हरि खड्काविरुद्ध अख्तियारको मुद्दा, आईएको नक्कली प्रमाणपत्र देखाएर प्रहरीमा जागिर खाएको दाबी – Nepal Press

हरि खड्काविरुद्ध अख्तियारको मुद्दा, आईएको नक्कली प्रमाणपत्र देखाएर प्रहरीमा जागिर खाएको दाबी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । खड्काले आईएको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको हो ।

खड्का महानगरीय प्रहरी गण नं. २ मा दरबन्दी भइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायब निरिक्षकका रुपमा कार्यरत थिए । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिका अनुसार खड्काले प्रहरीमा पेस गरेको आईएको प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेको थियो । खड्काले प्रहरीबाट राजीनामा दिइसकेका छन् ।

यस सम्बन्धमा अख्तियारले अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद् वाराणशी, उत्तर प्रदेशबाट जारी भएको आईएको झूटो प्रमाणपत्र पेश गरी त्यसकै आधारमा २०५५ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षकमा नियुक्त भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

खड्का २०५९ माघ १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए । भ्रष्टाचार निवारण ऐन २०१७ को दवाफ १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को उपदफ १ अनुसारको कसुर गरेका प्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लवबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म उनले पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए । प्रमाणपत्रको विवाद आएपछि उनले पुलिसबाट राजीनामा दिएका हुन् ।
खड्का गत वर्ष राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य नियुक्त भएका थिए । उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षकसमेत हुन् । नेपालमा २०७६ सालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद साग पछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *