स्यानी:  करुण रसमा माता-पुत्र प्रेमको उत्कृष्ट सिर्जना – Nepal Press
पुस्तक चर्चा

स्यानी:  करुण रसमा माता-पुत्र प्रेमको उत्कृष्ट सिर्जना

नेपालका एक शिक्षाकर्मी र प्रशासकका साथै सिद्धहस्त लेखक खगराज बरालबाट आफ्नी आमाको काजकिरिया कर्ममा विताएका १३ दिनको समयलाई ‘स्यानी’ उपन्यासका रूपमा प्रस्तुत गरिएको छ । यसलाई साङ्ग्रिला पुस्तक प्रालिले प्रकाशन गरी २०७७ चैतबाट बजारमा ल्याएको छ ।

निकै लामो प्रयासपछि १३ दिनमा १३ च्याप्टरकाे यो उपन्यास तयार भएको तथ्य लेखकले विभिन्न अन्तरक्रियामा स्वीकार्ने गर्नु भएको छ । उहाँले आफैँ पात्र भएर लेखेको यो उपन्यास वियोगान्त धारबाट अभिप्रेरित छ । आफ्ना सन्तानप्रति बाबुआमाबाट अतुलनीय माया ममता र मार्गदर्शन रहेको हुन्छ । यसैगरी सन्तानबाट पनि आफ्ना बाबुआमाप्रति अगाध ममता र श्रद्धा रहेको हुन्छ नै । लेखक खगराज बरालबाट यो सच्चाइलाई आफ्नो मौलिक सिर्जनाबाट पाठक समक्ष उद्घाटन गरिएको छ । चुन्नीको बोट चाहिँ उपन्यासको केन्द्रबिन्दुमा रहेको पाइन्छ ।

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति सुन्दैन त्यो… आखिर मान्छे एकदिन विलाउँछ । तर अमरत्व उसको सन्तती र कर्ममा जोगिएको हुन्छ । यस अर्थमा लेखकबाट आफ्नी आमालाई अमर बनाइएको छ । यहाँ यस उपन्यासका विविध पक्षको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

कथानक: पूर्वीय हिन्दू परम्पराको तेह्रदिने मृत्युसंस्कार र गरुड पुराण वाचनको परिवेशमा कथानक बगेको छ । एउटा उत्सुक र जिज्ञासु बालकको आफ्नी आमासँगको अन्तरङ्ग सम्बन्ध र सिकाइलाई वस्तुगत रूपमा कथानकमा बुनिएको छ । यसका साथै नेपाली ग्रामीण परिवेशमा हुर्किने बालापनलाई ‌विद्यालय शिक्षा, स्वास्थ्य र यातायातको सुविधासँगै भित्रिदै गरेको आधुनिकताको सेरोफेरोमा साथसाथै अघि बढाइएको छ ।

पात्रहरू: उपन्यासमा कास्कीको पुम्दी र आसपासका वास्तविक र काल्पनिक पात्रहरू रहेका छन् । त्यही भएर लेखकबाट गोपनीयताप्रति आँच नआउने गरी वास्तविक पात्रका नाम नै प्रयोग भएको स्वीकारिएको छ । लेखकका पितामाता, दाजुभाइ, छरछिमेक आफन्त र प्रसंगवस कथानकमा आउने अन्यपात्रहरू रहेका छन् । तसर्थ पात्र, परिवेश र कथानकका आधारमा यो कृति उपन्यासभन्दा बढी लेखकको आत्मकथा जस्तो लाग्दछ ।

प्रकृति वर्णन: यस उपन्यासमा चिन्नेको बुटो केन्द्रीय स्थानका रूपमा रहेको छ । सायद लेखककलाई आफ्नी आमाको देहावसान घर नजिकको यही स्थानमा भएको विस्वास छ र बाल्यकालका धेरै सन्दर्भ यससँग जोडिएका छन् । ‘बिहान उजेलो हुनी बेलाँ तीन तारा दक्खिनतिर देखिन्चन्,’ आमा भन्ने गर्थिन् सधैँ । म स्कुल पढ्दा तीन तारा हेरेर उठ्थेँ । हिजो पनि तीन तारा त्यही आकाशमा थिए, हाम्री आमा पनि हामीसँगै थिइन् । आमा बोल्थिन्, हाँस्थिन् । अहिले आमा बोल्दिनन्, हाँस्तिनन्, केही हलचल नै गर्दिनन् तर तारा जहाँको तहीँ छन् ।’ प्रकृतिसँग निकै मर्मस्पर्शी सानिध्य जोडिएको छ यसरी ।

भाषाशैली:  यस कृतिमा काव्यमय भाषा र सहज प्रस्तुतिशैली प्रयोग भएको छ । ‘छोरो मुन्चे भर कस्तो रोइहाल्च यो त । भोलि कुनै दिन म पनि मर्चु … त्यो भैँसी जस्तै सास फेर्दिन । आँखाका परेला चल्दैनन् । … मलाई पहेँला कपडाले बेरेर हरिया बाँसमा बाँधेर गण्डकीमा लैजानु पर्च तिमोर्ले काँधमा बोकेर । मलाई दागबत्ती दिएर जलाम्नुपर्च ।’ निकै सहज भाषा शैलीमा आमाले एकैपटक भैसी मर्दाको पिडा र भविश्यमा घट्ने मृत्यु घटनाप्रति आफ्ना सन्तानलाई अभ्यस्त बनाएको मिठो संयोजन रहेको छ । यसका साथै बालसुलभ जिज्ञासा, डर र समझदारीको उजागर जताततै रहेको छ । आफूलाई ‘कान्छो’ भन्ने गरिएको भए पनि माहिलो भएको सन्दर्भमा हरिश्चन्द्र कथाको एक ब्राह्मण पात्र शुनःशेपलाई सम्झिनुहुन्छ लेखक। म पनि माइलो भएकाले यो कथा सम्झन्थेँ । म उहाँलाई व्यासशैलीका लेखकका रूपमा बुझ्ने गर्दथेँ । तर यसपटक मलाई त्यस्तो लागेन ।

आञ्चलिकता र स्थानीय शब्दहरू: यस उपन्यासको अर्को महत्वपूर्ण पक्ष आञ्चलिकताको प्रयोग रहेको छ । कथानकमा धेरै यस्ता शब्दहरू छन् जुन अन्यत्रका नेपालीभाषी समुदायलाई बुझ्न कठिन पर्छ । म सङ्खुवासभाको मान्छे मलाई थर्कटी, टुवो, बेडुलाका पात, ब्याम्ती, ढुम्री, दाइँमाडो, कसला, खोतिया, थुर्मी, बान्ना, चिन्नेको बोट, टौवा, दर्कुना, जस्ता शब्दहरू बुझ्न कठिक लागे । मुन्चे, रच, रुन्च, बड (बाट) , खाबाँआँ, घर्सने, हलीपरेली, भगमान्, उम्रो, नाङ्लाँ जस्ता शब्दहरू आञ्चलिकताका प्रतिविम्ब रहेका छन् । मुस्ताङमा इष्ट बनाउने र बटौलीबाट नुन ल्याउने कथा र हाम्रो पूर्वतिर धरानबाट बुबा हजुरबाहरूले ढाकरमा नुन बोकेको कथा नेपाली परिवेशको तत्कालीन सामाजिक यथार्थ उस्तै लाग्दछन् ।

सामाजिक विश्वास: गाउँमा धागोले बाँधेको चिठी त मरेको मान्छेको हुन्च भन्थे । बालक बचाउन जोगिनीलाई दिएको, दमिनीलाई दिएको, सुनारलाई दिएको, मुन्द्रो लगाएर खुनी बनाइको, बिरालोले बाटो काटेको, कात्तिकमा लामकिरो भन्नुपर्ने, ब्रात बस्ने, रोटी वा नयाँ पक्वान्न, अन्न, फल विधिपूर्वक चढाउनुपर्ने जस्ता सामाजिक विश्वास उल्लेख गरिएको छ । अन्यत्र पनि सुन्ने गरिएको साँझमा ढुङ्गा हानेको सन्त्रास र नागपूजापछि विसाएको घटना र सह ल्याउने गोलसिमल, कर्याङ्कुरङ र काँक्राफर्सी रोप्ने चलन हाम्रो जनविश्वासका कडी नै हुन् । गौरीपुरान अर्थात् गरुड पुराणका कथालाई युगानुकुल कालक्रमिक बनाएर बुझ्नुपर्ने लेखकको सन्देश उपयुक्त लाग्दछ ।

लेखकीय: मान्छे मृत्युदण्ड सुनाएको कैदी हो । मलाई यो वाक्य यस पुस्तकको मुख्य जीवनदर्शन हो भन्ने लाग्दछ । लेखकबाट आफ्नी आमालाई प्रेरणाकी स्रोत मान्दै ‘समाख्याता मात्र होइन म, पात्र हुँ यसभित्रको ।’ भनेर यथार्थपरक अर्थात् सत्य घटनामा आधारित कथानक भएको तथ्य उजागर गरिएको छ । यसअर्थमा यो कृति लेखकको बाल्यकाल र आमाको मृत्युपर्यन्तको आत्मकथा जस्तै हो भन्न पनि सकिन्छ ।

सुधारका पक्षहरू: गाउँमा धागोले बाँधेको चिठी त मरेको मान्छेको हुन्च भन्थे । (पृ.२५) यसमा अन्यत्र मुन्चे प्रयोग हुने गरेको र यही वाक्यमा पनि हुन्च भन्ने शब्द रहेको छ, तर मान्छे भनेर मानक शब्द पनि प्रयोग भएको छ । पृष्ठ १०५ मा ’… बेलुकी बालहरू तीनै जना… भन्ने‘ छ सायद यो बाहरू हुनुपर्छ । पृष्ठ ७५ मा ‘… यस संसारमा कामै हुदैनथे’ मा ‘गलत कामै हुदैनथे ‘ हुनुपर्ने जस्तो लाग्छ ।

म लेखक भए यस कृतिको शीर्षक आमाको माया, चिन्नेको बुटो, आमाको अवसान, मेरी आमा,  वा यस्तै केही राख्थेँ कि भन्ने लाग्छ । तर पनि ‘स्यानी’ राखेर सेतीखोला बाँटारीका गौतमकी भाञ्जी र बाआमाले तीन वर्षमै मावलमा छोडेर त्यही हुर्किएकी सबैकी प्यारी लीलावतीको बालापनलाई लेखककले सजीवता प्रदान गरेकोमा खुशी लागेको छ । यति हुँदाहुदै पनि समर्पण ‘मेरी आमालाई’ गरेको भए र त्यति सघर्षशील र मायालु आमाको वास्तविक मुखाकृति पनि समेटिएको भए श्रध्दापूर्वक नमन गर्न म चुक्ने थिइन भन्ने लाग्दछ ।

यस कृतिले पाठकलाई धेरैपटक रुवाउँछ र आफ्नो बालापनमा जबर्जस्त हुर्याउँछ । गाउँमा जन्मिएर त्यही हुर्किएका पाठकलाई गाउँमै पुर्याउँछ र सहरमा हुर्किएकालाई गाउँबाट आएकाको विगत बोध गराउँछ । हामीले आफ्नो विगत, प्रथा र परम्परासँगै सन्ततीको कर्तव्य तथा सामाजिक एवम् पारिवारिक मूल्य, मान्यतालाई जगेर्ना गर्ने र समयसान्दर्भिक बनाउनु पर्ने दायित्वलाई पनि यस उपन्यासले सम्झाएको छ । अत: यो ‘स्यानी’ सामाजिक यथार्थवादी उपन्यास मनछुने सन्देशमूलक र पठनीय दुवै रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *