राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा तयारी पूरा – Nepal Press

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा तयारी पूरा

रुपन्देही । ३ सदस्य पदका लागि लुम्बिनी प्रदेशमा १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशको राजधानी दाङको घोराहीमा निर्वाचनको सबै तयारी पूरा भएको, कोरोना संक्रमणको सर्तकता अपनाइएको र संक्रमित मतदातालाई पनि अलग्गै मतदानको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

२० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण १२ माघमा सबै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्न लागिएको हो । ती मध्ये ३ जना लुम्बिनी प्रदेशमा रहेका छन् । निर्वाचनमा तीन पदका लागि ६ जनाको प्रतिस्पर्धा छ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार प्रस्तुत भएका छन् भने एमाले एक्लै चुनावी मैदानमा छ ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीका एकएक जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो)को तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार बनेका छन् । खुलाबाट शर्मा, महिलाबाट गैरे र दलितबाट विश्वकर्माले उम्मेदवारी दिएका हुन् । एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार छन् ।

निर्वाचन कार्यालयका अनुसार लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता छन् । अहिले राष्ट्रिय सभाको मतभार सात हजार सात सय ५८ रहेको छ ।

निर्वाचित जनप्रतिनिधिले नै मतदान गर्ने भएको र लुम्बिनीमा गठबन्धन धेरै बलियो भएकाले गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चितजस्तै छ । केही समयअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि यहाँबाट अहिलेको गठबन्धनका उम्मेदवार विजय भएका थिए ।

लुम्बिनीमा राष्ट्रियसभाको निर्वाचनमा भाग लिन पाउने ३०५ मतदातामध्ये नौजना मतदाता रिक्त अवस्थामा छ । प्रदेशका ८७ प्रदेश सभा सदस्यबाट घटेर ८१ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१५ जनाले मत दिनेछन् ।

स्थानीय तहमा एमालेका ८८ प्रमुख, उपप्रमुख छन् । कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ । गाउँपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यसअनुसार कांग्रेसका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन् ।

माओवादी केन्द्रका ३६ प्रमुख उपप्रमुख छन् । एकीकृत समाजवादीका चारजना प्रमुख, उपप्रमुख छन् । जसपाका १३ प्रमुख, उपप्रमुख छन् । जनमोर्चामा पाँच प्रमुख, उपप्रमुख छन् । राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन् । प्रदेश सभा सदस्यमा एमालेका ३६, कांग्रेसका १९, माओवादीका १९, जसपाका चार, राजमोको एक, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक जना छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर