फागुन १२ भित्र राप्ती शिक्षालय सार्न लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन – Nepal Press

फागुन १२ भित्र राप्ती शिक्षालय सार्न लुम्बिनीका मुख्यमन्त्रीको निर्देशन

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानी व्यवस्थापनका लागि दाङको राप्ती प्राविधिक शिक्षालयलाई फागुनको १२ गतेभित्र सरिसक्नका निर्देशन दिएका छन् ।

राजधानी व्यवस्थापन तथा राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरण समितिको बैठकमा बिहीबार उनले प्रदेशको सरकारको पहिलो सपना राजधानी निर्माण एवम् व्यवस्थापन भएको बताउँदै ठाउँ खाली गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिश्वकर्माले जानकारी दिए ।

मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी निर्माणका लागि राप्ती प्राविधिक शिक्षालयले छिटो प्रक्रिया अगाडि बढाइदिएमा त्यसमा ग्रामीण, पर्यटन एवम् पूर्वाधार मन्त्रालयले त्यसको व्यवस्थापन तयारी सुरु गर्ने बताए ।

उनले प्रदेश सरकारले स्थानान्तरणका लागि राप्ती प्राविधिकलाई प्रदान गरेको १० करोड रुपैयाँको कार्ययोजना बनाएर पेश गर्नका लागि प्राविधिक शिक्षालय प्रमुख शालिकराम डाँगीलाई निर्देशनसमेत दिए । उनले भने, ‘तपाईहरुले प्रदेश सरकारमा कार्ययोजना बनाएर पठाउनुहोस्, सरकारका मन्त्री, प्रमुख सचिव, सचिवहरुले पनि सहयोग गर्नुहुन्छ ।’

मुख्यमन्त्री केसीले राजधानीको निर्णय हुँदा जमिन दिनका लागि तयार भएका सबै बासिन्दालाई धन्यवाद दिँदै आफ्नो एवं गठबन्धन सरकारको सपनालाई साकार पार्नका लागि पनि अझै नयाँ ढंगबाट सहयोग गर्नका लागि राप्ती र गढवाबासीलाई अपील गरेका छन् ।

बैठकमा ग्रामीण पर्यटन तथा शहरी विकास मन्त्री दिल्ली चौधरीले प्रदेशको राजधानी निर्माणका लागि सबै काम आफ्नो मन्त्रालयले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी शिक्षा मन्त्री बसिउद्धिन खाँले शिक्षा क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको बताउँदै आगामी दिनमा पनि राप्ती प्राविधिक शिक्षालयको विकासमा र सरस्वती माविको विकासमा लागिपर्ने बताए ।

स्वास्थ्य, जनसंख्या एवं परिवार कल्याण मन्त्री इन्जजित थारुले स्थानीयबासीले प्रदेश सरकारको योजनालाई साथ दिनका लागि लागि परेकोले प्रदेश सरकारले अब छिटो कदम चाल्नुपर्ने सुझाव दिए ।

राप्ती प्राविधिक शिक्षाका प्रमुख शालिकराम डाँगीले राजधानी निर्माणको लागि राप्ती प्राविधिक शिक्षालय सार्न सरोकारवालाको सहयोग पाएमा ढिलाइ नगरिने बताए । उनले प्रदेश सरकारले फागनु १२ बटम लाइन दिएर सजिलो भएको बताउँदै त्यसलाई कार्यान्वयन गर्नका लागि आफू र विद्यालय परिवार लाग्ने उनको भनाइ छ ।

उनले प्रदेशको राजनधनी निर्माणका लागि प्रदेश सरकारले निर्णय गरिसकेको बताउँदै अब छिटो गढवा गाउँपालिकाको सरस्वस्ती माविमा सार्नका लागि अब कार्य थालनी गरिएको जानकारी बैठकमा दिएका थिए ।

उनले भौतिक संरचनाका लागि विद्यालय भवन निर्माण विद्यार्थीहरुको लागि बस खरिद, राप्ती प्राविधिक शिक्षाको रणनीति योजना, गढुवा गाउँपालिकामा प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा गाउँपालिकाकामा बृहत कार्यक्रम गर्ने, प्राविधिकको शिक्षालयको शैक्षिक पठन पाठन कार्य गढुवा गाउँपालिकाबाटै गर्न सकिने जानकारी दिए ।

सरस्वस्ती माविका विद्यालय व्यवस्थापन समितिका विश्वास विश्वकर्माले प्रदेश सरकारले गरेको निर्णयलाई छिटोभन्दा छिटो सहयोग गर्ने गरी कार्यक्रम रहेको त्यसमा सबै अभिभावक संघ सल्लाह गर्ने र कार्यन्वयमा प्रदेश सरकारलाई सहयोग गर्ने बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सरकारको पहिलो कार्यभार राजधानी व्यवस्थापनलाई बनाउनुपर्ने विचार व्यक्त गरे ।

स्थायी राजधानीका लागि राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको समय तोकिनु, जमिन प्राप्तिको लागि प्रदेश सरकारले निर्णय गरेर संघीय सरकारमा पठाउनु, राजधानी निर्माणको लागि गुरुयोजना निर्माणको काम अन्तिममा पुराउनु, राजधानी निर्माणका लागि संघीय सरकारले पनि १ अर्व बजेट प्रदान गर्नु, प्रदेश सभा भवन तीव्र गतिमा निर्माण हुनुले पनि अब लुम्बिनीको स्थायी राजधानीमा छिटो संरचना बन्ने आधार तयार भएको सरकारको भनाइ छ । १७ महिनाअघि प्रदेश सभाले यो क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर