राष्ट्रियसभा निर्वाचन : मत सुरक्षित गर्न सुदूरपश्चिममा मौन अवधिमै प्रशिक्षणको तयारी – Nepal Press

राष्ट्रियसभा निर्वाचन : मत सुरक्षित गर्न सुदूरपश्चिममा मौन अवधिमै प्रशिक्षणको तयारी

कैलाली । राष्ट्रियसभाका १९ सदस्यका लागि भोलि हुने निर्वाचनका लागि तयारी तीव्र छ । यसैक्रममा सुदूरपश्चिममा पनि तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस प्रदेशका कैलाली, कञ्चनपुरलगायत सातै जिल्लाका मतदाता धनगढी आउने क्रममा छन् । यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

मतदाताको व्यवस्थापन सम्बन्धित दलहरूले गरिरहेका छन् । मौन अवधि सुरू भए पनि आफ्ना उम्मेदवारहरूलाई जिताउन अभियान चलाइएको छ ।

मतदातालाई सामूहिक भेला गराएर आफ्ना उम्मेदवारहरूलाई भोट हाल्न निर्देशन दिने तयारी भइरहेको छ । आज साँझ ५ बजेपछि नेपाली कांग्रेसले धनगढीको होटेल जलसामा प्रशिक्षण दिने जनाएको छ । कांग्रेस संसदीय दलले यसअघि नै साझा उम्मेदवारलाई जिताउन निर्देशन दिने निर्णय गरिसकेको छ ।

कांग्रेस जनप्रतिनिधिको व्यवस्थापनको जिम्मा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले पाएका छन् । उनले साँझ ५ बजेपछि होटेलमै उम्मेदवारसँग परिचय गराउने र गठबन्धनका उम्मेदवारलाई भोट दिन निर्देशन जारी गर्ने कार्यक्रम रहेको बताए ।

‘गठबन्धनका तीनै जना उम्मेदवारहरूको उपस्थितिमा हाम्रा पार्टीका जनप्रतिनिधीहरुलाई परिचय गराउने र उहाँहरूलाई भोट दिन आग्रह गर्ने कार्यक्रम रहेको छ’ उनले भने ।

गठबन्धनको तर्फबाट खुल्लामा नेपाली कांग्रेस कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेलधुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाह चुनावी मैदानमा छन् ।

कांग्रेसको प्रशिक्षणअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले सामूहिक प्रशिक्षण आयोजना गरेका छन् । दुवै दलका जनप्रतिनिधि मतदातालाई एकीकृत समाजवादी पार्टीको कार्यालयमा ३ बजे बोलाइएको छ । त्यहाँ पनि गठबन्धनका उम्मेदवारहरूलाई बोलाइएको छ ।

‘संसदीय दलले यस अघि नै गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचित गराउने निर्णय भइसकेको छ’ नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले भने ‘उहाँहरूले आज तीन बजे सामूहिक रूपमा भोट माग्नुहुने छ ।’

मौन अवधि सुरु भएको हुँदा औपचारिक रूपमा कार्यक्रम आयोजना गर्न नपाइने भए पनि दलहरूले आफूनिकटका जनप्रतिनिधिलाई बोलाएर उम्मेदवारहरूसहित प्रशिक्षण दिन लागेको हो ।

नेकपा एमालेले भने कोरोना संक्रमणका कारण सामूहिक रूपमा प्रशिक्षणको कार्यक्रम आयोजना नगरेको दाबी गरेको छ ।

सोमबार एमालेले पनि आफ्ना उम्मेदवारलाई मत दिन सबै आफूनिकटका प्रतिनिधिलाई निर्देशन दिने निर्णय समेत गरिसकेको छ ।
एमालेले महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको छ ।

‘हामीले हाम्रो मत सुरक्षित गर्ने र अरूको मत समेत माग्ने गरी तयारी गरिरहेका छौं’ एमाले प्रदेश सचिव धर्मराज पाठकले भने, ‘कोरोना कहरले गर्दा हामीले भेला आयोजना गरेर यस्तो कार्यक्रम आयोजना गरेका छैनौं ।’

उनले सम्बन्धित जिल्ला अध्यक्ष र इन्चार्जहरूलाई आफ्ना जिल्लाका प्रतिनिधिहरुलाई व्यवस्थापन गर्ने जिम्मा दिएको बताए ।

प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा) का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक जना प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको कांग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ । १७५ मतदातामध्ये सुदूरपश्चिममा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर