कोभिड-१९ रोकथाम गर्न स्थानीय तहसँग समन्वय भएन: मेयर शाक्य – Nepal Press

कोभिड-१९ रोकथाम गर्न स्थानीय तहसँग समन्वय भएन: मेयर शाक्य

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताएका हुन् ।

बिहीबार सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको भएपनि सरकारले पछिल्लो समय कोभिड–१९ को सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको उनले बताए । कोभिडको अघिल्ला लहरहरुमा सरकारी संयन्त्रले स्थानीय तहसँगको समन्वयमा मात्र हरेक निर्णयहरु गरेका कारण क्षति कम बेहोर्नुपरेको भन्दै स्थानिय तहसँग समन्वय गरेर अगाडी बढेका क्षति कम हुने उहाँले उल्लेख गरे ।

उनले भने,‘पहिले सुरुमा हुँदाखेरी प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, विभागिय मन्त्रीहरुले हामीसँग सल्लाह गर्नुहुन्थ्यो । उपत्यका नगरपालिका फोरमको कहिले संयुक्त रुपमा बैठक बोलाउथ्यौँ । धेरै कुरा हामीहरुसँग छलफल हुन्थ्यो । समस्या के हो ? त्यसको समाधान गर्ने के हो ? माथिबाट निर्णय हुन्छ । यहाँ केही भयो भने माथिल्लो लेभलको कोही पनि खोज्दैन । खोज्ने मेयर, वडा अध्यक्ष नै हो । गर्ने त हामी नै हौँ नि । हिजो कोरोनाबाट देशलाई बचाउन र सिंगो उपत्यकालाई बचाउन, महानगर बचाउन हामी आ–आफ्नो ठाउँमा क्रियाशिल भयौँ ।  अहिले समानान्तर रुपमा हिडिराखेको हो कि जस्तो स्थानीय सरकार भनेको केही पनि होइन जस्तो गरेको अनुभुति भएको छ ।’

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयले जिल्ला प्रशासन कार्यालय अथवा डिसीसीएमसीलाई तोकेको जिम्मेवारी अनुसार नै काम गरेको बताए ।

प्रशासन सरकारी निर्णयको कार्यान्वयन गराउने निकाय मात्रै भएको उल्लेख गर्दै प्रशासनले छुट्टै प्रकारको निर्णय नगरेको स्पष्ट पारे । उनले सबैको आ–आफ्नो भुमिका, काम, कर्तव्य र अधिकार स्पष्ट भएकाले समन्वयको अभाव नभएको जिकिर गरे।

 

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नेमा जोड दिएको बताए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *