तस्बिरकथा: अरूकाे ज्यान जाेगाउन आफ्नाे ज्यान जाेखिममा
काठमाडौं । एक महिला खोपको बाकस पिठ्युमा बोकेर हिउँसँग पैठाजोरी खेल्दैछिन् । काठमाडौंका युवायुवती चन्द्रागिरीमा गएर हिउँ खेलेको भन्दा यो दृष्य आधारभूतरुपमा फरक छ ।
सामाजिक सञ्जालमा एकाएक यो तस्बिर भाइरल बन्दा प्रेमकुमारी केसी रोमाञ्चित छिन् । उनका स्मृतिपटलमा ती दिनहरु ताजा भएर आएका छन्, जब बाग्लुङको बडिगार्ड गाउँपालिका-७ स्थित रणसिंहकिटेनी स्वास्थ्यचौकीमा कार्यरत थिइन् । खोप लगाउन दुर्गम गाउँमा जाने क्रममा हिँउसँग कुस्ती खेल्नु त्यसबेला उनका लागि सामान्य नै थियो । तर, अहिले सम्झिँदा अत्याश लाग्छ ।
यो तस्बिर सँगै गएकी सोही हेल्थपोस्टकी इन्चार्ज निशा पुनले खिचिदिएको उनलाई राम्ररी सम्झना छ । हिउँको पहाडलाई छिचोलेर उनले २० जनाभन्दा बढी बालबालिकालाई खोप लगाइदिन पुग्नु थियो । हिँउमा चिप्लिएर भिरबाट तल पुगिने डरले उनी घुँडा टेकेर हिँडेकी थिइन् ।
यो तस्बिर आज स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आफ्नो फेसबुक पेजमा राखेको थियो । यसलाई धेरैले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, तस्बिर एक वर्ष अघिको हो । बडीगाड ७ मा घर भएकी प्रेमकुमारी अहिले भने बडिगाड गाउँपालिका ६ खालामा कार्यरत छिन् ।
आफ्नो पुरानो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल हुँदा खुशी छन् प्रेमकुमारी । उनले त्यो तस्वीरको कथा हामीलाई यसरी सुनाइन्ः
म पहिला बडीगाड-७ को रणसिंहकिटेनी स्वास्थ्यचौकीमा अनमी थिए । मैले त्यहाँ डेढ वर्ष करारमा काम गरेँ । अहिले बडिगाड ६ को आधारभुत स्वास्थ्य चौकी खालामा छु ।
अहिले भाइरल भएको फोटो एक वर्ष अगाडिको हो । मैले त बिर्सिसकेको थिएँ । त्यसदिन हामी हेल्थपोस्टदेखि नेपाने भन्ने स्थानमा खोप लगाउन जान लागेका थियौं । मसँग सोही हेल्थपोस्टकी इन्चार्ज निशा पुन हुनुहुन्थ्यो ।
मैले बच्चाहरुलाई लगाउने रेगुलर इम्युनाइजेसन भ्याक्सिनको खोपबक्स बोकेको थिएँ । नेपाने भौगोलिक रुपमा एकदमै विकट गाउँ हो । त्यहाँ अहिलेसम्म सडक सञ्जाल पुगेको छैन । त्यहाँका स्थानीयहरु एउटा सिटामोल लिन ६ घण्टा हिँडेर रणसिंहकिटेनी स्वास्थ्य चौकी आउनुपर्ने वाध्यता अझै पनि छ ।
हामी त्यहाँ जाँदा एकदम गाह्रो थियो । सडक त अहिले पनि पुगेको छैन । हामी ६ घण्टाको बाटो हिँडेर गयौं । त्यतिबेला हिउँ परिरहेको थियो । हिउँ पर्यो भनेर हामी खोप लगाउन नजाने कुरा भएन । जाडो छ भनेर रोकिने अवस्था पनि थिएन । जसरी पनि पुग्नुथियो ।
इन्चार्ज निशा र म जाने भयौं । हामी दुई जनाले पालैपालो गरी खोप बोकेर गएका हौं । त्यो फोटो उहाँले नै खिचिदिनुभएको हो ।
फोटो खिचिदिनुभएको ठाउँमा हिउँ २ फिट गहिरो हिउँ थियो । बाटो आफैले बनाउनुपर्ने । भीरको बाटो थियो । पहिले हिउँ नपर्दा त्यो भीरबाट खुट्टा चिप्लिएर लडेका थियौं । सिधै ३ सय मिटर तल खोलामा पुगिन्थ्यो ।
एकछिन त नजाउँ जस्तो पनि लागेको थियो । तर मनले मानेन । यत्रो दुख गरेर त आइयो, अब यति त जसरी पार गर्नुपर्छ भनेर घुँडा टेकेर हिड्यौं । त्यो अप्ठयारो बाटो पार गरेपछि त अब चाहिँ बाचियो भन्ने फिल भयो ।
ज्यानको बाजी राखेर नै गएको हो । एकदमै गाह्रो भएको थियो । त्यहाँबाट हिँड्न हिउद र बर्खा औधि गाह्रो छ । हिउँ पर्ने बेला पनि समस्या हुन्छ । त्यो भिरबाट खुट्टा चिप्लिएर खस्यो भने एकैचोटि खोलामा पुगिन्छ ।
त्यो दिन ६ घण्टा हिँडेर हामी नेपाने पुग्यौं । त्यहाँ पुगेर २० जना बालबालिकालाई समयमै खोप लगायौं । खोप लगाउन पाएपछि आउँदा दुख पाएकै विर्सियौं ।
अहिले पनि त्यहाँ त्यस्तै दुख छ । एउटा सिटामोल लिन लगभग ५-६ घण्टा हिँड्नुपर्छ । गाउँका मान्छेहरु बजार जाने गाउँपालिकासम्म आउन त्यही बाटो प्रयोग गर्छन् । रोडको बाटो धेरै टाढा छ ।
अहिलेको स्वास्थ्यको चौकीमा पनि गाह्रो नै छ, तर पहिलेजस्तो टाढा छैन । यहाँ भर्खर सडक सञ्जाल पुगेको छ । तीनवटा खोपकेन्द्र छन् । त्यहाँ गएर खोप दिनुपर्छ । हाम्रो उद्देश्य भाइरल हुने भन्दा पनि जनताको सेवा गर्ने हो । जे भए पनि खुशी छु । अझै डटेर काम गर्न हौसला मिलेको छ ।