घण्टी जुलुस गरेर वन पैदावारमा तेहेरो करको विरोध – Nepal Press

घण्टी जुलुस गरेर वन पैदावारमा तेहेरो करको विरोध

काठमाडौं । सामुदायिक वनका उपभोक्ताहरुले वन पैदावारमा तेहेरो कर लगाउने तयारी गरिएको भन्दै घण्टी जुलुस जिकालेर विरोध गरेका छन् । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालको अगुवाईमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हो ।

सोमबारदेखि सुरु भएको आन्दोलन एक महिनासम्म रहने महासंघले जनाएको छ । वन नियमावली २०७८ को मस्यौदामा समुदायको अधिकार कटौती गरी तेहोरो कर लगाउने तयारी गरेको भन्दै उपभोक्ताहरु विरोधमा उत्रिएको महासंघकी अध्यक्ष भारती पाठकले बताइन् ।

प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार गर्दै तेहेरो कर लगाएर वन पैदावार सदुपयोगमा लाद्न खोजिएको प्रतिबन्धको विरोधमा आन्दोलित हुनुपरेको उनले बताइन् ।

वन ऐन २०७६ को कार्यान्वनका लागि तर्जुमा गरिएको वन नियमावलीको मस्यौदा उपर विगत लामो समयदेखि छलफल हुँदै आएको र वन तथा वातावरण मन्त्रालय र सम्बन्धित सरोकारवालाबीच सहमति भएका विषयहरुलाई समेत वेवास्ता गरी वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकार कटौती गरेको आरोप छ ।

समुदायलाई गम्भीर आघात पर्नेगरी विभिन्न व्यवस्थाहरु समावेश गरिएको भन्दै विरोधका कार्यक्रम सुरु गरेको महासंघको भनाइ छ । प्रदेश सरकारहरुले तर्जुमा गरेका प्रदेश वन ऐनमा संघीय वन ऐन २०७६ विपरीतका व्यवस्थाहरु गरी सामुदायिक वनमा हस्तक्षेप गरेको पाठकले बताइन ।

नेपाल सरकार र प्रदेश सरकारले सामुदायिक वन क्षेत्रमा नै विभिन्न नामका संरक्षित क्षेत्रहरुको घोषणा र विस्तार गरी सामुदायिक वनलाई गम्भीर असर पारेको उपभोक्ताहरुको भनाई छ ।

त्यसैगरी सामुदायिक वनमा निरन्तर रुपमा तेहेरो कर लगाउने र वन पैदावारको सदुपयोगमा रोक लगाउने कार्य गरिँदै आएकोमा घोर आपक्ती जनाउदै संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरुमा समावेश गरिएका सामुदायिक वनविरोधी व्यवस्थाहरु हटाई तत्काल सुधार गर्न सरकारसँग महासंघले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर