रेणु यादवलाई कांग्रेस महामन्त्रीले दिए तीन विकल्पः क्षमायाचनादेखि पदमुक्तसम्म – Nepal Press

रेणु यादवलाई कांग्रेस महामन्त्रीले दिए तीन विकल्पः क्षमायाचनादेखि पदमुक्तसम्म

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री रेणु यादवले पछिल्लो समय दिएको हिंसात्मक अभिव्यक्तिमाथि टिप्पणी गर्दै तीनवटा विकल्प अघि सारेका छन् । शर्माले दिएका तीन विकल्पमा क्षमायाचनादेखि पदमुक्त गर्नुपर्नेसम्मका छन् ।

उनले दिएको पहिलो विकल्पमा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिने यादवले भुल सुधार र क्षमायाचना गर्नुपर्नेछ । त्यस्तै दोस्रो विकल्पमा उनले सम्बन्धित दलले पहलकदमी लिएर पदबाट राजीनामा गराउनुपर्ने छ । त्यस्तै तेस्रो विकल्पमा उनले भनेका छन्, पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त ।

उनले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनै पर्दछ भन्दै हिंसा भड्काउने अभिव्यक्ति स्वीकार्य नहुने पनि बताएका छन् । ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न’, उनले भनेका छन् ।

मन्त्री यादवले केही दिनअघि मधेसको एक कार्यक्रममा फेरि गौर हत्याकाण्ड जस्तै अर्को घटना हुने बताएकी थिइन् । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै उनले फेरि त्यस्तै हत्याकाण्ड हुनसक्ने चेतावनी दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर