सहकर्मीलाई लागुऔषधमा फसाउन खोज्ने पत्रकार सहनी जेलमा, राख्नेहरू धरौटीमा छुटे – Nepal Press

सहकर्मीलाई लागुऔषधमा फसाउन खोज्ने पत्रकार सहनी जेलमा, राख्नेहरू धरौटीमा छुटे

काठमाडौं । लागुऔषध राखेर सहकर्मीलाई फसाउन खोजेको आरोप लागेका पत्रकार महासंघ, रौतहट शाखाका तत्कालीन सहसचिव सञ्जय सहनीलाई जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको छ ।

घटनापछि फरार रहेका सहनी केही समयअघि अदालतमा आफैं उपस्थित भएका थिए । लागुऔषध र आपराधिक षड्यन्त्रको अभियोगमा उनी पुर्पक्षका लागि कारागार चलानको आदेशपछि हाल जेलमा छन् । रौतहट प्रहरी प्रमुख विनोद घिमिरेले सहनी आफैं अदालतमा उपस्थित भएको र हाल कारागारमा रहेको बताए ।

त्यसअघि पक्राउ परेका चारजनासँग अदालतले १०/१० लाख रुपैयाँ धरौटी मागेको थियो । पत्रकार सहनीको योजना तथा प्रहरी जवान उदयप्रसाद यादब र असई मनोज शाहको उपस्थितिमा धिरज यादव र जितेशकुमार यादवले पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागु औषध राखेर उनलाई फसाउन खोजेको आरोप लागेको थियो ।

प्रहरीले सुरूमा लागुऔषधसहित पत्रकार मोजिबुल्लाह पक्राउ भनेर बाहिर ल्याए पनि सीसीटीभी फुटेजका आधारमा प्रहरीद्वय उदय र मनोजको उपस्थितिमा धिरज र जितेशले मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेको पाइएको थियो ।

मोजिबुल्लाह रौतहट एक्सप्रेसका संचालक हुन् । सहनीले प्रहरीलाई समेत प्रयोग गरेर निर्दोषलाई फसाउन खोजेको आरोप लागेको थियो । यही विवादमा मुछिएका तत्कालीन रौतहट प्रहरी प्रमुख सिद्धीविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो । सहनीले एसपी शाहसँगको मोबाइल कुराकानीको अडिओ‌ सार्वजनिक गरेका थिए। शाहले आफ्नो कुनै गलत नियत नरहेको प्रष्टोक्ति दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *