कालापानी-लिपुलेकमा ‘साक्षी’ मार्फत जनगणना ! जनसंख्या ६ सयको हाराहारी – Nepal Press

कालापानी-लिपुलेकमा ‘साक्षी’ मार्फत जनगणना ! जनसंख्या ६ सयको हाराहारी

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनासम्वन्धी प्रारम्भिक प्रतिवेदनअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । विभागका अनुसार नेपालको नक्सामा दुई वर्षअघि समावेश गरिएका कालापानी-लिम्पुलेक-लिम्पियाधुरा क्षेत्रको समेत जनसंख्या समावेश गरेर यो तथ्यांक निकालिएको हो ।

भारतद्वारा अतिक्रमित सो क्षेत्र नेपालको दार्चुलास्थित ब्यास गाउँपालिकामा पर्छ । ती विवादित क्षेत्रका बासिन्दा अझै पनि भारतको सुरक्षा घेरामा छन्, जहाँ न नेपालको सुरक्षा निकाय पुगेको छ न नेपालीलाई प्रवेश गर्न दिइन्छ । विवादित क्षेत्रमा नापी, गुन्जी र कुटी गरी ३ वटा बस्ती छन् । यी बस्तीहरूको पनि यसपाली गणना गरेर नेपालको जनसंख्यामा समावेश गरेको विभागको दाबी छ ।

यसअघिका धेरैवटा जनगणनामा यी क्षेत्र समेटिएका थिएनन् । सन् २०१८ सालयता त्यहाँ नेपालका तर्फबाट जनगणना हुन सकेको छैन । हाल नेपालको नक्सामा समावेश भए पनि उक्त भूभाग अझै पनि भारतकै नियन्त्रणमा छ । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको जनगणनामा पनि विभागका गणकहरू कालापानी-लिपुलेक पुग्न सकेका थिएनन् । न त त्यस क्षेत्रमा स्याटेलाइटबाट नै जनगणना गरिएको थियो । त्यसो भए के आधारमा उक्त क्षेत्रको जनसंख्यालाई जनगणनामा समावेश गरियो त ?

तथ्यांक विभागले भने ‘साक्षी’ मार्फत लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रका तीनवटा बस्तीको गणना भएको बताएको छ । विभागका अनुसार यो पनि जनगणनाका विभिन्न विधिमध्येकै एक हो ।

जनगणना गर्ने विधिमा एउटा प्रत्यक्ष व्यक्तिगत अन्तर्वार्ता हुन्छ । यसमा उत्तरदाता र प्रश्नकर्ता एकठाउँमा भेट भएर विभागले तयार पारेको प्रश्नावलीहरू सोध्ने र फाराममा भर्ने गरिन्छ । यो पहिलो प्राथमिकता हो ।

अर्को विधि, गणना गर्न जाँदा कुनै परिवारको कोही सदस्य भेटिएन वा गणक घरसम्म पुग्ने अवस्था भएन भने त्यस्तो अवस्थामा घरमुलीको विषयमा जानकारी राख्ने छिमेकी, नातेदार वा अरु कसैसँग सोधिन्छ । त्यस्तो व्यक्तिलाई साक्षी भनिन्छ । साक्षीहरूमार्फत तथ्यांक संकलन गरेर जनगणनाको प्रक्रिया पूरा गर्न सकिन्छ । कालापानी लिपुलेकमा पनि साक्षीमार्फत गणना भएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले नेपाल प्रेसलाई बताए ।

‘कुनै घरमा जाँदा कोही पनि भेटिएन । अब के गर्ने ? अथवा म तपाईंको घरसम्म पुग्नै सकिन । पुग्न नसकेपछि भर्दै नभर्ने एउटा विधि हो । त्यसो गरे त तथ्यांक नै आउँदैन,’ उनले भने, ‘यस्तो बेला हामी सम्वन्धित व्यक्तिको विषयमा जानकारी राख्ने छिमेकी र नातेदारको सहयोग लिन्छौं । अथवा अरु कोही हुन सक्छ, जसलाई साक्षी भन्छ । त्यस्ता साक्षीहरू मार्फत तथ्यांक संकलन गर्ने प्रविधिको प्रयोग हामीले लिपुलेक-कालापानीमा गरेका हौं ।’

तथ्यांक विभागले भने ‘साक्षी’ मार्फत लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रका तीनवटा बस्तीको गणना भएको बताएको छ । विभागका अनुसार यो पनि जनगणनाका विभिन्न विधिमध्येकै एक हो ।

विभागले त्यस क्षेत्रमा गणकहरूलाई अन्तर्वार्ता लिन पठाउने कोशिस गरेको थियो । तर, गणक टोली छाङरुङ, तिंकरसम्म पठाउन सके पनि कालापानी लिपुलेक पठाउन नसकेको उनी स्वीकार्छन् ।

उपमहानिर्देशक रेग्मी भन्छन्, ‘हाम्रो मान्छे महाकालीवारी पठायौं । उहाँहरूले उताको मान्छेसँग सम्पर्क गरेर फाराम भरेर ल्याउनुभयो ।’ प्रत्येक व्यक्तिलाई सोधेर विवरण संकलन नगरिएको उनको स्विकारोक्ति छ ।

रेग्मीले भने, ‘हरेक व्यक्तिलाई सोधेर आएको विवरण होइन । छाङरुङ तिंकर ओहोरदोहोर गर्ने नातेदारहरूलाई सोध्यौं । उहाँहरूको नापी, गुन्जी, कुटीका बासिन्दाहरूसँग विहेवारीको सम्बन्ध पनि रहेछ । उहाँहरूमार्फत हामीले गणना गरेका हौ ।’

उनका अनुसार घरमुली नभेटिएको अवस्थामा परिवारको कुनै एकजना सदस्यलाई प्रश्न सोधेर पनि गणना गर्न सकिन्छ । त्यो पनि नभेटिए छिमेकीलाई सोध्न सकिन्छ । सबै विवरण नआए त्यही घरमा दोहोर्‍याइ-तेहेर्‍याइ गणक जानुपर्छ । त्यो पनि सकेन भने छिमेकीबाट वा फोनबाट भए पनि पत्ता लगाएर सोध्नुपर्छ ।

साक्षीमार्फत गणना गर्दा घरमुलीको जस्तो जानकारी नआउन सक्ने उपमहानिर्देशक बताउँछन् ।

उनले भने, ‘साक्षीमार्फत सोधिएका प्रश्नहरूमा १०० प्रतिशत उत्तर नआउन सक्छ । अनौपचारिक विधिबाट त्यसलाई मिलाउनुपर्छ ।’

त्यस क्षेत्रमा योभन्दा अघिल्लो जनगणना भारतले गरेको थियो । त्यतिबेला त्यहाँको जनसंख्या ९ सयको हाराहारीमा रहेको भारतीय विवरण छ । नेपालको जनगणनामा भने त्यहाँ ६ सयको हाराहारी जनसंख्या देखिएको विभागले जनाएको छ ।

अन्य ठाउँको जनसंख्या घटेजस्तै त्यहाँ पनि जनसंख्या घटेको हुन सक्ने उपमहानिर्देशक रेग्मी बताउँछन् ।

उनी भन्छन्, ‘हजारौं संख्यामा भारतीय आर्मी-पुलिस छन् रे । त्यो जोड्ने कुरा भएन । घरपरिवार साढे दुई सय छन् ।’

विभागले त्यस क्षेत्रमा रहेको बस्तीहरूको पूर्णविवरण ६ महिनाभित्र प्रकाशन गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर