ सांसद छन् । नाम र राजधानी पारित हुन दुई तिहाई बहुमतस्वरूप ७० सांसद चाहिन्छ । तर, यी तीन दलसँग ६३ सांसदमात्र छन् ।
सत्तारुढ नेपाली कांग्रेस मिथिला भोजपुरा नामको पक्षमा छ । सत्तारुढ नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले जानकी प्रदेश नाम प्रस्ताव गरेको हो ।
वीरगञ्जका केही सांसदबाहेक सत्तारुढ र प्रतिपक्ष सबै दल प्रदेशको राजधानी जनकपुरधाम तोक्न सहमत छन् । तर, प्रदेशको नाम टुंगो नलाग्दा जनकपुरधामलाई राजधानी तोक्न मधेश प्रदेशको नाम प्रस्ताव गरेका जसपा, लोसपा र माओवादी केन्द्र हिच्चकिचिएका छन् ।
विशेष समितिमा पनि सहमति नजुटेका कारण मतदान हुने भनिए पनि कसैको दुई तिहाई नपुग्दा राजधानी र नामको छिनोफानो अनिश्चित बनेको छ ।