कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित – Nepal Press

कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोभिडको तेस्रो लहरका कारण बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केहीदिनमै यसबारे औपचारिक निर्णय लिइने जनाएको छ ।

सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू गरेको निर्देशिकामा २५ जनाभन्दा बढी सहभागि हुनेगरी औपचारिक भेला, समारोह आदि गर्न बन्देज लगाइएको छ । यसको प्रत्यक्ष प्रभाव कांग्रेसका बाँकी जिल्ला अधिवेशनमा देखिनेछ ।

निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले कोभिडका कारण जिल्ला अधिवेशन गर्ने परिस्थिति टर्दै गएको बताए । ‘जिल्ला अधिवेशन गर्न परिस्थिति अप्ठ्यारो बन्दै गएको छ । निर्वाचन समितिले केही दिनमा आवश्यक निर्णय लिनेछ’, रावलले नेपाल प्रेससँग भने । माघ १५ मा नहुने निश्चित भइसकेको जिल्ला अधिवेशनको नयाँ मिति तोक्न पनि कठिनाइ देखिएको छ । कोभिडको तेस्रो लहर समाप्त भएपछिमात्रै नयाँ मिति तोकिने सम्भावना छ ।

निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीलाई मातृशोक परेका कारण बैठक बस्न ढिलाइ भएको हो । कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न गरिसकेको छ । १६ जिल्लामा भने क्रियाशील सदस्यता लगायतका विवादका कारण अधिवेशनमा ढिलाइ भएको थियो ।

यसअघि गत पुस २७ गतेका लागि ती जिल्लामा अधिवेशन तोकिएको भएपनि राष्ट्रिय सभा निर्वाचनको कारण देखाउँदै माघ १५ गतेका लागि सारिएको थियो ।

कांग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर