ब्राउनसुगर : बर्बादी निम्त्याउन एक ग्राम नै काफी !
कसरी कुलतमा फस्दैछन् लाउरेदेखि आउरेबाउरेसम्म ?
काठमाडौं । गत पुस १५ गते लागूऔषध ब्राउन सुगर सेवनको आरोपमा चर्चित र्यापर आशिष राना (लाउरे) पोखरामा पक्राउ परे । उनी अहिलेसम्म हिरासतबाट उम्किन सकेका छैनन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले लाउरे ब्राउनसुगरको कारोवारी नभएर सेवनकर्ता मात्रै भएको देखाएको छ । कुनै पनि लागूऔषधको प्रयोगकर्ता हुनु र सेवनकर्ता हुनु कानूनी दृष्टिले धेरै फरक कुरा हो । यद्यपि, ब्राउनसुगरको हकमा सेवनकर्ता र कारोवारी छुट्याउन कठिन हुने प्रहरी अधिकारीहरु बताउँछन् ।
लागू औषधको आरोपमा कसैलाई पक्राउ गर्नासाथ प्रहरीले सबैभन्दा पहिले सेवनकर्ता हो कि कारोवारी भनेर नै निर्क्याैल गर्न खोज्छ । लागूऔषधको सेवनभन्दा कारोवार गम्भीर अपराध मानिन्छ र यसमा कडा सजायको व्यवस्था छ । यद्यपि, ब्राउनसुगरजस्ता कडा लागूऔषधमा भने सेवनकर्ताले पनि कठोर सजायको भागिदार बन्नुपर्छ ।
अर्को पक्ष भनेको लागू औषधमा एक जना पक्राउ परेपछि उसँग जोडिएका धेरै जना प्रहरी फन्दामा पर्ने सम्भावनाको ढोका खुल्छ ।
ब्राउन सुगरसम्वन्धी प्रहरी कारवाहीको एउटा दृष्टान्त हेरौंः
लागु औषध नियन्त्रण ब्युरो (एनसीबी) ले गत कात्तिकको तेस्रो साता ब्राउन सुगर सेवन गर्ने गरेको आरोपमा काठमाडौँबाट एक जनालाई नियन्त्रणमा लियो । ती व्यक्तिबाट लागु औषध बरामद भएको थिएन । तर ब्युरोको आशा थियो– उनको माध्यमबाट लागु औषध कारोबारीको लहरो समात्न सकिन्छ ।
प्रहरीले चाहेजस्तै ती आरोपीले आफुलाई ब्राउन सुगर उपलब्ध गराउने व्यक्तिहरुको नाम भनिदिए । त्यसका आधारमा प्रहरीले दुई दिनको अन्तरमा ९ जनालाई नियन्त्रणमा लियो । तर एकै ठाउँबाट उनीहरु पक्राउ परेका होइनन् । कतिपयले एक अर्कालाई चिनेका पनि थिएनन् । सुरुमा ती ‘सेवनकर्ता’ ले आफुलाई ब्राउन सुगर उपलब्ध गराउने दुई व्यक्तिको नाम खोलिदिएका थिए।
उनीहरु थिए– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका स्थायी घर भई काठमाडौँ बस्दै आएका ३२ वर्षीय गौतम केसी र दाङको राप्ती नगरपालिका स्थायी घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय प्रयाश थापा । प्रहरीले पक्राउ परेका आरोपीलाई नै ग्राहक बनाएर थापा र केसीसँग ब्राउन सुगर खरिदको डिल गर्यो ।
कात्तिक २२ गते ब्राउनसुगर विक्री गर्न आएको अवस्थामा एक सय मिलिग्रामसहित प्रयास कोटेश्वरबाट र ५ सय मिलिग्रामसहित गौतम हाडिगाउँबाट पक्राउ परे । पक्राउ परेकालाई प्रयोग गर्दै प्रहरीले लागूऔषध खरिदको डिल गर्दै गयो, नयाँ मान्छेहरु थपिँदै गए ।
हरेक अप्रेसनमा ५.५ ग्रामदेखि २४.५ ग्राम परिमाणसम्म ब्राउन सुगर फेला प¥यो । यो लहरोमा जोडिएका ७ जना अझै पक्राउ पर्न सकेका छैनन् ।
यस्तो छ कानूनी व्यवस्था ?
निकै महंगो मानिने ब्राउन सुगर वा कोकिनमा अन्य लागु औषधको तुलनामा कडा कानुनी सजायको व्यवस्था छ । २५ ग्रामभन्दा कम भेटिएको अवस्थामा ५ देखि १० वर्षसम्म जेल सजाय हुन सक्छ ।
एक सय ग्रामभन्दा बढी भेटिएको खण्डमा १५ वर्षदेखि जन्मकैदसम्मको सजायका साथै ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । यस्तै अफिम, कोका वा सोबाट बनेको लागु औषधको सेवन गर्नेको हकमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
तर चिकित्सा केन्द्रमा तीन महिनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरिदिएमा १५÷१५ दिनमा चिकित्सा केन्द्रबाट उपचार गराइरहेको जानकारी पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्ता व्यक्तिलाई सजाय गर्न सक्ने व्यवस्था पनि कानुनमा छ । यसबाहेक लागु औषध मुद्दामा कैद छुटको व्यवस्था हुँदैन ।
गाँजा, चरेस र मनोद्वीपक पदार्थ (फर्मास्युटिकल ड्रग्स) का सेवनकर्ताहरु बढिरहेको नेपालमा पछिल्लो समय ब्राउनसुगरको कारोबारले व्यापकता पाइरहेको विभिन्न तथ्यांकले देखाउँछन् । प्रहरीका अनुसार ब्राउन सुगर नेपाली प्रयोगकर्ताले प्रतिग्राम ८ देखि १० हजार रुपैयाँसम्म लिएर खरिद गर्ने गरेका छन् ।
गाँजाका भोगीहरु कसरी बने ब्राउन सुगरका दुर्व्यसनी
नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ आउनुअघि गाँजा र अफिमको व्यावसायीक खेति हुने गथ्र्यो । विदेशीहरु नेपालमा लागु औषध सेवन गर्न आउँथे । त्यसो त अहिले पनि अवैधरुपमा गाँजा र अफिमका खेतिहरु भइरहेकै छन् । मकवानपुर, धादिङ, रुकुम, रोल्पा, बझाङलगायत जिल्लामा लुकिछिपी गाँजाखेति हुने गरेको अनुसन्धानहरुबाट देखिएको छ ।
यसैगरि अफिमको मकवानपुर, रुकुम, डोटी, बझाङमा खेति हुने गरेको छ । नेपालमा उत्पादन हुने गरेको अफिम कतिपय भारत पुग्ने गरेको छ । ब्राउन सुगर तयार गर्न अफिम आवश्यक हुन्छ ।
ब्युरोमा कार्यरत डीएसपी फणिन्द्र प्रसाई नेपालमा प्रयोग हुने गरेको सबै ब्राउन सुगर भारतमा तयार भई भित्रने गरेको बताउँछन् ।
उनी भन्छन्, ‘भारतमा अफिमको औषधीका रुपमा व्यवसायीक खेति नै हुने गर्छ । खुला सीमा भएकाले त्यहाँ बन्ने लागूऔषध सहजै नेपाल भित्रिन्छ ।’
लागूऔषध दुव्र्यसनीले सुरुमा गाँजा सेवन गर्ने र त्यसपछि कडा किसिमको लागूऔषध खोज्दै जाने गरेको अनुसन्धानले देखाएको छ ।
प्रसाई भन्छन्– ब्राउन सुगर सेवनकर्ताले फेरी गाँजा सेवन गरेको पाइँदैन ।
लामो समय ब्युरोमा काम गरेका पूर्व डीआईजी हेमन्त मल्ल नेपालमा खासगरी गाँजा र मनोद्वीपक पदार्थका दुव्र्यसनीहरु बढिरहेको बताउँछन् ।
उनी भन्छन्– गाँजा सहजै पाइन्छ । मनोद्वीपक पदार्थ पनि औषधी पसलमा सहजै पाइन्छ । त्यसैले दुव्र्यसनीहरुको यसमा लत बढी बस्यो ।
गाँजाको कारोबार गरेको पाइए बरामद परिमाणअनुसार तीन महिनादेखि १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । यसैगरी मनोद्धीपक पदार्थको हकमा दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने कानुन छ । सेवनकर्ताका हकमा मात्र अलग्गै सजायको व्यवस्था छ ।
सहज आपुर्ति, बेग्लै आनन्द र पैसासमेत मनग्गे हुने लोभमा दुव्र्यसनीहरु गाँजा र मनोद्वीपक पदार्थबाट ब्राउन सुगरतिर मोडिन थालेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।
‘गाँजाले झुम्म बनाउँछ रे । ब्राउन सुगरले भने एक्टिभ, फुर्तिलो बनाएको महसुस हुन्छ रे,’ डीएसपी प्रसाई दुव्र्यसनीका अनुभव सुनाउँछन् ।
को कारोबारी, को प्रयोगकर्ता ?
सिन्धुपाल्चोक घर भएका गौतम केसी २०७६ मंसिर ११ गते एक ग्राम ब्राउन सुगर र केही मात्रामा एम्फाटोमाइनसहित पक्राउ परेका थिए ।
अवकाशप्राप्त प्रहरीका छोरा केसीलाई कारोबारीमा प्रहरीले मुद्धा चलाएको थियो । जेल बसेको झन्डै २२ महिनापछि अदालतले फैसला गर्यो– केसी कारोबारी होइनन्, सेवनकर्ता मात्र हुन् । फैसलाअनुसार उनी १० महिना बढी जेल बस्नु पर्यो ।
तर उनै गौतमको लागुऔषध ‘लत’ भने छुटेन । उनी पुन पक्राउ परे । अभियुक्तले अदालतमा गर्ने बयान र बरामद मात्राको आधारमा कारोबारीका रुपमा लगिएका कतिपय मुद्दामा न्यायालयले प्रयोगकर्ता मात्र रहेको भन्दै त्यसैअनुसार फैसला गर्ने गरेको पाइएको छ ।
चितवनबाट एयरलाइन्सबाट पार्सल गरी काठमाडौं पठाइएको ५ सय मिलिग्राम ब्राउन सुगरको घटनामा पक्राउ परेकालाई प्रहरीले प्रयोगकर्ताका रुपमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । चितवनमै बस्दै आएका अमृत क्षेत्री कामको सिलसिलामा काठमाडौँमा रहेका बेला उनलाई सन्दीपले पार्सल गरेर उक्त ब्राउन सुगर पठाएका थिए ।
प्रहरीका अनुसार भर्खरै ब्राउन सुगर सेवन गर्न थालेका उनीहरुमध्ये सन्दीपले नयाँ ब्राउन सुगर आएको, राम्रो भएको र ठुलो मात्रामा उपलब्ध हुन सक्ने भन्दै त्यसको स्वाद लिन स्याम्पल अमृतलाई पठाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त लागु औषध लिन जानेक्रममा प्रहरीले अमृतलाई पक्राउ गरेको थियो । त्यसपछि सन्दीप पनि पक्राउ परे । सन्दीपले पनि उक्त लागू औषध आफुलाई गोविन्द हुमागाईले दिएको बताएका थिए ।
तर अनुसन्धानमा प्रहरी त्यहाँबाट अगाडि बढ्न सकेन । प्रयोगकर्ताका रुपमा मुद्दा चलाउन सिफारिस गरिएका उनीहरुविरुद्ध सरकारी वकिल कार्यालयले कारोबारीमा मुद्दा लग्यो । जिल्ला अदालतले सबैलाई पुर्पक्षका लागि थुनामा पठायो । उच्च अदालतमा पुनरावेदन गरेका उनीहरु एक–एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
एक ग्रामलाई नै ८/१० हजार रुपैयाँ पर्ने भएकाले पक्राउ परेका प्रायलाई कारोबारीमा मुद्धा लैजाने गरिएको ब्युरोको अनुसन्धान अधिकारीहरु बताउँछन् । बरामद परिमाण, पक्राउ पर्दाको अवस्था, अभियुक्तको आर्थिक हैसियत लगायतलाई आधार बनाएर मुद्दा लैजाने गरिएको ती अधिकारीको भनाइ् छ ।
‘ब्राउन सुगरको लागु औषध मुद्दामा कारोबारी देखिए एक मिलिग्राम बरामद भए पनि कम्तिमा ५ वर्ष कैद हुन्छ । त्यसैले कारोबारीहरु पक्राउ परिहाले अदालतमा आफु प्रयोगकर्ता मात्र भएको बयान दिन्छन्,’ ती अधिकारी भन्छन् ।
हाल ब्युरोको हिरासतमा रहेका बर्दियाका रणदीप थापा २४.५ ग्राम ब्राउन सुगरसहित पक्राउ परे पनि उनले आफुले दैनिक २ देखि ४ ग्रामसम्म सेवन गर्ने गरेको प्रहरीलाई बताएका छन् । रणदिप भन्छन्, ‘एक दिनमा २ देखि ४ ग्रामसम्म ब्राउनसुगर सेवन गरिन्थ्यो । खाने भएपछि पैसाको जोहो पनि आफसे आप हुने रहेछ ।’
थापाले आफुलाई प्रयोगकर्ताजस्तो देखाउन दैनिक सेवन गर्ने परिमाण बढी देखाएको अनुसन्धान अधिकारी बताउँछन् ।
२०७२ मंसिरमा पक्राउ परेका बर्दियाका २२ वर्षीय (त्यतिबेला) प्रकाश थारुलाई जिल्ला अदालत काठमाडौंले ५ वर्ष कैद सजाय सुनाएको थियो । उनको साथबाट १० ग्राम ब्राउन सुगर फेला परेको थियो ।
चालु आर्थिक वर्षमा ब्युरोद्वारा साढे ४ ग्रामसहित पक्राउ परेका ३० वर्षीय पंकज शिवाकोटी र १५.५ ग्रामसहित पक्राउ परेका २५ वर्षीय सन्दिप लिम्बु पनि पुर्पक्षका लागि थुनामा छन् । सन्दीपले निश्चित फाइदा पाउने शर्तमा विक्री–वितरण गर्ने गरेको प्रहरीको दावी थियो ।
यस्तै पंकजमार्फत ४७.५ ग्रामसहित पक्राउ परेका २० वर्षीय रत्ने तामाङले मासिक तलब नै लिएर कारोबारमा संलग्न रहेको दावी ब्युरोको थियो । रत्ने अहिले मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।
ब्युरोका निमित्त प्रमुख हृदय थापा नेपालमा ब्राउन सुगरको प्रयोग र कारोबारको स्थिति डरलाग्दो बन्दै गएको बताउँछन् ।
उनी भन्छन्, ‘प्राय सेवनकर्ताहरुलाई परिस्थितिले कारोबारी पनि बनाउँछ । त्यसैले सेवनकर्ता मात्रै हो भन्न गाह्रो हुन्छ । बरु कारोबारी मात्र हुन सक्लान् ।’
ब्राउनसुगरको कुलतमा फस्न धेरैपटक सेवन गरिरहनु नपर्ने थापाको भनाइ छ ।
उनले भने, ‘अध्ययनअनुसार ३ देखि ४ पटक ब्राउन सुगर सेवन गरेमा त्यसपछि नियमित लतमा पर्ने गरेको पाइएको छ । शारीरिकरुपमा नै समस्या देखिने भएकाले उनीहरु जसरी पनि ब्राउन सुगरको खोजीमा हुन्छन् र पैसा भएकालाई स्वाद चखाएर सञ्जाल बढाउँछन् । पछि आफै ल्याएर विक्री गर्ने र आफ्नो आवश्यकता पुरा गर्ने गरेको पाइएको छ,’ एसएसपी थापा भन्छन्।
झापामा डरलाग्दो अवस्था
पछिल्लो तीन साता झापा प्रहरीले ६ वटा छुट्टाछुट्टै घटनामा ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५ ग्रामदेखि ५० ग्रामसम्म ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले चालु आर्थिक वर्षका सुरुका ५ महिनामा ५ सय ८८ ग्राम ८ सय ३५ मिलिग्राम ब्राउन सुगर बरामद भएको बताए । उनले प्रायः भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ पर्ने गरेको पाइएको छ । ब्युरोका निमित्त प्रमुख थापाले पछिल्लो समय पूर्वी नेपालबाट ब्राउन सुगर भित्रने क्रम बढेको र अन्य ठाउँमा पक्राउ पर्ने समेत त्यस क्षेत्रका बढी रहेको बताउँछन् ।
चालु आर्थिक वर्षको सुरुको ५ महिनामा देशभरबाट करिब तीन केजी ८ सय ब्राउन सुगर बरामद भएको प्रहरी तथ्यांक छ । लागु औषधका कसुरमा चालु आर्थिक वर्ष २ हजार २ सय ४६ जना पक्राउ परेका छन् । तीमध्ये ९५ महिला र ६३ जना विदेशी हुन् ।
गत आर्थिक वर्षमा देशभरबाट एक सय ४७ जना विदेशीसहित ४ हजार ६ सय २६ जना पक्राउ परेका थिए । तीमध्ये एक सय ९५ नेपालीसहित २ सय जना महिला थिए । गृह मन्त्रालयले गरेको पछिल्लो सर्भेक्षणमा नेपालमा एक लाख ३० हजार लागूऔषध सेवनकर्ता रहेको र हरेक वर्ष ५ प्रतिशतले बढेको पाइएको छ ।
नेपालका कारागारमा करिब एक तिहाई कैदीबन्दी लागुऔषध मुद्धाकै छन् । करिब २५ हजार कैदीबन्दी रहेकामा दुई सयभन्दा बढी महिलासहित करिब साढे ६ हजारको संख्यामा लागु औषध मुद्धाका कैदीबन्दी रहेको कारागार विभागले जनाएको छ ।
पूर्व डीआईजी मल्ल लागु औषधका दुर्व्यसनीहरुलाई कुलतबाट छुट्न निकै गाह्रो हुने गरेको बताउँछन् ।
‘दक्षिण एसियामा यसको कुलतबाट छुट्न पुनस्थार्पन केन्द्रमा बसेकाहरुमध्ये ९५ प्रतिशतले फेरि सेवन गर्ने गरेको पाइएको छ । त्यसैले यसमा फस्नबाट जोगाउनु नै उत्तम हुन्छ,’ उनी भन्छन् ।