धुर्मुसले भावुक बन्दै भने : अपराधी ठहरिए जेसुकै सजाय भोग्न तयार छु
अपूरो प्रतिवेदन सार्वजनिक गरेको भन्दै महानगरप्रति असन्तुष्टि
काठमाडौं । चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयलाई लिएर भइरहेका टिक्काटिप्पर्णप्रति कलाकार तथा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले चित्त दुखाएका छन् ।
रंगशालको सम्पूर्ण प्रतिवेदन आइसकेपछि कुनै खोट देखिए जुनसुकै सजाय भोग्न तयार रहेको उनले बताए ।
भरतपुर महानगरपालिकाको आयोजनामा आज आयोजित रंगशाला सम्वन्धी एक अन्तरक्रिया कार्यक्रममा धुर्मुस भावुक र आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।
पूर्णता पाइनसकेको प्रारम्भिक प्रतिवेदन महानगरपालिकाले मिडियामा सार्वजनिक गरेको विषयमा पनि उनले असन्तुष्टि जनाए । वास्तविकता राम्ररी नबुझीकन नचाहिँदो आक्षेप नलगाइदिन उनले सबैलाई आग्रह गरे ।
महानगरकी मेयर रेणु दाहालको समेत उपस्थितिमा भएको कार्यक्रममा धुर्मुसको मन्तव्यको सार यस्तो थियो :-
म क्रिकेटसमेत नबुझ्ने मान्छे । नेपालले एकदिवसीय मान्यता पाएपछि चौतर्फीरुपमा अन्तर्राष्ट्रिय रंगशालाको माग भयो ।
राज्यको तर्फबाट पनि आवश्यकता महसुस भएको तथा शुभचिन्तकबाट पनि सहयोगी बन्न आग्रह भएपछि हामी संयोजनकारी भूमिका खेल्त तत्पर भएका थियौं ।
राज्यले जग्गा उपलब्ध गराउँछ र स्रोत व्यवस्थापनको ग्यारेन्टी हुन सक्छ भने निर्माण संयोजनको जिम्मा हामी लिन्छौं भनेका थियौं । अहिले जेजस्ता प्रश्नहरु उठिरहेका छन्, हामी सबैको एक–एक जवाफ दिनेछौं ।
रंगशाला घोषणा कार्यक्रममा मैले बोलेको थिएँ– पापको बोझ बोकेर धरती छोड्न चाहन्न । अहिले पनि म त्यसमा अडिग छु । हामीले रंगशालालाई अघि बढाउन धेरै प्रयास गरेका हौं ।
संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहहरुसम्म गुहार्न पुग्यौं । यसअघिको सरकार र अहिलेको सरकारसँग पनि सहयोग माग्यौं । हामी निरन्तर लागिरह्यौं । तर, परिस्थिति सहज भएन ।
स्ट्रक्चरको काम सुरु भएपछि नै कोभिड सुरु भयो । डर–त्राशको अवस्थामा पनि रंगशाला समयमै बनाउनुपर्छ भनेर स्ट्रक्चर उठायौं । हामी आफैं कोरोना संक्रमति भयौं । कोरोना भयो भनेर त्यसबेला सार्वजनिक गरेको भए त्यो एरिया नै सिल हुन्थ्यो । तर, आफूले रोग सहेर कामलाई निरन्तरता दियौं ।
अन्त्यमा डण्डीमा खिया लाग्न थालिसक्यो भनेर निकासका लागि राज्यसँगै समन्वय गर्ने भनेर पत्र बुझाइएको हो । पत्र बुझाएकै भोलीपल्ट मेरो घरमा हजुरआमाको निधन भयो । १३ दिन म काममा भएँ ।
२०७८ साल असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन र त्योभन्दा अघिको अनुमानित खर्च विवरण महानगरलाई बुझाएका थियौं । भौतिक संरचनाको प्रतिवेदन बुझाएका थियौं । त्यसको प्रक्रिया भरतपुरले अगाडि बढाइरहेको छ ।
हजुरआमाको काम सकिएपछि फेरि म कोरोना संक्रमित भएँ । पूर्ण विवरण आइसकेपछि सबै विषयहरु थाहा भइहाल्छ भन्ने थियो । हामी एउटा प्रक्रियामा भएका बेला अन्धाधुन्दरुपमा यति खर्च, यति खर्च भनेर हिसाब निकाल्नु मुर्खता हुन्छ ।
बीचमा प्रारम्भिक प्रतिवेदन भनेर, जुन पुष्टि नै हुन बाँकी छ, त्यो सार्वजनिक भयो । मेरो आपत्ति त्यसमै छ । त्यो प्रतिवदेन प्रारम्भिक हो । छुटेका डकुमेन्ट पुरा गर्छौंं भनेका छौं । अनि बल्ल वास्तविकता के हो भन्ने देखिन्छ । पूरा प्रतिवेदन आइसकेपछि कुनै अनियमितता पुष्टी भयो भने म आफैं सजाय भोग्न तयार छु । कुनै पनि त्रुटी–कमजोरी भेटिए जेल जान तयार छु ।
यही जिल्लामा रंगशाला बन्दैछ, अनि यही जिल्लाबाट उजुरी दिन पुग्ने काम भएको छ । अहिले पनि कोभिड संक्रमणकै अवधिमा काठमाडौंबाट आएर समन्वय गरिरहेको छु ।
हामीलाई नै वास्तविकता बाहिर ल्याउन हतार भइसकेको छ । मेरो माग के छ भने यी दुई प्रतिवेदनहरु पूर्ण होउन् । कसैलाई कन्फ्यूजन छ भने म यहीँ छु, हिसाब जो कोहीले पनि हेर्न सक्छ । हामी मौन बस्यौं भन्दैमा नचाहिने आक्षेप नलगाइदिनुस ।
पहिले गरिएका कमिटमेन्टका कुराहरु आए । हामीले अनुमानितरुपमा प्रतिवद्धता गरेका थियौं होला । त्यो आधिकारिक थिएन । केही तलमाथि होला । काडमाडौंमा बसेर चितवनमा रंगशाला बनाउनुपर्छ भनेर हिँडेको होइन । २४ सै घन्टा खटिएको हो । काम ढिलो होला भनेर आफैं लागिपरेको हो ।
आज म मात्रै सिकार भइरहेको छु । गलत रहेछु भने जेसुकै सजाय दिए पनि हुन्छ । अपराध गरिएको ठहर गरिन्छ भने भोग्न तयार छु । वास्तविक कुरा बुझेर मात्रै कमेन्ट गर्नुहोला ।