समानान्तर प्रदेश प्रतिनिधि चयन गरेकोमा एमाले सुर्खेतको आपत्ती – Nepal Press

समानान्तर प्रदेश प्रतिनिधि चयन गरेकोमा एमाले सुर्खेतको आपत्ती

सुर्खेत । नेकपा एमाले सुर्खेतले निर्वाचन क्षेत्र नम्वर १ ‘क’ मा पार्टीले वैधानिक रुपमा सर्वसम्मत प्रदेश प्रतिनिधि चयन गरेको प्रष्ट पारेको छ ।

होटलमा वा कोठामा प्रदेश प्रतिनिधि चयन गरेको भनेर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै एमाले सुर्खेतका अध्यक्ष अमृत विसीले पार्टीभित्र कुनै गुट नभएको र विधि विपरीत बजारमा हल्ला गर्नेहरुको कुरा नपत्याउन आग्रह गरे ।

‘लोकतान्त्रिक परिपाटीबाट हामीले जिल्ला नेतृत्व चयन गरेका हौं । प्रदेश प्रतिनिधि चयनका लागि सर्वसम्मत गर्ने प्रयास अन्य तीन निर्वाचन क्षेत्रमा जारी छ । यहाँ पार्टीमा महत्वपूर्ण योगदान दिएका र प्रदेश तहमा नपाठाई नहुने नेता कार्यकर्तालाई सर्वसम्मत रुपमा पठाएका हौं,’ उनी भन्छन्, ‘उहाँहरुलाई तत्काल सच्चिन हामीले सचिवालयको वैठकबाट अनुरोध गरेका छौं । आज हामी मातहतका पार्टी कमिटीलाई अपानी समेत पठाउँदैछौं ।’

असन्तुष्ट भनिएका पक्षहरुले आत्मआलोचना गर्दै सुध्रिने अपेक्षा आफूले गरेको अध्यक्ष विसीको भनाई छ ।

‘उहाँहरुलाई अहिले नै कारवाही गर्ने भन्ने कुरा छैन । हामी वार्ता र छलफल गर्छौं ।’ एमाले सुर्खेतका सचिव कविन्द्रकुमार केसीले भने, ‘उहाँहरुले गर्नुभएको कार्य गलत हो । सोही अनुसार उहाँहरुसँग कुराकानी अघि बढाउँछौं ।’

उनीहरु सुध्रिन नमाने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यसका लागि हामी अर्को वैठकमा छलफल गर्छौं । जहाँसम्म लाग्छ उहाँहरुले पार्टीको विधि अनुसार कमजोरी स्वीकार गरेर आउनुहुनेछ ।’

के हो विवाद ?

आठ माघमा एमाले निर्वाचन क्षेत्र नम्बर एक प्रदेश सभा १ ‘क’ मा सर्वसम्मत प्रतिनिधि चयन भएको घोषणा गरिएको थियो ।

एमाले उपाध्यक्ष कुलमणि देवकोटा, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, केशरबहादुर तारामी, डम्मर तिवारी, पूर्णप्रसाद पौडेल, खड्ककुमार भट्टराई, ऋषि गिरी, निलकण्ठ खनाल, चर्तुभूज शाही, विष्णुबहादुर शाही, टिकाराम आचार्यलाई छनाोट गरेको घोषणा गरिएको थियो ।

त्यस्तै, महिलाबाट टीका अधिकारी, वाग्मती गुरुङ्ग, मधुरानी ढकाल, लक्ष्मी शाही, धर्मा सुवेदी र देवि पौडेल, दलिततर्फ गंगाराम सुनार, प्रेम रामदाम, रत्नबहादुर सुनार र भीमबहादुर गुरताल, दलित महिला कोटाबाट मञ्जु नेपाली र लक्ष्मी विक चयन भएको घोषणा गरिएको थियो । यसैलाई आधिकारिक मान्न जिल्ला कमिटी सुर्खेतले मातहतका कमिटीलाई निर्देशन दिने तयारी गरेको छ ।

नौ गते आइतबारका दिन एमालेको असन्तुष्ट समूहले पनि प्रदेश प्रतिनिधि चयन गरेको घोषणा गरेको थियो ।

एमाले नेता ऋषि गिरीको संयोजनमा आइतबार वीरेन्द्रनगर स्थित घण्टाघरमा भएको भेलाबाट २४ जना प्रतिनिधी सर्वसम्मत छनोट भएको घोषणा गरिएको छ । अन्य पुरुष १२ जनामा ऋषि गिरी, टीकाराम शर्मा, धन बहादुर रावत, कृष्ण चौधरी, नन्दलाल शर्मा, थानेश्वर कँडेल, टोप बहादुर खाँड, कृष्ण प्रसाद तिवारी, प्रेम ओली, निरक बहादुर ओली, नवराज सुवेदी र जित बहादुर रामजाली छनाेट भएको जनाइएको थियो ।

त्यसैगरी अन्य महिला ६ जनामा रेवती आचार्य, हरिमाया कार्की, हरिकला शर्मा, विमला थापा, सुमन वि.क., भूमिसरा चपाई, दलित पुरुष ४ जनामा धन बहादुर चुनारा, शेर बहादुर वि.क., बालकृष्ण चुनारा, हिरालाल बादी, दलित महिला २ जनामा मञ्जु सुनार नेपाली र तृप्ती वि.क. छन् ।

प्रदेश कमिटी सदस्य डम्मर नेपालीको संयोजकत्वमा रहेको तीन सदस्यीय निर्वाचन मण्डलले प्रतिनिधी छनोटको घोषणा गरेको हो । निर्वाचन समिति सदस्यमा तोरण विक र नन्दप्रसाद काफ्ले सदस्य रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर