२५ वर्षीया अन्जली जो दर्जनौं किशोरीको अभिभावक बनिरहेकी छन्
कैलाली । अभावबाट नै उपाय निस्कन्छ । आफ्नो भोगाइबाट पाठ सिकेर आफूपछिका पुस्तालाई सहजताका लागि कन्चनपुर पुनर्वासकी एक युवाले तीन वर्षअघि सुरु गरेको उद्यम धनगढीमा सफलताउन्मुख छ ।
अञ्जली केसी एसइई पछि उच्च शिक्षाको लागि धनगढी पुगिन् । धनगढीको नास्टमा अध्ययन सुरु गरेकी उनलाई घरबाट आउजाउ गर्न सम्भव थिएन । परिवारले गर्ल्स होस्टेलमा बस्न भने पनि उपयुक्त होस्टेल पाइएन । त्यसपछि हो उनलाई होस्टेल सन्चालनको सोच आएको ।
सुदूरपश्चिमको सबैभन्दा ठूलो शहर धनगढीमा कन्चनपुरसँगै पहाडी जिल्लाबाट पनि उच्चशिक्षाका लागि विद्यार्थीहरु आउने गर्छन् । ती विद्यार्थीकै सहजताका लागि र उनीहरुलाई नै लक्षित गरी सुरु भएको हो– गुडविल गर्ल्स होस्टेल ।
‘म र मेरो अर्काे साथी भएर केटीहरुको लागि मात्र होस्टेल खोल्ने योजना बनाएका थियौं,’ २५ वर्षीय अन्जलीले भनिन् , ‘सुरुमा बुबाआमाले मान्नुहुन्न कि भनेर कसैलाई भनेका थिएनौं । तर योजना सफल भएपछि उहाँहरुले पनि राम्रो साथ दिनुभएको छ ।’
निजी विद्यालयमा ४ वर्ष अध्यापन गरेपछि अन्जलीले त्यही पैसा बचाएर तीन वर्षअघि गुडविल गल्र्स होस्टेलमा लगानी गरेकी हुन् । इन्स्टिच्युट पनि सन्चालन गरेकी छन् । ‘केही रकम पढाएकोबाट र केही रकम इन्स्टिच्युटबाट जम्मा गरेको थिएँ ’उनले भनिन्, ‘बाँकी केहि ऋण लिएको छु ।’ सुरुमा बाल्यकालको साथी रबिना श्रेष्ठसँग मिलेर होस्टेल चलाइरहेको भए पनि अहिले उनी एक्लैले यसको जिम्मेवारी लिएकी छन् ।
अहिले कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका १५ जनाभन्दा बढी किशोरीहरू यहाँ बस्दै आइरहेका छन् । मासिक ८ हजारमा खान र बस्न पाइने भएको हुँदा पनि अध्ययन गर्न आएका किशोरीहरूलाई सहज भएको छ ।
‘पहाडी जिल्लाबाट धनगढी पढ्न आएका किशोरीलाई निकै समस्या हुन्छ’ अञ्जली भन्छिन्, ‘अभिभावक नहुँदा उनीहरूलाई पर्ने समस्याहरू समाधानका लागि पनि हाम्रो प्रयास रहन्छ ।’
धनगढीमा अहिले पनि किशोरीहरूलाई महिनावारीको समयमा भाडामा बसेको घरमा विभिन्न प्रकारका समस्या हुने गरेको उनको अनुभव छ ।
‘महिनावारी हुँदा समस्या भएपछि सुरुमा मैले पनि एक महिनामै घर छोडेको थिए,’ उनले भनिन्, ‘त्यो समयमा घरधनीबाट हुने अनावश्यक दवावले मानसिक रुपमा समस्या हुन्छ ।’
धनगढीमा अहिले पनि कतिपय घरहरूमा महिनावारी भएको समयमा धारा र शौचालय प्रयोग गर्न नदिने समस्या छ । अन्जलीले आफैंले होस्टेल चलाउने आँट गर्नुका कारणहरुमध्येको यो पनि एक हो ।
यहाँ बस्ने सबैले पारिवारिक वातावरण पाएका छन् । चाडपर्व र जन्मदिनमा सबै मिलेर रमाइलो गर्छन् । कोरोना महामारीअघिसम्म २७ जना किशोरी युवतीहरु बस्ने गरेकोमा अहिले १५ जना छन् ।
‘हामीलाई पढ्नको लागि कोठामा भन्दा बढी सजिलो यहाँ हुन्छ’ डडेल्धुराकी अनिता भट्टले भनिन् ‘यहाँ पाकेको खान खान पाइन्छ । त्यसैले पढाइमा बढी समय दिन पाइन्छ ।’
कैलाली सुखडकी एलिसा न्यूरेको अनुभव पनि त्यस्तै छ । ‘हामीले यहाँ घरकै जस्तो वातावरण पाएका छौं । डेरामा भन्दा यहाँ सुरक्षित महशुस भएको छ,’ उनले भनिन् । यहाँ बस्नेहरु प्रायः नर्सिङका विद्यार्थीहरु छन् ।
केही दिन अघि मात्रै यो होस्टेलले तीन वर्ष पूरा गरेको छ । वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरियो । उक्त दिन २० जनाले रक्तदान गरे । कार्यक्रममा उपस्थित भएका सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले पनि कम उमेरमा किशोरीहरूको अभिभावक भएकी अन्जलीको प्रशंसा गरेका थिए ।
‘अध्ययनको लागि आफ्नो घर भन्दा टाढा पुग्दा किशोरीहरूलाई अभिभावकको खाँचो हुन्छ,’ उनले भनेका थिए, ‘किशोरीको अभिभावक बनेकी अञ्जलीलाई धन्यवाद ।’