जनतालाई राहत दिनुको साटो गठबन्धन सरकार एमालेविरुद्ध लाग्यो : बोहरा – Nepal Press

जनतालाई राहत दिनुको साटो गठबन्धन सरकार एमालेविरुद्ध लाग्यो : बोहरा

काठमाडौं । नेकपा एमालेले राष्ट्र र जनताको सरोकारका सवालमा सरकार अनुत्तरदायी रहेको टिप्पणी गरेको छ ।

केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृत बोहराले विज्ञप्तिमार्फत महँगी, कोरोना नियन्त्रण, जनतालाई राहत दिनुको साटो गठबन्धन सरकार एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित भएको बताएका छन् ।

‘हामी राजनीतिक तथा वैचारिक रूपमा अझ सजग तथा सक्रिय बन्नु जरूरी छ । विरोधीहरूले फैलाएको भ्रमहरूलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्दछ । स्थानीय कमिटी हाम्रो पार्टीको जग हो’, बोहराले भनेका छन्, ‘त्यसैले यसलाई एकताबद्ध, गतिशील र सुदृढ बनाउन हामी सक्रियतापूर्वक लाग्नुपर्दछ । स्थानीय पार्टीले जनसरोकारका विषयमा बढी सोच्नुपर्दछ । पार्टीलाई सबैखाले अवसरवाद र अराजक प्रवृतिबाट मुक्त गर्दै खदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्नुपर्दछ ।’

कोरोना संक्रमणको बढ्दो जोखिमका कारण तत्काल परिषद्लाई पूर्णता दिन नसकिएको उनले बताएका छन् ।

बोहराले महामारी फैलिरहेको यो अवस्थामा जमघट, भेला वा बैठकहरू गर्न असम्भव रहेको बताएका छन् । सल्लाहकार परिषदको बैठक बसी सपथग्रहण गर्ने र तत्सम्बन्धी अरू कामहरू पनि प्रभावित भएको भन्दै परिस्थिति हेरेर छरितो शैलीमा बैठक आयोजना गरी थाती रहेका काम गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर